Comments Add Comment

पशुपतिमा ‘दारीवाल र सारीवाल’ माथि कडा निगरानी

मात्रिका पौडेल
९ मंसिर, काठमाडौं । सार्क सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सरकारले राजधानीका केही मठमन्दिर, चैत्य गुम्बा र मस्जिद क्षेत्रमा ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेको छ ।

pasupati
तालिवान र मुजाहिद्दिनहरु नेपाल प्रवेश गरेको भन्दै भारतीय पक्षको अनौपचारिक सूचनालाई मध्यनजर गर्दै बिभिन्न क्षेत्रमा शंकास्पद व्यक्तिहरुलाई निगरानीसमेत राखिएको सार्क सुरक्षा समितिका एक उच्च अधिकारीले बताए ।

गृहमन्त्री वामदेव गौतम नेतृत्वको सुरक्षा समितिमा नियमित छलफल भइरहेको र विभिन्न शंकास्पद क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको ती अधिकारीले बताए ।

स्रोतका अनुसार हिन्दूहरुका आराध्यदेव पशुपतिनाथमा ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मी परिचालित छन् । श्लेषमान्तक वन लगायत मृगस्थली, गौरीघाटदेखि पिंगलास्थान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी शंकास्पद व्यक्तिहरुको निगरानी बढाइएको छ ।

‘तालिवान मुजाहिद्दिनहरुको गतिविधि पशुपतिमा साधुबाबा र भक्तिनीहरुको भेषमा हुन सक्ने भएकाले त्यस्ता ठाउँहरु खाली गराउँदै निगरानी बढाइएको छ’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ‘पशुपतिमा दारीवाल र सारीवालहरुका गतिविधि निगरानी गर्न सुरक्षाकर्मी सादा पोशाकमा खटिएका छन्’ ।

पशुपति लगायतका क्षेत्रमा नियमित देखिन साधुबाबाहरु बाहेक अन्य साधु भेषका व्यक्तिहरु विशेष निगरानीमा छन् । जैन भवनलगायत अन्य हिन्दू गतिविधि हुने ठाउँमा पनि सादा पोशाकका सुरक्षाकर्मी परिचालित गरिएको छ ।

त्यस्तै घण्टाघर क्षेत्रका मस्जिदहरुमा पनि ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मीले निगरानी बढाएका छन् । ‘सुरक्षा थ्रेटको मूल्यांकन अनुसार यस्ता ठाउँहरुमा कुनै अप्रिय घटना हुन नदिन निगरानी बढाइएको हो’ एक उच्च सैनिक अधिकृतले भने ।

तिब्बतीहरु पनि निगरानीमा

सुरक्षा निकायले फ्रि तिब्बत पक्षले कुनै गडबडी गर्न सक्ने सम्भाव्य स्थानहरुलाई पनि अति संवेदनशील भन्दै निगरानी बढाएका छन् ।
बौद्धनाथ, स्वयंभूनाथ लगायतका क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी परिचालित छन् ।

गृह मन्त्रायका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सार्क सुरक्षाका लागि सबैतिर पर्याप्त सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको बताए । पशुपति, स्वयंभूनाथ लगायतका क्षेत्रमा बिभिन्न सरकार प्रमुख तथा राष्ट्र प्रमुखको भ्रमण हुने भएकाले पनि ती क्षेत्रमा निगरानी बढाइनु स्वभाविक रहेको उनले बताए ।
पुलमुनि ‘नो इन्ट्री’
यसैबीच सुरक्षाका कारण राजधानीका पुलमुनीका सडकहरुमा सवारी तथा पैदल यात्रीको आवागमनसमेत रोकिएको छ ।
अवान्छित तत्वले पुलमुनि बिष्फोटक पदार्थ राखेर विष्फोट गराउने खतरा रहेकाले पुलमुनिका सडकमा आवागमन रोकिएको हो ।
‘दुई दिन अघिदेखि नै पुलमुनिको आवागमन रोकेर चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको हो’ गृहका अधिकारीले भने ‘सुरक्षामा कुनै सम्झौता हुन सक्दैन’ ।
प्रहरी प्रधान कार्यालयको अप्रेसन हलमा नियमित बस्ने बैठक र ब्रिफिङहरुका आधारमा भीभीआइपीको आवागमन हुने रुटहरुको सुरक्षाका लागि विशेष योजना बनाइने गरेको छ ।

यसैवीच सरकारले पुलमुनि निगरानी बढाएको बताइरहेका बेला धोबीखोलामा मंगलबार दिउँसो संयुक्त जातीय मुक्ति मोर्चाका नाममा केही व्यक्तिले प्रधानमन्त्री सुशील कोइराला र कानूनमन्त्री नरहरी आचार्यको पुत्ला जलाएको भन्दै कार्टुनका पाप्रामा आगो लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment