Comments Add Comment

सार्क सम्मेलनमै बन्यो राजपाक्षेको चुनावी माहौल

१२ मंसिर, काठमाडौं । करीव एक महिनापछि तेस्रोपटक श्रीलंकाको राष्ट्रपति बन्ने प्रतिस्पर्धामा रहेका महिन्दा राजपाक्षेले सार्क शिखर सम्मेलनलाई आफ्नो चुनाव प्रचारको थलो बनाए ।

सार्कका शीर्ष नेताहरुले उनलाई तेस्रोपटक श्रीलंकाको राष्ट्रपति निर्वाचित हुनका लागि शुभकामना मात्र दिएनन्, कतिपयले उनलाई नै पुनः निर्वाचित भएको देख्न चाहेको समेत बताए ।

श्रीलंकामा पूर्वनिर्धारित समयभन्दा दुई वर्षअघि नै आगामी जनवरी ८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राजपाक्षे तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् ।

उनले सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएका बेला विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले पुनः निर्वाचित हुन दिएको शुभकामनालाई महत्व दिँदै ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

MAHINDA-RAJAPAKSHEराजपाक्षेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन गैयुम, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र नेपालकी प्रथम महिला सुजाता कोइरालाले पुनः निर्वाचित हुनका शुभकामना दिएको भन्दै ट्वीट गरेका छन् ।

धुलिखेल रिट्रिटका बेला सात देशका कार्यकारी प्रमुखले उनको आसन्न निर्वाचनको अवस्था बारे अनौपचारिक कुरा गर्दै पुनः निर्वाचित हुन शुभकामना दिएका थिए ।

मोदीले पुनः निर्वाचित हुने अपेक्षा गर्दै अगि्रम बधाइ र शुभकामना दिएको राजपाक्षेले ट्वीट गरेका छन् ।

त्यस्तै यामिनले राजपाक्षको पुनः विजयका लागि व्यग्रतापूर्वक अपेक्षा गरेको र उनको जितका लागि प्रार्थना गरेको बताएका थिए ।

नेपालका पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजपाक्षेलाई पुनः राष्ट्रपतिका रुपमा देख्न चाहेको ट्वीट गरेका छन् ।

भुटानका प्रधानमन्त्री तोब्गेको भनाइ उधृत गर्दै राजपाक्षे लेख्छन्- ‘तपाईलाई मेरो शुभकामना आवश्यक नै छैन, किनकि तपाई जित्दै हुनुहुन्छ, तर पनि मेरो शुभकामना पुनः निर्वाचित हुनका लागि ।’

राजपाक्षे युनाइटेड पिपुल्स फ्रिडम एलायन्सको तर्फबाट राष्ट्रपतिको उम्मेदवार छन् । उनलाई विपक्षी युनाइटेड नेशनल पार्टीका तर्फबाट मइथिरी पाला सिरिसेनाले टक्कर दिँदै छन् ।

श्रीलंकामा करीव तीन दशकसम्म चलेको तमिल विद्रोहलाई समाप्त पारेपछि राजपाक्षे शक्तिमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment