Comments Add Comment

काठमाडौं आएकै दिन राजपाक्षेले लुम्विनी भ्रमण गर्ने

सलमान खान
८ मंसिर, लुम्बिनी । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेले काठमाडौं ओर्लेकै दिन लुम्विनीको भ्रमण गर्ने भएका छन् । मंगलबार बिहान साढे ९ बजे काठमाडौं आइपुग्ने राजपाक्षे सोही दिन लुम्विनी पुगेर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

Mahinda_Rajapaksaराजपाक्षेको भ्रमण अवधिभर मंगलबार लुम्विनी मन्दिर क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । लुम्विनी विकास कोषले श्रीलंकाका राष्ट्रपति राजपाक्षेले लुम्विनी भ्रमण गर्ने क्रममा सर्वसाधारण, श्रद्धालु, भक्तजन, पर्यटकलगायत सबैलाई मन्दिर प्रवेशमा रोक लगाइएको सोमबारको पत्रपत्रिकामा सूचना प्रकाशित गरिएका छन् ।

भारतसँगको सीमाना बन्द

राजपाक्षेले लुम्विनी भ्रमण गर्ने भएपछि मंगलबार रुपन्देहीका सीमानाका समेत बन्द हुने भएका छन् । सुरक्षाको दृष्टिकोणले मंगलबार बिहान पाँच बजेदेखि राति ९ बजेम्म रुपन्देहीका सम्पूर्ण सीमा नाकाहरु बन्द गरिने प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।

रुपन्देहीका सीमानाकाबाट भारत जान दिइने तर भारतबाट नेपाल आउन नदिने सुरक्षाअधिकारीकोे बैठकलेे निर्णय गरेको छ ।

यसअघि सीमा नाकाहरु दुई दिन बन्द गरिने भनिए पनि भारतीय प्रधानमन्त्री मोदीको लुम्विनी भ्रमण स्थगित भएपछि एक दिनका लागि मात्रै सीमा नाकाहरु बन्द गरिने भएको हो ।

राजापाक्षेको लुम्विनीमा करिब २ घण्टाको कार्यक्रम रहेको छ । नेपाल सरकारले सहयोगका लागि राजापाक्षेसँग परराष्ट्र मन्त्रालयका उप-सचिव घनश्याम भण्डारीलाई खटाएको छ । राजपाक्षेलाई उपसचिव भण्डारीले लुम्विनीमा ल्याउने छन् । हेलिकप्टर मार्फत लुम्विनीमा अवतरण गरेपछि उनलाई त्यहाँ स्वागत गरिनेछ । उनले मायादेवी मन्दिरमा करिब २० मिनेट पूजाआजा गर्नेछन् ।

नागरिक अभिनन्दन हुने

त्यसपछि राजापाक्षेले मन्दिरको विषेश पुस्तिकामा लुम्विनीबारे आफ्नो व्यक्तिगत धारणा लेखी हस्ताक्षर गर्ने कार्यक्रम रहेको लुम्विनी विकास कोषका कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए ।

त्यसपछि मन्दिरमा मायादेवी वृक्ष नजिकै करिब २० मिनेट उनको नागरिक अभिनन्दनको कार्यक्रम हुने छ । खेलकुद मन्त्री पुरुषोत्तम भण्डारीले लुम्विनी विकास कोषको तर्फबाट उनलाई मायाको चिनो प्रदान गर्ने बुझिएको छ ।

उनलाई बुद्धको मूर्ति, अशोक स्तम्भ र सिद्धार्थ गौतम जन्मिने क्रमका आकृतिहरुलाई विशेष रुपमा तयार पारिएको मुर्तिसहित ताम्र पत्रको मायाको चिनो दिने बुझिएको छ ।

सम्मानपछि राजपाक्षेले ४ नम्बर गेट हुँदै शान्तिदीप जाने बाटोमा पर्ने श्रीलंकन सरकारले निर्माण गरेको पुलको उदघाटन गर्ने कार्यक्रम छ । त्यसपछि लुम्विनीको पर्सा चोकमा रहेको लुम्विनी बौद्ध विश्वविद्यालय अवलोकन गर्ने र त्यहाँ करिब १० मिनेटको कार्यक्रममा सहभागी हुनेछन् ।

विश्वविद्यालयको कार्यक्रममा सहभागी भएपछि उनले श्रीलंकन बिहारको अवलोकन गर्ने छन् र अन्तमा लुम्विनीमा श्रीलंका सरकारले निर्माण गरेको पिलिग्रिम्स गेष्ट हाउसको समेत उदघाटन गर्नेछन् । सोही गेष्ट हाउसमा उनको खाना खाने व्यवस्था गरिएको कोषका कोषाध्यक्ष आर्यालले बताए ।

श्रीलंकाका राष्ट्रपति राजापाक्षेको उनको सुरक्षाका लागि मुलुकको चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । उनको सुरक्षाको लागि चारवटै सुरक्षा निकायका हजारौँ सुरक्षाकर्मीहरु परिचालन गरिने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment