Comments Add Comment

सार्क मन्त्रिपरिषदको प्रतिवेदन अनुमोदन

१० मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर बैठकले सार्क मन्त्रिपरिषदको ३६ औं बैठकले पारित गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

बुधबार बिहानको उदघाटन समारोहले सम्मेलनमा सदस्य राष्ट्रका परराष्ट्र/बाहृय मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको उक्त प्रतिवेदनलाई अनुमोदन गरिएको हो ।

शिखर सम्मेलनमा आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइराला सार्कको अध्यक्षमा निर्वाचित भएलगत्तै सदस्य राष्ट्रका प्रमुख र पर्यवेक्षकहरुको सम्बोधनपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को उक्त प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

सार्क बडापत्रको प्रावधानअनुसार शिखर सम्मेलन सुरु हुनुअघि सदस्य राष्ट्रका विदेश सहसचिवस्तरीय कार्यक्रम समिति, सचिवस्तरीय स्थायी समिति र मन्त्रिस्तरीय मन्त्रिपरिषदले कार्यसूची पारित गरेपछि त्यसलाई राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलनमा अनुमोदन गर्ने गरिन्छ ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले अठारौं सार्क शिखर सम्मेलनको विशेष संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाई सदस्य राष्ट्रका सबै राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई प्रदान गरेका थिए ।

त्यसपछि, प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको पहिलो दिनको उदघाटनसत्र समापन भएको घोषणा गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment