Comments Add Comment

त्रिभुवन विमानस्थलमा कृष्णप्रसाद दम्पतीको कन्तबिजोग !

airport-3
फाइल फोटो

विनोद घिमिरे

९ मंसिर, काठमाडौं । रुकुमका कृष्णप्रसाद गौतमलाई आफ्नी पत्नीको औषधि गराउन काठमाडौं आउनुपर्ने भयो । चौरजहारी मिसन अस्पतालले काठमाडौंमा उपचारका लागि रिफर गरेकाले जतिसक्दो चाँडो पत्नी फलितालाई काठमाडौं ल्याउनुपर्ने थियो ।

गाडीबाट काठमाडौं आउन झण्डै दुई दिन लाग्ने भएकाले विमान प्रयोग गर्नुको विकल्प थिएन । तर, सार्क सम्मेलनको सुरक्षा प्रवन्ध मिलाउनका लागि अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प थियो ।

सुरुमा टिकट पाउन गाह्रो, टिकट पाइसकेपछि विमानस्थलमा भोग्नुपरेको हैरानीले कृष्णलाई पीडामाथि पीडा थपिदियो । ६ महिनाको बच्चा, झोला अनि अस्पतालमा बस्नुपर्दा प्रयोग गर्ने एक जोर ओड्ने ओछ्याउने र हिँड्न नसक्ने बिरामी पत्नीसँगै उनी  सोमबार बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिए ।

तर, काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ उनलाई सुरक्षाकर्मीले लखेटेझैं गरी हतार–हतार बाहिर पठाए ।

बाहिर आइसकेपछि पनि ट्याक्सीसम्म पुग्न र ट्याक्सीबाट चाबहिलस्थित मेडिकेयर अस्पतालसम्म पुग्न उनलाई महाभारतझैं भयो ।

‘निजी विमानमा सयर गर्ने भीभीआईपीहरुको सुरक्षा प्रवन्ध मिलाउने नाममा स्वदेशका गरिब निमुखाले खेप्नुपरेको दुःख सरकारले देखेन,’ गौतमले जननिर्वाचित सरकारप्रति गुनासो पोखे ।

सार्क सम्मेलनको सुरक्षा प्रवन्ध मिलाउने नाममा हैरानी खेपेका कृष्णप्रसाद गौतम एक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता हजारौं नागरिक छन् सार्कबाट सास्ती पाएका ।

विमानस्थल बन्दबारे थाहा नपाउँदा बिजोग

विमानस्थल बन्दबारे थाहा नपाउँदा धेरै यात्रुको बिजोग भएको छ । विदेशमा रहेका तर, नेपाल सरकारले सार्कका नाममा विमानस्थलै बन्द गरेको होला भन्ने हेक्का नराखेका यात्रुहरुले दुःख पाएका छन् । काठमाडौं आउने कतिपय यात्रुहरु विदेशमै अलपत्र परेका छन् ।

सार्क सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरु १८ औं शिखर सम्मेलनका लागि काठमाडौं आउने भएकाले नागरिक उड्डयन प्राधिकरणले ८० प्रतिशत उडान कटौती गरेको छ ।

प्राधिकरणले सबै अन्तराष्ट्रिय उडानलाई राति मात्रै विमान उडाउन निर्देशन दिएको छ । सोहीअनुसार दिउँसोको समयमा नेपालमा अवतरण गर्ने यात्रुले प्रस्थान गर्ने विमानस्थलमै बढीमा ८ घण्टासम्म कुर्नुपर्ने छ ।

कतिबेला ठप्प हुन्छ विमानस्थल ?

मंगलबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विमानस्थल बन्द हुनेछ । त्यस्तै विहीबार र शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म विमानस्थल बन्द हुनेछ । अति विशिष्ट उडान गर्नुपर्ने कारण देखाउँदै प्राधिकरणले नयाँ तालिका बनाएको हो ।

बेलुका उडान गर्न मिल्ने बिराटनगर, भैरहवा र नेपालगञ्जका विमानस्थलमा मात्रै राति उडान हुनसक्छ । दिउँसो उडान गर्न नपाएपछि बेलुका हवाइ चाप हुने हुँदा ८० प्रतिशतभन्दा बढी आन्तरिक र बाह्य उडान बन्द भएको प्राधिकरणले जनाएको छ ।

कुन–कुन उडान बन्द भए ?

मंगलबार र विहीबारका लागि सिम्रिक, सौर्य र सीता एयरले पूर्णरुपमा उडान बन्द गरेका छन् । गोमा एयरले पनि मौसम सफा भए मात्रै लुक्ला उडान गर्ने नत्र रद्द गर्ने जनाएको छ ।

दैनिक ३५ उडान गर्दै आएको बुद्ध एयरले घटाएर १० मा सीमित गरेको छ । यती र तारा एयरले पनि ५० प्रतिशत उडान कटौती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment