Comments Add Comment

अधिकारले ल्याउँछ महिलामा डिप्रेसन

office_stress_-women
कार्यस्थलमा बढि अधिकार पाएका महिलाहरुमा डिप्रेसनको खतरा बढि हुने एक अनुसन्धानले देखाएको छ ।

अमेरिकी शोधकर्ताहरुले गरेको अनुसन्धानले अधिकारसम्पन्न महिलाहरु डिप्रेसनको सिकार हुने खतरा पुरुषहरुको तुलनामा बढि हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार पुरुषहरुमा भने अधिकारको दायरा बढ्दा डिप्रेसनको जोखिम कम हुँदै जान्छ ।

जर्नल अफ हेल्थ एण्ड सोसल बिहेवियरमा छापिएको शोध अनुसार महिला हाकिमहरु तनाव, नकारात्मक सामाजिक व्यवहार, रुढीवाद, पूर्वाग्रह तथा एक्लोपनाको सिकार बन्ने गर्छन् । साथै सहकर्मीबाट सहयोग समेत कम पाउने र आफुभन्दा वरिष्ठहरुको प्रतिरोधको समेत सामना गर्नुपर्दा अधिकार बढ्दै जाँदा जागिरे महिलामा तनावको स्तर समेत बढ्दैजान्छ ।

टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विस्कन्सिन हाइस्कुलका १३ सय पुरुष र १५ सय महिला पूर्व विद्यार्थीहरुमा यस्तो अध्ययन गरेका हुन् । उक्त हाइस्कुलबाट स्नातक उत्तीर्ण गरेका उनीहरुलाई सन् १९९३ र २००४ मा गरी दुइपटक टेलिफोन गरी प्रश्न सोधिएको थियो, जब उनीहरुको उमेर क्रमशः ५४ र ६४ वर्षको थियो ।

शोधकर्ताहरुले उनीहरुलाई जागिरमा उनीहरुले पाएको अधिकार तथा डिप्रेसनका लक्षणहरु अनुभव भएको क्षणको बारेमा सोधेका थिए ।
यसक्रममा जो महिलाहरु आफ्नो कार्यस्थलमा बढि अधिकारको प्रयोग गर्ने हैसियतमा हुन्छन्, अर्थात् उनीहरुमा अन्य कर्मचारीलाई जागिरमा राख्ने, निकाल्ने तथा तलबभत्ता घटबढ गर्ने अधिकार हुन्छ, उनीहरुमा यस्तो अधिकार नहुने निम्नतहका महिला कर्मचारीमा भन्दा डिप्रेसनको लक्षण ९ प्रतिशत बढि पाइएको छ ।

यसको विपरित जागिरमा बढि अधिकार पाएका पुरुषहरु भने डिप्रेसनको कम जोखिममा रहेको पाइयो । अधिकार नहुने पुरुष जागिरे भन्दा अधिकार पाएका पुरुष जागिरेमा डिप्रेसनको लक्षण १० प्रतिशत कम पाइएको छ ।

शोधकर्ताहरुका अनुसार कार्यालयमा कतिबेला काम सुरु गर्ने र कतिबेला बन्द गर्ने भन्ने कुराको निर्णय गर्ने क्षमता महिलामा भन्दा पुरुषमा बढि हुन्छ । साथै महिला कर्मचारीमाथि हाकिमको निगरानी समेत बढि हुने शोधकर्ताको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment