Comments Add Comment

पशुपतिनाथले लोभ्यायो छिरिङलार्इ

650 (2)

  • भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेलार्इ स्वागत गरेको फाइल तस्वीर

१० मंसिर, काठमाडाैं । सार्क सम्मेलनमा सहभागी हुन आएका भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेलाई पशुपतिनाथ मन्दिर भ्रमणका क्रममा नेपाली बटुकले पाठ गरेको वैदिक स्वस्तिवाचनले लोभ्याएको छ। मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छिरिङलाई नेपाल वेद विद्याश्रमका एक सय आठ बटुकले स्वतिवाचन गरेर स्वागत गरेका थिए।

बिहान साढे ११ बजे काठमाडौं ओर्लिएका उनी स्वयम्भू र बौद्ध पुगेर साँझ ५:३० बजे पशुपतिनाथ पुगेका थिए। बटुकको स्वस्तिवाचन र हाउभाउ हेर्दै छिरिङले करिब पाँच मिनेट बिताए। मन्दिरबाहिर निस्किएपछि गाडी चढ्न लाग्दा उनले बटुकबीच बसेर फोटो खिच्न इच्छा गरेको अन्नपूर्ण पोस्टमा खबर छ।
छिरिङसँगै रहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले अन्नपूर्णसँग भने, ‘उहाँलाई बटुकको शैली र स्वस्तिवाचनले लोभ्यायो।’ बटुक सुशान्त आचार्यले भुटानी प्रधानमन्त्रीसँगको भेटघाट र सामीप्यले खुसी बनाएको बताए। उनले भने, ‘हाम्रो पढाइको महत्त्व रहेछ, सँगै फोटो खिच्नुभयो, यो हाम्रो अहोभाग्य हो।’
छिरिङले वासुकी मन्दिरमा आफैं आरती गरेका थिए। गुप्तेश्वर दर्शनका क्रममा उनले भने, ‘जय शम्भो!’ त्यसपछि उनले क्रमश: नारायण, गणेश, सूर्यनारायण, सरस्वती र भैरवलाई फूल र जल चढाएर प्रसादग्रहण गरेका थिए। उनले मुक्तिमण्डपबाट बागमती दर्शन गरेका थिए भने पारिपट्टि भइरहेको आरतीमा पनि रमाए। छिरिङको जिज्ञासामा टन्डनले भने, ‘यो आरती प्रत्येक साँझ हुन्छ।’
मण्डपबाटै बागमतीपारिको कलियुगेश्वरको दर्शन गर्दै छिरिङले एकछिन प्रार्थना गरेका थिए। सन्तापहरेश्वरमा जल चढाएर उनले श्रीकृष्ण, कृतिमुख भैरव, शीतला माता र उन्मत्त भैरवको दर्शन गरे। त्यसपछि दीप प्रज्जवलनमा सहभागी भएका उनले यज्ञशाला, सप्तमातृका, नवग्रह र धर्मशिलाको दर्शन गरेका थिए। उनले श्रीयन्त्रको दर्शन पनि गरे।
टन्डनले भने, ‘आरतीमा बस्न खोज्नुभएको थियो तर आधा घन्टा लाग्छ भनेपछि सुरक्षामा समस्या पर्छ भन्दै कपुर आरतीमा सहभागी भएर मूलभट्टबाट चन्दन, जल र प्रसाद ग्रहण गरेर बाहिरिनुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment