Comments Add Comment

सार्कको ‘गुलदस्ता’मा भारतीय साँढे !

फाइल फाेटाे
फाइल फाेटाे

अरुण बराल
दक्षिण एशियाले संसारको नेतृत्व गर्नुपर्छ भन्दै नेपाली नेतालाई सहमति र ‘गुलदस्ता’को उपदेश दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनका बेला पाकिस्तानी प्रधानमन्त्रीसँग हातसमेत मिलाउने सभ्यता प्रदर्शन गर्न सकेनन् ।

काठमाडौं आएकै दिन मोदीले नेपाली नेतारुलाई ‘गुलदस्ता’को उपदेश दिए । तर, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई विभिन्न किसिमका सुगन्धित फूलहरुको ‘गुलदस्ता’ बनाउने कार्यमा भारतको भूमिका मालीको जस्तो नभई वगैं साँढेको जस्तै देखिएको छ ।

सिंगै भारतीय मिडिया यतिबेला मोदीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग हात नमिलाएको विषयमा बहसमा उत्रिएका छन् । यसले सार्क राष्ट्र दक्षिण एशियाको ‘गुलदस्ता’ बन्न सक्छ कि सक्दैन भन्ने स्पष्ट भएको छ ।

हात मिलाउनु सामान्य शिष्टाचारभित्र पर्ने विषय हो । पाकिस्तानी प्रधानमन्त्रीले मोदीको सपथ ग्रहणमा सहभागिता जनाएका थिए । यसबाट मोदीले पाकिस्तानसँगको सम्बन्धमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको थियो । तर, मोदीले भारतको परम्परागत यात्रा सुरु गरेको स्पष्ट हुन्छ ।

सार्क सम्मेलन बहुपक्षीय फोरम भएकाले पाकिस्तानसँग दुईपक्षीय सम्वाद नगर्ने जनाएको भारतीय पक्षले भुटान, मालदिभ्स, अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग चाँहि साइड लाइन वार्ता गर्न सार्कले रोकेको छैन ।

आफ्नो विदेश मन्त्रालयका प्रवक्तालाई उधृत गर्दै भारतीय मिडियाले जनाएअनुसार सार्थक कुरा नहुने अवस्थामा मोदीले नवाजसँग कुराकानी नगर्ने भएका हुन् । तर, मोदीमा हात मिलाउने सामान्य शिष्टाचार पनि नहुनु भारतीय प्रधानमन्त्री मोदीको संकीर्णता हो भन्नेमा भारतीय मिडियासमेत सहमत देखिएका छन् ।

सार्कमा आफूलाई सबैको नेता ठान्ने मोदीले पाकिस्तानविरोधी भारतीय मानसिकतालाई निरन्तरता दिएको यसबाट प्रष्ट हुन्छ । बालचाल गर्न र हात मिलाउनसम्म तयार नहुने यस्तो संकीर्ण चरित्रले सार्कलाई प्रभावकारी बनाउन सकिँदैन । सार्क देशका सरकार प्रमुखले हातै नमिलाउने हो भने सार्कका नाममा हुनेकर्मकाण्ड र खर्चको कुनै अर्थ छैन ।

मोदीले नेपालबाट सिक्न जरुरी

गलदस्ताको उपदेश दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट सभ्यता सिक्न जरुरी छ । बुद्ध जन्मेको देशमा विचार र संस्कारको अभाव छैन भन्ने कुुरा मोदीले नेपालको संसदमा गरेको सम्वोधनमै स्वीकार गरिसकेका छन् ।

सार्क राष्ट्रमध्ये नेपालमात्रै त्यस्तो देश हो, जसको सबै मुलुकसँग राम्रो सम्बन्ध छ । नेपाली नेताहरु जति नै विमति भए पनि विपक्षीसँग हात मिलाउँछन्, बोल्छन् र सामान्य शिष्टाचार निभाउँछन् । मोदीले जस्तो विपक्षीसँग हातै नमिलाउने अपसंस्कृतिबाट नेपालीहरु माथि छन् । एउटै सम्मेलनमा आएका सार्क राष्ट्रका समकक्षीसँग हात नमिलाउने मोदीले नेपालीलाई पाठ सिकाउनु शोभनीय देखिँदैन ।

नेपालमा सार्क सचिवालय यसकारण स्थापना गरिएको छ कि नेपालमा सबै देशले सहज महसुस गर्छन् । नेपालको कुनै देशसँग शत्रुता छैन । सार्क राष्ट्रमध्ये नेपाल एउटा सुन्दर ‘गुलदस्ता’ हाे, जसबाट भारतले सिक्न जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment