Comments Add Comment

खोला जाँच्न हिँडेका कर्मचारी हराएपछि सिडिओसा’प जंगिए

ध्रुव भट्टरार्इ

११ मंसिर, बिराटनगर । मोरङका खोलानालामा अवैधरुपमा भइरहेको अतिक्रमणको अनुगमन गर्न निस्किएको टोलीका दुई कर्मचारी बाटैमा सम्पर्कविहीन भएपछि मोरङका प्रमुख जिल्ला अधिकारीले तत्कालै कारवाहीको निर्देशन दिएका छन् ।

roshan-joshi-

बिराटनगरबाट सिडियो सा’पको टोलीमा सँगै हिँडेका जिविसका योजना अधिकृत राजेन्द्र पोख्रेल र वातावरण तथा उर्जा शाखाका प्रमुख रोशन जोशी सुनसरीको इटहरीबाट एकाएक गुपचुप भएका हुन् ।

बिराटनगरबाट जिविसको वा १ झ ८४३६ नम्बरको गाडीमा सवार उनीहरु ठेकेदार भीम पौडेलको इटहरीस्थित घर नजिक पुगेपछि हराएका थिए ।

टोलीका संयोजक रहेका सिडियो गणेशराज कार्कीसहितको टोली खदम खोला पुग्दासमेत उनीहरु आएनन् । टोलीले उनीहरुलाई खदम खोलामा करिव ४५ मिनेट कुर्‍यो । पटक-पटकको फोन सम्पर्कपछि उनीहरु आफू चढेको जिविसको गाडी परिवर्तन गरी ठेकेदार पौडेलको वा ७ च ६६६४ नम्वरको गाडी चढेर सिडियोका अगाडि हाजिर भए ।

इटहरीबाट एकाएक अलग्गिएपछि टोलीका संयोजक प्रजिअ कार्कीले स्थानीय विकास अधिकारी नारायण मैनालीलाई फोन गरेर पोख्रेल र जोशीलाई तत्काल छानवीन गरी कार्वाही गर्न निर्देशन दिए ।

baluwa-3

योजना अधिकृत पोख्रेलले ठेकेदार पौडेलसँग के कस्ता कुरा हुन्छन् भनी सुराकी गर्न गएको प्रजिअसमक्ष स्पष्टीकरण दिए । जोशीले कुनै प्रतिक्रिया दिएनन् ।

अनुगमनका लागि गएका जोशी खोलाबाट मापदण्डभन्दा बढी उत्खनन भए नभएको तथा प्वाइट जाचँ गर्ने जीपीएस उपकरण र विवरण टिप्ने डायरीसमेत नलिई फिल्डमा पुगेका थिए ।

जिविसका वातावरण तथा उर्जा शाखाका प्रमुख रहेका जोशी जिल्लाका खोलानाला ठेक्कामा लगाउनुभन्दा पहिले गरिने आईई प्रतिवेदन रिर्पोट तयार पर्ने काममा पनि प्रत्यक्ष सलग्न व्यक्ति हुन् । उनले आईई प्रतिवेदन तयार पर्दा ठेकेदारको अनुकुलता अनुसार काम गरी मन्त्रालयमा पठाएको स्रोतको दाबी छ ।

baluwa-1

एकलौटी ठेक्का

मोरङ जिल्लाका विभिन्न खोलामा विगत लामो समयदेखि ठेकेदार भीम पौडेलले आफ्नो भागमा पार्दै आएका छन् । विगत पाँच वर्षदेखि सुनसरीको इटहरीका ठेकेदार पौडेलले विनिता श्री र्फमबाट जिल्लाका खोला निरन्तर आफ्नोमा ठेक्का पार्दै आएका छन् ।

अवैध उत्खनन् बढ्यो

यसैवीच सुनसरी र उत्तरी मोरङमा मापदण्ड विपरीत खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा मोरङका खोेलानालाको स्वरुप बिग्रन थालेको छ ।

जिल्ला विकास समिति मोरङसँग गरेको सम्झौता विपरीत ठेकेदार र स्थानीय क्रसर उद्योगीहरुले मनोमानी रुपमा एक्साभेटर प्रयोग गरी ढुंगा-गिट्टी झिक्न थालेपछि खोलानालाको स्वरुपमा परिर्वतन आएको हो ।

ठेकेदार भीम पौडेल र स्थानीय क्रसर उद्योगीहरुले सरकारी मापदण्ड लत्याउँदै उद्योगका लागि आवश्यक ढुङगा गिट्टी मनोमानी रुपमा उत्खनन गरेको सरकारी अनुगमन टोलीले निश्कर्ष निकालेको छ ।

baluwa-2

ठेकेदारहरुले मोरङका खदम र चिसाङ खोलाबाट सात मिटरसम्म गहिराएर बालुवा गिटी उत्खनन गरेका छन् । यसले गर्दा बाढी आउँदा बस्तीमा पस्न सक्ने खतरा बढेको छ ।

खोला ठेक्का लगाउँदा बढीमा डेढ मिटरमात्रै उत्खनन गर्न सकिने मापदण्ड तोकिएको थियो । जिल्ला विकास समितिले चालु आवका लागि ठेकेदार भीम पौडेलललाई जिल्लाका ६ वटा खोला ६ करोड ४१ लाखमा ठेक्का लगाएको थियो ।

जिल्ला विकास समितिले मोरङका खोलामध्ये आठ स्थानबाट मात्रै बालुवा-गिट्टी झिक्न अनुमति दिएको थियो । तर, ठेकेदार पौडेलले क्रसर उद्योगलाई २० स्थानमा उत्खनन अनुमति दिएर पैसा असुलेको स्रोतले बतायो ।

मापदण्ड विपरीत ठेकेदारबाट पैसा लिएर मनोमानी ढंगले खोलाबाट ढुङगा गिट्टी उत्खनन् गर्न क्रसर उद्योगलाई उन्मुक्ति दिएको बताइन्छ ।
खदम खोलामा रहेको त्रिपति, अटल, पूर्वाञ्चल क्रसर उद्योग आसपासका क्षेत्रमा सबैभन्दा बढी मापदण्ड विपरीत ढुङ्गा गिट्टी उत्खनन गरिएको छ ।

क्रसर उद्योगबाट करिव ५ सय मिटर आसपासको क्षेत्रमा खोलाको सतहबाट दुई फिट गहिराइसम्म ढुङगा गिट्टी उत्खनन गर्न पाइने भए पनि कतिपय स्थानमा सात फिट गहिराइसम्म उत्खनन गरिएको छ ।

क्रसर उद्योगहरुले प्रायःजसो धेरै स्थानमा एक्साभेटरको प्रयोग गरी ढुङ्गा, गिट्टी र बालुवा निकाल्दै आएका छन् ।

क्रसर उद्योगहरुले कतिपय वन क्षेत्रमा पनि जथाभावी उत्सनन गरेको अनुगमनमा पाइएको छ । खोलाको दुबैतर्फको करिव ४५/४५ मिटर क्षेत्र छाडेर पानीको बहाव क्षेत्रको वीचवाट मात्रै ढुङ्गा गिट्टी निकाल्न पाउने भए पनि मापदण्ड विपरीत ठेकेदार र स्थानीय क्रसर उद्योगले उत्खनन् गरेको अनुगमन टोलीले फेला पारेको छ ।

baluwa-4

प्राकृतिक स्रोत साधन समितिको अनुगमन

मापदण्ड विपरीत खोलामा उत्खनन गर्ने कार्य बढेपछि जिल्लास्तरीय प्राकृतिक स्रोत्र साधन समितिले जिल्लाका खोलाहरुको अनुगमन गरेको हो ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीसहितको टोलीले बुधबार सबैभन्दा बढी मापदण्ड विपरीत ढुङ्गा गिट्टी उत्खनन गरिएका खोलाहरुको अनुगमन गरेको हो ।

टोलीले केराबारी गाविसस्थित खदम खोला, चिसाङ र सुनझोडा खोलाको अनुगमन गरेको थियो । टोलीले गछिया तथा केरावारी आसपासको क्षेत्रमा बग्ने खदम खोलामा सबैभन्दा बढी मापदण्ड विपरीत खोलाको स्वरुप नै बिगि्रने गरी उत्खनन गरेको निश्कर्ष निकालेको छ ।

टोलीका संयोजक प्रजिअ गणेश कार्कीले ठेकेदार र स्थानीय क्रसर उद्योगले खोलाको स्वरुप बिगि्रने गरी ढुङ्गा गिट्टी उत्खनन गरेको पाइएको जानकारी दिए ।

‘अहिलेको अवस्थालाई सामान्य भन्न मिल्ने देखिएन,प्रजिअ कार्कीले भने- ‘तत्काल यस्तो कार्यलाई रोक्न सम्वन्धित निकायलाई निर्देशन दिनेछु । यस्तो कार्य रोक्न अटेर गरेमा कारवाही प्रक्रियामा जानेछु ।’

अनुगमन टोलीमा प्रजिअ अधिकारी, जिल्ला विकास समितिका कर्मचारी, मोरङका प्रहरी प्रमुख ठुले राई, जिविस सर्वदलीय समितिका संयोजक ज्ञानेन्द्र ढकाल, जिल्ला वन कार्यालयका वन अधिकृत दीपक ज्ञवाली र सञ्चारकर्मीसहितको सहभागिता थियो ।

टोलीले गछियास्थित गछिया खोला, केराबारीस्थित खदम खोला, लेटाङस्थित चिसाङ र उर्लाबारीस्थित सुनझोडा खोलाको अनुगमन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment