Comments Add Comment

सार्क राष्ट्रका नेता : विश्वकै वुद्धिजीवीदेखि शक्तिशाली महिलासम्म

८ मंसिर, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा दक्षिण एशियाका आठ  राष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरु जमघट हुँदैछन् । सार्क राष्ट्रका प्रमुखहरुको व्यक्तिगत विवरण हेर्दा संसारकै दोस्रो वुद्धिजीवी र शक्तिशाली महिलासम्म छन् । SAARC LEADERS
त्यसो त दुईवटा मोबाइलमात्रै व्यक्तिगत सम्पत्ति रहेका गरीब एवं सादगी प्रधानमन्त्रीदेखि देशकै धनाढ्य व्यक्तिसमेत सार्क राष्ट्रका नेता बनेका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानी बुद्धिजीवीमा विश्वकै दोस्रा व्यक्ति हुन् भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना विश्वकी शक्तिशाली महिलाहरुमा ४७ औं स्थानमा पर्छिन् ।

नेपालका प्रधानमन्त्री सुशील कोइराला सार्क राष्ट्रका सरकार प्रमुखमध्ये सबैभन्दा गरीब प्रधानमन्त्री हुन् भने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ देशकै गनिएका धनाढ्य हुन् ।

सार्क राष्ट्रमा आफूलाई सबैको नेता ठान्ने नरेन्द्र मोदी संसारले चिनेका नेता हुन् । तर, सार्कको नेतृत्वमा मोदीभन्दा सम्पन्न, विद्वान र संसारले चिनेका शक्तिशाली एवं धनाढ्यहरु पनि छन् भन्ने कुरा यतिबेला छायाँमा परेको छ ।

असरफ घानी अहमदजाइ

Ashraf_Ghani_Ahmadzai_July_2014_(cropped)
गत सेप्टेम्बर २१ मा अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएका असरफ घानीको जन्म सन् १९४९ मा भएको हो । अर्थशास्त्री तथा मानवशास्त्रीसमेत रहेका घानीले काबुल विश्वविद्यालयको चान्सलरका साथै अफगानिस्तानको अर्थमन्त्रीको समेत अनुभव बटुलिसकेका छन् ।

सन् २००२ मा अफगानिस्तान फर्किनुअघि घानी विश्व बैंकमा काम गर्थे । तालिवानको पतनसँगै सन् २००२ मा गठित सरकारमा अर्थमन्त्री भएका उनले सन् २००४ सम्म देशको अर्थव्यवस्था सम्हाल्दा आर्थिक व्यवस्था सुधारको प्रयास गरेका थिए ।

सन् २०१३ मा भएको एक विश्वव्यापी मत सर्भेक्षणले उनलाई विश्वका १ सय बुद्धिजीबीको सूचिमा दोस्रो स्थानमा रहेको देखाएको थियो ।

सन् २००९ को राष्ट्रपतीय चुनाव हारेर चौथो स्थानमा रहेका घानी सन् २०१४ मा भने अब्दुल्ला अब्दुल्लालाई पराजित गर्दै देशको कार्यकारीको पदमा आसीन हुन पुगे । उनकी श्रीमती रुला सादेसँग लेवनान र अमेरिकाको दोहोरो नागरिकता छ । उनकी पत्नी क्रिस्चियन धर्मावलम्बी हुन् ।

राष्ट्रपति पदको पदभार ग्रहण गर्ने समारोहमा घानीले आफ्नी श्रीमती रुलालाई अफगानी नाम दिएका थिए, बीबी गुल ।

शेख हसिना

800px-Sheikh_Hasina_(1)_(cropped)बंगलादेशका संस्थापक तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरीसमेत रहेकी शेख हसिना सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्री पदमा आसीन छिन् ।
यसअघि सन् १९९६ देखि २००१ सम्म उनले बंगलादेशको प्रधानमन्त्रीको कार्यभार सम्हालेकी थिइन् ।

सन् १९८१ देखि लगातार बंगलादेश अवामी लिग पार्टीको नेतृत्वमा रहेकी हसिना सन् यो वर्ष भएको आम चुनावबाट तेस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

विश्वकी शक्तिशाली महिलाको सूचिमा ४७ औँ स्थानमा रहेकी शेख हसिनाको सन् २००४ मा हत्या प्रयाससमेत भएको थियो ।

आणविक वैज्ञानिक डाक्टर एम ए वाजेद मियासँग सन् १९६८ मा शेख हसिनाको विवाह भएको थियो । उनका श्रीमानको सन् २००९ मे ९ मा निधन भएको थियो ।

छिरिङ तोब्गे
Tshering Tobgayजुलाई ३०, २०१३ देखि भुटानको प्रधानमन्त्री रहेका छिरिङ तोब्गे भुटानको पहिलो दर्तावाल राजनीतिक दल पिपुल्स डेमोक्र्याटिक पार्टीका सहसंस्थापक पनि हुन् ।

मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका तोब्गेले अमेरिकाको हारवर्ड विश्विद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

राजनीतिमा आउनुअघि उनी सरकारी जागिरे थिए । उनले शिक्षा मन्त्रालयमा आफ्नो जागिर सुरु गरेका थिए ।

नरेन्द्र मोदी
NARERNDRA MODIभौगोलिक, आर्थिक तथा जनसांख्यिक हिसाबले सबैभन्दा ठूलो सार्क राष्ट्र भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा गुजरातको मेहसाना जिल्लास्थित बदनगरमा भएको हो ।

यो वर्षको मे मा भारतको पन्ध्रौँ प्रधानमन्त्रीका रुपमा कार्यभार ग्रहण गरेका मोदी सन् २००१ देखि २०१४ सम्मै गुजरातका मुख्यमन्त्री थिए ।

हिन्दु राष्ट्रवादका अनुयायी मोदी भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघका सदस्य पनि हुन् । प्रत्यक्ष विदेशी लगानीका लागि उपयुक्त आर्थिक नीति लिएर गुजरात राज्यको आर्थिक वृद्धिलाई उच्च बनाएका मोदीमाथि आर्थिक वृद्धि गराए पनि मानव विकाशमा उल्लेखनीय सकारात्मक प्रभाव पार्न नसकेको र गुजरातमा धनी र गरीबबीचको खाडल बढाएको आरोप लाग्ने गरेको छ ।

अब्दुल्ला यामीन अब्दुल गैयुम
BL03_P1_MALDIVES_1707049fनोभेम्बर १७, २०१३ देखि माल्दिभ्सको छैटौँ राष्ट्रपति बनेका गैयुम सन् १९९३ देखि लगातार माल्दिभ्सको व्यवस्थापिका ‘पिपुल्स मजलिस’का सदस्य रहँदै आएका छन् ।
माल्दिभ्सका पूर्वमहान्यायाधिवक्ता अब्दुल क्वायुम इब्राहिमका छोरा यामीनका ठूल्दाइ मौमून अब्दुल गैयुम सन् १९७८ देखि सन् २००८ सम्म माल्दिभ्सको राष्ट्रपति थिए ।
सार्वजनिक नीति विषयमा अमेरिकी विश्वविद्यालयबाट पोस्टग्राजुएट गरेका यामीन माल्दिभ्समा सामाजिक कार्यकर्ताको रुपमा समेत प्रसिद्ध छन् ।

सुशील कोइराला
sushil koiralaसार्क राष्ट्र प्रमुखमध्ये सबैभन्दा जेठा नेताच भइकन पनि  नेपालका प्रधानमन्त्री सुशील कोइराला सरकारी प्रशासनमा अनुभवहीन नेता मानिन्छन् । उनी लोकतान्त्रिक आन्दोलनमा पुराना नेता भए पनि शासन सञ्चालनमा नयाँ हुन् ।

औपचारिक शिक्षा धेरै नभए पनि प्रधानमन्त्री कोइराला अंग्रेजी भाषामा कमजोर छैनन् । सरल मिजासका कोइराला व्यक्तिगत सम्पत्ति नभएका नेता हुन् । सम्भवतः कोइराला सार्क राष्ट्रका सबैभन्दा कम व्यीक्तगत सम्पत्ति भएका सादगी नेता हुन् ।

प्रधानमन्त्री सुशील कोइरालाबाट दक्षिण एशियाले सिक्नुपर्ने भनेको उनको सादगीपन र स्वच्छ छवि नै हो ।

नवाज सरिफ
PrimeMinisterNawazSharifपाकिस्तानी प्रधानमन्त्री मियान मुहम्मद नवाज शरिफको जन्म २५ डिसेम्बर १९४९ मा पञ्जाबको लाहोरमा भएको हो । सन् २०१३ मा तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका शरिफ यसअघि सन् १९९० देखि १९९३ सम्म तथा १९९७ देखि १९९९ सम्म पनि पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तानका धनाढ्य व्यक्तिमध्ये एक शरिफ पाकिस्तानको चर्चित औद्योगिक समूह इत्तेफकका मालिक पनि हुन् । शरिफ पाकिस्तानका दोस्रो धनी नेता हुन् भने उनको परिवार पाकिस्तानको चौथो धनी परिवार हो ।

सन् २००५ मै पाकिस्तान डेलीले प्रकाशित गरेको समाचार अनुसार शरिफ परिवारको सम्पत्ति १ अर्ब ४० करोड डलर थियो । पञ्जाबको सिंह उपनामले चिनिने शरिफ दोस्रोपटक प्रधानमन्त्री भएका बेला सन् १९९९ मा सैनिक कु मार्फत गलहत्याइएर साउदी अरेबियामा निर्वासित भएका थिए ।
महिन्दा राजपाक्षे
Mahinda_Rajapaksaराजनीतिमा छिर्नुअघि वकिल रहेका पर्सी महेन्द्रा ‘महिन्दा’ राजपाक्षे दक्षिण एसियाका शक्तिशाली नेतामध्येमा पर्छन् ।

पहिलोपटक सन् १९७० मा सांसद बनेका राजपाक्षे सन् २००४ मा श्रीलंकाका प्रधानमन्त्री तथा सन् २००५ देखि श्रृलंकाको राष्ट्रपति रहेका छन् ।

राजनीतिक परिवारबाट आएका राजपाक्षेका पिता डीए राजपाक्षे श्रृलंकाका स्वतन्त्रता सेनानी तथा पूर्वमन्त्री समेत हुन् । श्रृलंकामा लामो समयदेखि हिंसात्मक आन्दोलन गरिरहेको तमिल टाइगर विद्रोही समूहलाई पराजित गर्दै तमिल विद्रोहको अन्त्य गराएका राजपाक्षेमाथि पश्चिमा जगतले मानवता विरोधी अपराध तथा युद्ध अपराधनका घटनामा दोषी रहेको आरोप लगाउँदै आएका छन् । राजपाक्षेमाथि प्रेस स्वतन्त्रता हननको समेत आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment