Comments Add Comment

माओवादी विखण्डन : १० वर्षमा पाँच टुक्रा !

फाइल फाेटाे
फाइल फाेटाे

८ मंसिर, काठमाडौं । प्रचण्ड नेतृत्वको एमाओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको नेकपा- माओवादी तीन वर्ष नबित्दै फेरि फुटेको छ । सोमबार माओवादी सचिव नेत्रविक्रम चन्द विप्लवले ‘सम्बन्ध विच्छेद’को घोषणा गरेपछि माओवादी औपचारिकरुपमा फुटेको हो ।
जनयुद्ध छाडेर ०६३ सालमा शान्ति प्रक्रियामा आएपछि १० वर्ष नबित्दै माओवादी पार्टी पाँच टुक्रामा चोइटिएको छ ।
शान्ति प्रक्रियामा आइनपुग्दै मणि थापाले पार्टी छाडेर अर्को समूह बनाएका थिए । हाल मणि थापाले ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी’ बनाएका छन् । एमाओवादीले थापासँग मार्चा बनाएको छ । वैद्य माओवादीको ३३ दलीय मोर्चामा पनि थापाको समूह आवद्ध छ ।
मणि थापापछि मात्रिका यादवले एमाओवादीलाई फुटाए ।  मात्रिका यादवले नेकपा (माओवादी) गठन गरेका छन् । यादव समूहसँग एमाओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।
मात्रिका यादवपछि एमाओवादीमा सबैभन्दा ठूलो विभाजन आयो । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाका साथै ३० प्रतिशत भन्दा बढी केन्द्रीय नेताहरुले माओवादी पार्टी फुटाए ।
पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको एमाओवादी पार्टी यही विभाजनका कारण दोस्रो संविधानसभामा तेस्रो दलमा खुम्चियो ।
पछिल्लो समयमा माओवादीका विभिन्न घटकवीच पार्टी एकताको चर्चा भइरहेका बेला नेत्रविक्रम चन्दले मोहन वैद्यसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।
फुट्नेले पनि केही गरेनन्
Baidhya N  Biplabप्रचण्ड र बाबुराम नेतृत्वको पार्टी गैर क्रान्तिकारी भएको भन्दै मणि थापा र मात्रिका यादवहरु अलग भए पनि उनीहरुले कुनै क्रान्तिकारी नीति लिन सकेनन् ।
प्रचण्ड र बाबुरामले जनयुद्धको मर्मलाई छाडेको र गद्दारी गरेको भन्दै अलग भएका वैद्य र बादलले पनि पार्टीलाई तीन वर्षसम्म प्रचण्डको भन्दा फरक ढंगले हाँक्न सकेनन्, संविधानसभाको चुनाव बहिस्कार बाहेक ।
अहिले विप्लवले बैद्य र बादललाई यस्तै आरोप लगाउँदै क्रान्तिकारी ढंगबाट अघि बढ्ने दाबाका साथ संस्थापन पक्षसँग सम्बन्ध विच्छेद गरेका छन् । तर, विप्लवको हालत पनि मात्रिका यादव वा मोहन वैद्यको जस्तै हुन्छ या उनले केही गर्छन् भन्ने अहिल्यै भन्न सकिँदैन ।
आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्ने विप्लवले सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । तर, विप्लवमा उग्र वामपन्थी सोचाइ रहेको धेरैको विश्लेषण छ ।
एकता कहिले होला ?
माओवादी आन्दोलन बिखण्डको शिकार हुने क्रमसँगै अत्रब प्रचण्ड र मोहन वैद्यसमूहवीच पार्टी एकता हुने चर्चा पनि चलिरहेको छ । तर, यो क्रमसँगै एमाओवादीमा भट्टराई समूहले नयाँ शक्ति बनाउने अर्को चर्चा छ ।
माओवादीका विभिन्न समूहमा एकताको चर्चा चले पनि भ्यागुताको धार्नी कहिले पुग्छ, भन्ने निश्चित छैन । एकातिर एकताको चर्चा चलिरहेको छ, अर्कोतर्फ धमाधम फुट र विभाजन भइरहेको छ ।

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment