Comments Add Comment

नेपालमा चीन, भारतमध्ये कसको प्रभाव बढी ?

विनित खरे/बीबीसी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जब गत अगष्टमा नेपाल भ्रमण गरे, त्यो कुनै पनि भारतीय प्रधानमन्त्रीले १७ वर्षयता गरेको पहिलो नेपाल भ्रमण थियो ।

नेपाल, जहाँ सन् २०१३-२०१४ मा चीनले १ सय १९ वटा परियोजनामा लगानीको प्रतिवद्धता जनाएको छ र भारतले जम्मा २२ परियोजनामा । के मोदीले १७ वर्षको दूरीबाट सिर्जित खाडल पुर्न सक्लान् ? यी १७ वर्षमा भारतले नेपालमा के गुमायो ?

नेपालका अधिकारीहरुको भनाइमा पहिले भारतका तर्फबाट सहयोगको प्रतिवद्धता निकै धेरै भयो । तर, प्रतिवद्धता पूरा हुने गति भने निकै सुस्त रह्यो ।  के नरेन्द्र मोदी सरकारमा आएपछि नेपालको यो गुनासो दूर होला ?

Nepal, India and chaina flag

पछिल्ला १७ वर्षमा पश्चिमी देश र चीनले नेपालमा सांस्कृतिक, आर्थिक तथा सामाजिक प्रभाव बढाएका छन् । विश्लेषकहरुका अनुसार यी सत्र वर्षमा नेपालमा भारतको प्रभाव कम भएको छ, भारतप्रतिको कटूता बढेको छ र चीनले ठूलो लगानी गरी आफ्नो पकड मजबूत बनाएको छ ।

भारत सरकारले आफ्नो नेपाल नीति कर्मचारीका हातमा छाडेका कारण यस्तो भएको बताउँछन् । जसका कारण नेपाली जनतामा भारतप्रति आशंका बढेको हो । यसको फाइदा चीनजस्ता देशले उठाए ।

काठमाण्डौमा चिनियाँ पर्यटक, चिनियाँ भाषाका पसल तथा चिनियाँ भाषा पढाउने संस्थाहरु अनगन्ती  ठाउँमा देखिन्छन् ।

एक विश्लेषकका अनुसार नेपाल अहिले चिनियाँ पर्यटकको दबावमा छ र यदि चिनियाँ पर्यटकको संख्या लाखौँले बढ्यो भने त्यसलाई सुल्झाउन गाह्रो हुन्छ । चिनियाँ पर्यटक बढ्नुको प्रतिकूल असर नेपालको सामाजिक, आर्थिक तथा धार्मिक अवस्थामा पर्ने विश्लेषण उनको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०१३/०१४ मा चीनले १ सय १९ परियोजनामा झण्डै ७ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता जनाएको छ । भारतले भने २२ वटा परियोजनामा ६ अर्ब ५० करोड रुपैयाँको मात्र ।

विश्लेषकहरु यो अवस्थाको जिम्मेवार नेपालको आर्थिक अवस्था तथा कमजोर नेतृत्व भएको बताउँछ ।

चीनको बोलवाला

चीनको आर्थिक सहयोगमा आठ लेनको चक्रपथ बन्दैछ । चक्रपथ निर्माणमा चीनलगायतका देशबाट आएका कामदार सडकमा देखिनेछन् । चीनको सांघाइ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले अहिले पहिलो चरणको काम गरिरहेको छ । तीन चरणमा बन्न लागेको २७ किलोमिटर चक्रपथ विस्तारको काम २०१६ को मे महिनामा पूरा हुने सम्भावना छ ।

काठमाण्डौ चक्रपथ विस्तार परियोजनाका प्रोजेक्ट म्यानेजर अशोक तिवारीको टेबुल अगाडि नेपालको नक्शा राखिएको छ । उनले आफ्नो नक्सामा नेपालमा कुन-कुन परियोजनामा चीन तथा भारतले काम गरिरहेका छन् भनेर देखाउँछन् । चीनले बनाएको सडकले काठमाण्डौलाई तिब्बतसँग जोड्छ ।

जुन भवनमा नेपालको संविधानमाथि बहस चलिरहेको छ, त्यो झण्डै १५ वर्षअघि चीनले बनाएको थियो ।

नेपालमा पश्चिमी देशको प्रभाव

तर, केही नेपाली अधिकारीहरुका अनुसार नेपालमा चीनको प्रभावका बारेमा भारतमा बढाइ-चढाइ गरेर  आँकलन गरिएको छ । भारतको बलियो उपस्थितिको अभावमा नेपालमा चीनभन्दा पश्चिमी देशहरुले प्रभाव बढाइरहेका छन् ।

नेपालमा कतिपय वृत्तमा धर्म परिवर्तनका विषयमा चिन्ता व्यक्त गर्ने गरिएको छ । यसका लागि पश्चिमी देशका संस्थाहरु जिम्मेवार रहेको कतिपयले ठान्ने गरेका छन् ।

अर्थमन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी भन्छन्, ‘१७ वर्षदेखि कोही पनि भारतीय प्रधानमन्त्री आएनन् । हामीले देख्यौँ, पढ्यौँ, राजनीतिकस्तरमा पनि दुई पक्षबीच अविश्वास थियो । हाम्रो यहाँ चीनभन्दा पनि बढी पश्चिमी देशका मानिस तथा उनीहरुका कम्पनी आएका छन् ।’

उनका अनुसार चीन जुन गतिमा विकसित भैरहेको छ, त्यहाँका जनतासँग ठूलो परिमाणमा पैसा छ र उनीहरु पैसा खर्च गर्न चाहन्छन् ।

मोदीको प्रभाव

नेपाली अधिकारीहरु भारतले सहयोगको बाचा धेरै गर्ने तर बाचा पूरा गर्ने गति भने निकै सुस्त भएको बताउँछन् । तर, के नरेन्द्र मोदी सरकारमा आएप्छि नेपालको यो गुनासो दूर होला ?

मरासिनीका अनुसार नरेन्द्र मोदी आएपछि भारत र नेपालबीचको सम्बन्धमा ९० प्रतिशतसम्म परिवर्तन आएको छ । चाहे त्यो दिल्लीमा रहेको विदेश मन्त्रालय होस् वा काठमाण्डौमा रहेको भारतीय दूतावास । मोदी आउनुको प्रभाव स्पष्टरुपमा देखिएको छ र विभिन्न परियोजनाहरुमा प्रगति भएको छ ।

वरिष्ठ पत्रकार युवराज घिमिरेका अनुसार मोदीले नेपालका नेता तथा आम जनतासँग जुन सम्बन्ध स्थापित गरे, त्यसबाट उनी निकै लोकपि्रय बनेका छन् । त्यसकारण नेपालीहरुले मोदीलाई एक नोकरशाह भन्दा माथि राखेर हेरिरहेका छन् ।

चाहे अफि्रका होस्, दक्षिणपूर्वी एसिया वा दक्षिण एसिया, भारत र चीनले प्राकृतिक श्रोत साधनमा आफ्ना पहुँच तथा प्रभाव बढाउने कोसिस गरिरहेका छन् ।

नेपालका अधिकारीहरु भारतसँग निकै नजिकको सामाजिक, आर्थिक तथा धार्मिक सम्बन्धको कुरा त गरिरहेका छन् तर  यो पनि भन्ने गर्छन् कि उनीहरु भारत र चीन दुबै देशको सहयोगमा नेपालमा आर्थिक विकासको गति बढाउन चाहन्छन् ।

-बीबीसी हिन्दी सेवाबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment