Comments Add Comment

सार्क सम्मेलनमा कति खर्च भयो ? देशले के पायो ?

MODI-WITH-HELIमात्रिका पौडेल/ टिप्पणी

विश्व कुटनीतिमा एउटा वाक्य निकै चर्चित रहने गरेको छ, ‘दियर इज नो फ्रि लञ्च ।’ अर्थात त्यहाँ सित्तैमा खाने केही पनि छैन । कुनै जमघट वा सम्मेलन हुन्छ भने त्यसबाट केही न केही उपलब्धि हुनुपर्छ भन्ने अर्थमा सित्तैमा खाना पाइँदैन भन्न खोजिएको होला ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सन्दर्भमा कहिलेकाहिँ यसको अपवाद सुनिने गरेको छ । सार्क स्थापनाको ३० वर्ष भइसक्दा पनि यसको प्रभावकारिता माथि सधैं प्रश्न उठ्ने गरेको छ ।

हरेक शिखर सम्मेलनबाट घोषणापत्र जारी हुन्छन्, कतिपय महत्वपूर्ण सम्झौता र संयन्त्रहरु पनि बन्छन्, तर तिनको कार्यान्वयन नहुँदै अर्को सम्मेलन शुरु हुन्छ । एकप्रकारले भन्ने हो सार्क शिखर सम्मेलनको उपलब्धीलाई एक वाक्यमा टुंग्याउँदा ‘केटाकेटी आए, गुलेली खेलाए मट्यांग्राको नाश’ भनेजस्तै हुने गरेको छ ।

तर, पनि सार्कको महत्व आफैंमा ठूलो छ र विश्व मञ्चमा यो कसैले उपेक्षा गर्न नसक्ने क्षेत्रीय संगठन हो । चीन, कोरिया आर्थिक शक्तिहरुले समेत सार्कमा समावेश हुन खोज्नुले यसको दीर्घकालीन महत्व दर्शाएको छ ।

एकप्रकारले भन्ने हो सार्क शिखर सम्मेलनको उपलब्धीलाई एक वाक्यमा टुंग्याउँदा ‘केटाकेटी आए, गुलेली खेलाए मट्यांग्राको नाश’ भनेजस्तै हुने गरेको छ

सार्कको अपेक्षा र उपलब्धिका बारेमा धेरै बहस छलफलहरु भइसकेका छन् । यहाँ प्रशंग उठाउन खोजिएको १८ औं सार्क शिखर सम्मेलन आयोजक मुलुकका हिसाबले नेपालको भूमिकाकस्तो रह्यो ?

द्वन्द्वोत्तर आर्थिक सुस्तता र लामो एवं कष्ठकर राजनीतिक संक्रमण व्यहोरिरहेको सानो मुलुक नेपालले सार्क शिखर सम्मेलनलाई भव्य र सभ्य बनाउन जुन मेहनत गर्‍यो, त्यो प्रभावकारी देखियो ।

सरकारले सार्क शिखर सम्मेलनलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी राखेन । हामीले चाहृयौं भने गर्न सक्छौं भन्ने सन्देश दिनु नेपाल सरकारको महत्वपूर्ण सफलता र उपलब्धि हो ।

अतिथि देवो भवः भन्ने नेपाली संस्कृतिलाई सरकारले सार्क शिखर सम्मेलनका क्रममा कत्ति पनि आँच आउन दिएन । सार्कका शीर्षनेताहरुलाई स्वागत गर्न सरकारका उपप्रधानमन्त्री मन्त्रीहरु नै उपस्थित भए ।

सुन्दर मनोरम धुलिखेलमा रिट्रिट आयोजना गरेर सार्कका शीर्ष नेताहरुलाई एक आपसमा नजिक्याउने मात्र होइन, हातसमेत नमिलाएका भारत-पाक प्रधानमन्त्रीलाई मिलाउने काममा नेपाल सरकारले सफलता पाएकै हो ।

अतिथिहरुको सत्कारमा सरकारमात्र होइन, नेपाली जनता आफैं जुटे । अतिथिको स्वागत सत्कारका क्रममा केही दिनका लागि असहजता भोग्न नेपाली जनता सहजरुपमा तयार भए ।

जनताले सरकारलाई सार्क शिखर सम्मेलन सफल बनाउनका लागि हरतरहले सघाए । सरकारले पनि कतै खोट नआउने र कसैले प्रश्न उठाउन नसक्ने गरी परिपक्व हिसाबले सार्क सम्मेलन व्यवस्थापन गर्न सफल भयो ।

जनताले सरकारलाई सार्क शिखर सम्मेलन सफल बनाउनका लागि हरतरहले सघाए । सरकारले पनि कतै खोट नआउने र कसैले प्रश्न उठाउन नसक्ने गरी परिपक्व हिसाबले सार्क सम्मेलन व्यवस्थापन गर्न सफल भयो

सार्क शिखर सम्मेलनको सफलतापूर्वक आयोजना र यसक्रममा प्राप्त अनुभवहरु नेपाल सरकारका लागि भविश्यमा काम लाग्ने महत्वपूर्ण उपलब्धि हुन् । यसले हामी जस्तासुकै ठूला अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न सक्छौं भन्ने आत्मवल पनि प्रदान गरेको छ ।

हतपतको काम लतपते भनेजस्तै बेलैमा नतात्ने, अनि बेला घर्किन लागेपछि हतार-हतार सबै काम गर्ने नेपाली पारा सरकारी संयन्त्रको स्थायी मनोदशा नै हो । १८ औं सार्क सम्मेलन नेपालमा हुने कुरा तीन वर्षअघि नै तय भइसकेको थियो । त्यसैले सरकारले सार्क लक्षित भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम धेरै अघि नै गर्न सक्थ्यो ।

तर, यी तमाम कमजोरीका बाबजुद सार्क शिखर सम्मेलन आयोजक सदस्यका हिसाबमा नेपालले गौरव गर्न सक्ने गरी व्यवस्थापन गरेको कुरालाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

दुई अर्ब बढी खर्च गरेर सरकारले सार्क लक्षित विकास निर्माणका काम सम्पन्न गरेको छ । राजधानी उपत्यकाको मुहार फेरिएको छ । सार्ककै बाहानामा सही, वास्तवमै हाम्रो राजधानी गर्व गर्न लायक शहर बनेको छ ।

अबको चुनौती भनेको यो सौन्दर्य र यो पुनःनिर्मित स्वरुपलाई जोगाउँदै विश्वका अन्य देशका राजधानीहरु जस्तै स्वच्छ, सफा र सुन्दर बनाउनु रहेको छ । बजेट पचाउने र झारा टार्ने हिसाबले धेरै संरचनाहरु बनेको आशंका र गुनासाहरु छन् ।

ठेकेदार र सरकारी अधिकारीहरुको मिलेमतोमा सडक पीच, पुननिर्माण, भौतिक संरचना निर्माणदेखि फूल रोप्ने क्रममा समेत धेरै ठूलो अनियमितताका कुराहरु आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले यस्ता ठाउँको अनुसन्धान गरी दोषीलाई कठघरामा उभ्याउनुपर्छ ।

सार्कका नाममा केही मुठ्ठीभर व्यक्तिको ब्रम्हलुटले छुट पाउनु हुँदैन । सरकारले चाहृयो भने गर्न सक्छ र सरकारले चाहँदा साधन स्रोत जुट्न सक्छ भन्ने कुरा सार्कको तयारीले पुष्टि गरिसकेको छ ।

ठेकेदार र सरकारी अधिकारीहरुको मिलेमतोमा सडक पीच, पुननिर्माण, भौतिक संरचना निर्माणदेखि फूल रोप्ने क्रममा समेत धेरै ठूलो अनियमितताका कुराहरु आएका छन् । सार्कका नाममा केही मुठ्ठीभर व्यक्तिको ब्रम्हलुटले छुट पाउनु हुँदैन

अब काठमाडौंमात्र होइन, देशका सबै ठूला साना शहरहरु यस्तै गरी पुनःनिर्माण हुनुपर्छ । हामी सक्छौं, भन्ने सन्देश विश्वलाई दिनु पर्छ । काठमाडौं रंगीचंगी हुँदा जनकपुरले गुनासो गर्ने ठाउँ दिनुहुँदैन ।

अफगान मरुभूमिबाट शुरु भएर बंगाल हुँदै हिन्दकुश हिमालयको काखसम्म फैलिएको सार्क संरचना विश्व मञ्चमा एउटा सुन्दर संरचना हो । यो क्षेत्र मानव सभ्यताको प्राचीन उद्गम थलो र सांस्कृतिक विविधताको भण्डार पनि हो ।

नेपाल सरकारले आफ्ना पाहुनालाई हिन्दकुश क्षेत्रका सांस्कृतिक शैलीअनुसार स्वागत सत्कार गरेर प्रसन्न बनाउन सफल भएको छ । हाम्रो देशको मौलिक पहिचान झल्किने स्वागत सत्कारका साथै यहाँको खानाको स्वाद सायद पाहुनाले बिर्सने छैनन् । बरु बिर्सिन सक्छन् सार्क शिखर सम्मेलनका प्रतिवद्धता र घोषणापत्रहरु ।

डा. बाबुराम भट्टराईले आयो सार्क ढोल बजाई, गयो सार्क ऋण बोकाइ भनेका छन् । आर्थिक हिसाबले सार्कले नेपाललाई निकै ठूलो खर्च गराए पनि यस अवरसरमा भएका भौतिक निर्माण र दक्षिण एशियाका कार्यकारी प्रमुखहरुलाई नेपालले गरेको स्वागतको मूल्यलाई कम आँक्न मिल्दैन । तर, सार्कका नाममा अनियमितताबारे छानविन हुनै पर्छ र यसक्रममा भएको खर्चको यथार्थ विवरण सरकारले जनतासमक्ष सार्वजनिक गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment