Comments Add Comment

सार्कलाई लक्षित गरी चितवनमा चेकपोष्ट

८ मंसिर, चितवन । सार्क शिखर सम्मेलनका लागि सुरक्षा प्रबन्ध मिलाउने सिलसिलामा चितवनमा दुईवटा सुरक्षा पोस्ट स्थापना गरिएको छ ।

चितवनको मुख्य नाका मानिने पूर्वतर्फ लोथरमा र राजधानी जाने नाका चितवनको मुग्लिनमा पोस्ट स्थापना गरिएका हुन् ।

जनपद प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली रहने गरी पोस्ट स्थापना गरेर जाँचमा कडाइ गरिएको चितवन प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । राजधानीमा विस्फोटक पदार्थ र साना हातहतियार भित्रिन सक्ने भन्दै परीक्षणका लागि विशेष विद्युतीय यन्त्रसहित प्रहरी परिचालन गरिएको थापाले बताए ।

प्रत्येक पोस्टमा कम्तीमा आठजना प्रहरी राखिएका छन् । राजधानीको सुरक्षालाई केन्दि्रत गर्दै चितवन मध्य क्षेत्र भएकाले सुरक्षामा कडाइ गरिएको प्रहरी प्रमुख थापाले बताए ।

चितवन प्रशासनले मुख्य राजमार्गसँगै सीमा क्षेत्रमा समेत कडाइ गरेको जनाएको छ । अहिले राजमार्गमा आवतजावत गर्ने सवारीमा समेत सुरक्षा कडा पारिएको छ भने निश्चित स्थानमा मात्रै सवारी रोक्न दिइने भएको छ ।

केन्द्रबाट सीमा र राजमार्गलाई विशेष निगरानीका लागि निर्देशन आएकाले सोहीअनुरुप सुरक्षा परिचालन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चितवनको एक टोलीले सीमा नाकाको स्थलगत अनुगमन गरेर सुरक्षा योजना बनाएको छ । मुख्य गरी सीमाबाट साना हतियार आउन सक्ने आशङ्कामा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

यस्तै, ठोरीको सीमा नाका तथा नवलपरासीबाट आउने पुल्चोक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दिन र रातमा समेत प्रहरीलाई गस्तीमा खटाइएको छ । सार्कमा आउने विदेशी पाहुनाहरु चितवनको पर्यटकीय नगरी सौराहामा पनि आउन सक्ने भएकाले सो क्षेत्रमा समेत सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । यो क्षेत्र विदेशमा पनि परिचित भएकाले जङ्गली जनावरको अवलोकन तथा विश्व सम्पदा सूचीमा रहेको चितवन निकुञ्जको भ्रमण हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।

यद्यपि अहिलेसम्म चितवनमा महत्वपूर्ण व्यक्तिहरु आउनेबारेमा अहिलेसम्म कुनै जानकारी नआएको चितवन प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment