Comments Add Comment

नेपालमा कम प्रदेश बनाउन भारतको सुझाव

फाइल फोटो
फाइल फोटो

१२ मंसिर, काठमाडौं । भारतका उच्चपदस्थ सरकारी अधिकारीले नेपालमा संघीय संरचना निर्माण गर्दा धेरै प्रदेश नबनाउन राष्ट्रपति रामवरण यादव र दलका शीर्ष नेतालाई सुझाव दिएका छन् ।

ट्रमा सेन्टर उद्घाटन समारोहमा नेपालको संविधान निर्माणबारे खुलेरै सल्लाह दिएर विवादमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्कका औपचारिक कार्यक्रममा व्यस्त रहँदा उनीसँग आएका उच्चपदस्थ भारतीय अधिकारीले नेपालमा कस्तो संघीयता बनाउने भन्नेबारे छलफल गर्दै भारत सरकारको धारणा राखेको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बिहीबार बिहान राष्ट्रपति रामवरण यादव र मध्याह्न कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भेटेर यसबारे विचारविमर्श गरेका थिए। नेपालको संघीय संरचना र त्यसपछिको अवस्थाले भारतको राष्ट्रिय सुरक्षामा पार्ने असर उनको मुख्य चासोको विषय थियो।

राष्ट्रपति कार्यालय शीतलनिवास स्रोतका अनुसार डोभालले माघ ८ भित्रै संविधान बन्नुपर्ने बताएका थिए। समयमा संविधान नबन्दा नेपालमा उत्पन्न हुने समस्याले भारतको सुरक्षामा समेत प्रभाव पार्नेतर्फ उनले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। ‘जस्तो हुन्छ, समयमै संविधान बनाउनुहोस्’, डोभालको सल्लाह उद्धृत गर्दै स्रोतले भन्यो।

कांग्रेस नेता डा. शेखर कोइरालासमेत सहभागी शीतलनिवास भेटमा राष्ट्रपति यादवले माघमा संविधान आउनेमा आफू आशावादी भएको धारणा राखेका थिए। संघीयताबारे भारतीय जिज्ञासामा उनले चुरेलाई समेत मिलाएर प्रदेश बनाए राम्रो हुने बताएका थिए।

डोभालले कांग्रेस नेता देउवासँग सोल्टी होटेलमा भेट गरी कांग्रेसको भित्री धारणा जान्न चाहेका थिए। स्रोतका अनुसार कैलाली, कञ्चनपुर, झापा, मोरङ, चितवनजस्ता जिल्लालाई मधेस प्रदेशभित्रै राख्नुपर्ने मधेस केन्द्रित दलको मागबारे पनि देउवा र डोभाललबीच कुराकानी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment