Comments Add Comment

सार्कमा चीनलाई अधिकार दिने पाकिस्तानी प्रस्तावमा भारतको आपत्ति

Modi-in-kathmandu-for-SAARC-4

१० मंसिर, काठमाण्डौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा चीनलाई बढि अधिकार दिने सदस्य राष्ट्रको प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

सम्मेलनको उद्घाटनको अघिल्लो दिन मंगलबार भएको सार्क मन्त्रीस्तरीय वैठकमा पाकिस्तानसहितका मुलुकले चीनलाई ‘डायलग पार्टनर’ (सम्बाद सहयात्री) वा पूर्ण सदस्यका रुपमा भूमिका दिन प्रस्ताव गरेको स्रोतलाई उदृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतीय बिदेश मन्त्रालयका प्रवक्ता सइद अकबरउद्दिनले यस्तो प्रस्तावको अहिले औचित्य नभएको बताए ।

संचारकर्मीसँग कुरा गर्दै उनले भने-‘अन्य मुलुकतिर लाग्नुभन्दा पहिले सार्क सदस्य राष्ट्रहरुवीचकै सहकार्यलाई दिगो बनाउनु जरुरी छ भन्ने हाम्रो धारणा हो ।’

स्रोतका अनुसार वैठकमा पाकिस्तानले पर्यवेक्षक राष्ट्र र बिशेषगरी चीनलाई बलियो भूमिका दिन प्रस्ताव गरेको थियो । अहिलेको संरचनाअनुसार पर्यवेक्षक मुलुकलाई महत्वपूर्ण मुद्दामाथि हुने छलफलमा सहभागी हुन दिइन्न । उद्घाटन र समापन समारोहमा सहभागी हुने औपचारिक भूमिकामा उनीहरु सिमित छन् ।

यदि डाइलग पार्टनर मुलुकको रुपमा चीनलाई भूमिका दिइएमा उसले सम्मेलन र अन्य सार्क निकायका महत्वपूर्ण वैठकमा सक्रिय सहभागिता जनाउन र आफ्नो राय राख्न पाउँछ ।

चीनले पछिल्ला बर्षहरुमा आफ्नो भूमिकालाई ‘पर्यबेक्षक’मा सिमित नगरी सक्रिय भूमिका दिन दबाब दिइरहेको भारतीय संचारमाध्यमहरुले दावी गरेका छन् । केही नेपाली बिज्ञहरुले चीनलाई पर्यवेक्षकमा मात्र सिमिति गरिनु ‘अपमान’ भएको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

सार्कमा हाल नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तान गरी ८ वटा सदस्य राष्ट्र छन भने अष्ट्रेलिया, चीन, युरोपेली युनियन, इरान, जापान, दक्षिण कोरिया, मोरिसस, म्यानमार र अमेरिका पर्यवेक्षक छन् ।

सन् २००७ देखि पर्यवेक्षकलाई वैठकमा सहभागी बनाउन लागिएको हो ।

यसअघि भारतले अफगानिस्तानलाई नयाँ सदस्य राष्ट्रका रुपमा प्रस्ताव गर्दा तत्कालिन नेपालका राजा ज्ञानेन्द्र शाहले चीनलाई पनि सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावले भारत नेपालका राजासँग निकै रिसाएको चर्चा हुने गरेको थियो ।

भारत र पाकिस्तानी प्रधानमन्त्रीवीच भेटवार्ताको सम्भावना न्यून

सार्क सम्मेलनका दौरान सदस्य राष्ट्रका नेताहरुवीच दुईपक्षीय वार्ताहरु भए पनि भारत र पाकिस्तानका प्रधानमन्त्रीले भेटने/नभेट्ने टुंगो लागेको छैन् । भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अकबरउद्दिनले भेटवार्ताको कुरा अनुमानमात्र भएको र अहिलेसम्म भेट्नेबारे कुनै तयारी नभएको बताए ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सले पाकिस्तानी प्रधानमन्त्री भेटवार्ताका लागि इच्छुक भए पनि मोदीले चासो नदिएको जनाएको छ । सूत्रको हवाला दिँदै पाकिस्तानी प्रधानमन्त्रीले बल अब भारतको कोर्टमा भएको बताएको उल्लेख गरेको छ ।

साइडलाइन वार्ता नभए भोली धुलिखेलमा रिटि्रटका अबसरमा दुई नेतावीच बोलचाल हुनसक्ने सम्भावना रहेको भारतीय अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment