११ मंसिर, सोलुखुम्बु । हिमाली क्षेत्रको सुन्दरताले संसारलाई लोभ्याएको छ । यहि सुन्दरताका कारण सात समुन्द्रपारीबाट समेत पर्यटक घुम्न आउँछन्, त्यहाँ रमाउँछन्, अनी आफन्त तथा साथीभाइलाई त्यसको कथा सुनाउँछन्, अनि कतिपयले त्यही सुन्दरताको बखान गरेर पनि जीविका चलाइरहेका छन् ।
त्यहाँको फोटो बिक्री भइरहेको छ, त्यहाँको बयानले राम्रो स्थान पाएको छ, अनी सुन्दरताले गर्दा हामीले मनग्गे आम्दानी पनि लिइरहेका छौँ । देशले राजस्व पाएको छ भने व्यक्ति सम्पन्नताको चुलीमा पुग्दै छन् । आलुबाहेक उत्पादन नहुने ठाउँमा बसेर पनि आँगनमै हेलिकोप्टर राख्न सक्ने अवस्था त्यही हिमाली सुन्दरताले दिलाएकोे हो ।
सुन्दरताले यति धेरै फाइदा दिएपनि त्यहाँभित्रको कष्टदायी जीवनको याद भने कमैले गर्छन्, । त्यहाँ पुग्ने पर्यटकलाई सुविधा दिन बसेकाको कथा कारुणिक पनि छ । खुम्बुमा पर्यटकका कारण धेरै कमाएको र जीवनशैली सुधि्र्रएको चर्चा धेरैतिर हुन्छ ।
खुम्बुका पर्यटन व्यवसायीको जीवनशैली विकसित मुलुकको जीवन शैलीभन्दा कम रौनक छैन भनेर धेरैतिर चर्चा सुनिन्छ । तर पर्यटकको बाटो कुरेर बस्ने हिमाली क्षेत्रका विभिन्न पदमार्गमा व्यवसाय गर्नेहरु समस्या नै समस्यामा छन् । वाकु-४ सिबुचेमा व्यवसाय गर्नुहुने पावैका दा-तेञ्जिङ शेर्पा छिमेकी नहुँदा निकै कष्ट हुने बताउँछन् ।
विभिन्न पदमार्गमा भेटिने स-साना होटलमा बस्ने सबैको पीडा यस्तै हुन्छ । कोही बिरामी परेमा त झनै संकट आइपर्ने उनीहरु बताउँछन् । त्यहाँ बस्ता २/४ रुपैयाँ आम्दानी त हुन्छ तर छोराछोरीलाई विद्यालय पठाउन निकै समस्या हुन्छ, छाडाखोरमा व्यवसाय गर्ने मौलीधनी राई भन्छिन्- ‘छोराछोरीलाई विद्यालय पुग्न तीन घन्टाभन्दा बढी लाग्छ, कसरी पठाउनु, धेरैले पढ्नै पाउँदैनन्’ ।
खुम्बुको मुख्य पदमार्गभन्दा बाहेकका सहायक मार्गमा मौसमी होटल पसल गर्नेहरु हिमाल छेउको चिसो जस्तै समस्याबाट ग्रसित छन् । सिटामोल लिनसमेत एक/दुई दिन हिँड्नुपर्ने बाध्यता सुनाउने उनीहरु त्यहाँ बस्दा छोराछोरीलाई खोप लगाउन पनि पाउँदैनन् ।
गाइखर्कमा व्यवसाय गर्नुहुने मितुमाया राई आफ्ना छोराछोरीलाई कहिल्यै खोप नलगाएको र टाउको दुख्दा सिटामोल पनि नपाइने बताउँछिन् ।
पर्यटक सिजनमा मात्र आउँछन्, त्यो बेला कमाएको पैसाबाट जीविका चलाउनुपर्छ । नजिकमा विद्यालय हुँदैनन्, छोराछोरीलाई पढाउन मुस्किल पर्छ ।
खुम्बु क्षेत्रमा प्रशस्त आम्दानी गर्नेहरुले त नेपालका सहर तथा विदेशमा लगेर पनि छोराछोरीलाई पढाइरहेका हुन्छन् तर कम आम्दानी गर्ने त्यस्ता धेरै व्यवसायी छन् जसले लेकको चिसोमा बसेर कष्ट सहिरहेका छन् ।
हिमाली क्षेत्रको सुन्दरताभित्र लुकेका धेरै कथाव्यथा छन् । भरियाका कथा झनै कष्टदायक छन् भने त्यहाँसम्म लगेर सामान बेच्ने सानो व्यापारीका कथा पनि छन् ।
धेरैले कमाएका छन्, छोराछोरीलाई सुविधासम्पन्न विद्यालयमा पढाउँछन्, बिरामी परे आँगनमा हेलिकोप्टर ल्याएर अस्पताल पुग्छन्, तर त्यही ठाउँका केही व्यवसायी छन् जसले न त छोराछोरीलाई पढाउन सकेका छन्, नत टाउको दुख्दा सिटामोल पाउँछन्, समस्याभित्र जेलिएर जीविकाको लागि हिमाली सुन्दरतामा व्यवसाय गर्दै त्यहाँ पुग्ने पर्यटकलाई सुविधा दिने ती व्यवसायीलाई सरकार वा अन्य सरोकारवाला पक्षले ध्यान दिनु आवश्यक छ । रासस