Comments Add Comment

ओली र नेपाल गुटका समानान्तर कमिटी गठन

८ मंसिर, काठमाण्डौ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको काठमाण्डौ जिल्लामा समानान्तर कमिटी बनेका छन् ।
पार्टी अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षले बेग्लाबेग्लै अधिवेशन गर्दै कमिटी घोषणा गरेका हुन् । सोमबार बसुन्धराको सीमा पार्टी प्यालेसमा ओली पक्षको अधिवेशन भयो भने दियालो पार्टी प्यालेसमा नेपाल पक्षको छुट्टै भेला सम्पन्न भयो ।
ओली पक्षको अधिवेशनमा युवा संघ नेपालका अध्यक्ष एवं उद्योगमन्त्री मधेस बस्नेत प्रमुख अतिथि थिए । नेपाल पक्षको भेलामा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र युवा संघ नेपालकी महासचिव दिलुकुमारी पन्त अतिथि थिए ।
ओली पक्षको भेलाले पेम्बा घलेको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । दियालो पार्टी प्यालेसमा भएको नेपाल पक्षको भेलाले नितेश पौडेलको अध्यक्षतामा अर्को कमिटी घोषणा गरेको छ । पौडेल माधव नेपालका स्वकीय सचिवसमेत हुन् ।
मंसिर ५ गते उदघाटन भएको अधिवेशनमा चुनावी प्रकृया सुरु हुँदै गर्दा विवाद भएको थियो । अधिवेशन पटक-पटक स्थगित भएपछि सोमबार चुनावको मिति तोकिएको थियो । सुरुमा सीमा पार्टी प्यालेसमा दुवै पक्षका प्रतिनिधि संयुक्तरुपमा भेला भएका थिए । तर, विवाद बढेपछि छुट्टा छुट्टै स्थानमा भेला आयोजना गरिएको थियो ।
चुनावी प्रकृया र प्रतिनिधिका सम्बन्धमा विवाद भएपछि झडपको स्थिति सिर्जना भएको स्रोतले बतायो । संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै नेपाल पक्षका प्रतिनिधि त्यहाँबाट बाहिरिएर दियालो पार्टी प्यालेसमा गई बेग्लै अधिवेशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment