Comments Add Comment

क्षयरोगका कारण नेपालमा वर्षेनी ७ हजारको मृत्यु

१३ मंसिर, काठमाडौ । शनिबार ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइँदैछ । ‘समाजलाई क्षयरोग मुक्त बनाऔं, यसमा सबैले प्रतिबद्धता जनाऔं’ भन्ने नाराका साथ कार्यक्रम गरी क्षयरोगसम्बन्धी काम गर्ने संघ संस्थाहरुले यो दिवस मनाइरहेका छन् ।

नेपालमा नेपाल क्षयरोग निवारण केन्द्र स्थापना भएको दिनको सम्झनामा क्षयरोग दिवस मनाउने गरिन्छ ।

वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु

सरकारी तथ्याङ्कअनुसार नेपालमा वर्षेनी पाँचदेखि सात हजार क्षयरोगीको ज्यान जाने गरेको छ । अहिले नेपालमा झण्डै ८० हजार क्षयरोगी मध्ये ४० हजार सर्ने खालको रहेको राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

क्षयरोग नियन्त्रणको लागि भन्दै सरकारले देशैभर प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन कार्यक्रम (डट्स) सेवा सञ्चालन गर्दै आएको छ । तर देशैभर सञ्चालित भनिएका त्यस्ता डट्स केन्द्रहरु सक्रिय छैनन् भने कतिपय बन्द अवस्थामा छ ।

डट्स सेन्टर चलाइरहेको भन्दै काठमाडौ उपत्यकाकै थुप्रै मेडिकल पसलहरुले भत्ता समेत बुझिरहेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रले डट्स सेन्टरको अनुगमन गरेको छैन भने वर्षौअघिको क्यालेण्डरमा नक्सा हेरेर विरामीलाई औषधी सेवनका सिफारिस गरिदा विरामीहरुले सास्ती ब्यहोर्ने गरेका छन् ।

राम्रा छैनन् अस्पताल

नेपालमा क्षयरोग (टीबी) रोगको उपचारका लागि दर्जनौं अस्पतालहरु सञ्चालित छन् । क्षयरोग निवारण तथा जनचेतना फैलाउने उद्देश्यले दर्जनौं संघ/संस्थाहरु क्रियाशील छन् । तर, क्षयरोगसम्बन्धी उपचारका लागि खोलिएका त्यस्ता क्षयरोग अस्पतालहरु केवल नाम मात्रैका छन् ।

नेपालको कुल जनसंख्याको ४५ प्रतिशत नागरिकमा क्षयरोगको संक्रमण रहेको र ४० हजार क्षयरोगको संक्रमण देखिएका विरामीहरु भेटिने गरेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार वर्षेनी २० हजार नयाँ क्षयरोग संक्रमितहरु भेटिएका छन् । विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएस एडलगायतका संस्थाहरुले नेपालमा क्षयरोग लगायतका स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् ।

त्यस्तै, जर्मन, जापान, फ्रान्स लगायतका विश्वका शक्ति राष्ट्रहरुद्वारा सञ्चालित आइएनजीओहरुले नेपालका स्वास्थ्य क्षेत्रहरुमा लगानी गरिरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्न भन्दै जिल्ला जिल्लामा गैरसरकारी संस्थाहरु दर्ता भएका छन् । तर एनजीओका रुपमा दर्ता भएका ती संस्थाहरुले भने विदेशी डलरमा मोजमस्ती गरिरहेका छन् ।

विपन्न वर्गका नेपालीहरुको रोग देखाएर ती संस्थाहरुले विदेशी डलर मात्र होइन, स्वास्थ्य क्षेत्रमा काम गर्ने भन्दै नेपाल सरकारले समेत त्यस्ता संस्थाहरुलाई अनुदान समेत दिइरहेको छ ।

चेस्ट अस्पतालमा एक्सरे मेसिन छैन

काठमाडौको कालीमाटीस्थित जर्मन नेपाल टीबी प्रोजेक्ट (जेनेटप) को नामले सञ्चालित नेपाल क्षयरोग निवारण संस्था चेष्ट अस्पतालमा महिनौ अघिदेखि एक्सरेको काम हुँदैन ।

क्षयरोग निवारणका लागि जर्मन परियोजनाबाट अनुदान लिएर चलेको यो अस्पतालमा निजी अस्पतालहरुले मात्र होइन, भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रले समेत विरामीहरुलाई सोही अस्पतालमा रिफर गर्ने गरेको छ ।
खासगरी क्षयरोगको आशंका लागेमा परीक्षणका लागि जेनेटप उच्च प्रविधियुक्त अस्पताल भन्ने राष्ट्रिय क्षयरोग केन्द्रको बुझाइ छ । अन्य नाम चलेका निजी अस्पतालहरुले पनि क्षयरोगका आशंका लागेका विरामीलाई थप उपचारका लागि भन्दै जेनेटपमा नै रेफर गर्छन् ।

‘चेष्ट अस्पताल भएकाले एक्सरेका लागि र एफबी कल्चरका लागि यो अस्पतालमा आउने गर्छन,’ अस्पतालकै एक कर्मचारीले भने, अन्य उच्च प्रविधि त होइन, एक्सरे मेसिनसमेत विगि्रएको महिनौ भइसक्यो ।’

राष्ट्रिय क्षयरोग निवारण संस्थाद्वारा सञ्चालित टेनेटप नामले चिनिने चेष्ट अस्पतालमा उपचारका लागि आएका विरामीहरुलाई अस्पतालले नजिकैको ज्योति अस्पतालमा पठाउने गर्छ ।

गतसाता जेनेटपमा उपचार गर्न आएका एक बिरामीलाई एक्सरे गर्न भनी ज्योति अस्पताल पठाइयो । निःशुल्क उपचार हुने भन्दै जेनेटप पठाएका उनलाई निजी अस्पतालमा एक्सरे गर्न पठाएपछि भने उनी उपचार नै नगरी फर्किए ।

क्षयरोग परीक्षण गर्ने उच्च प्रविधिहरु काम नलाग्ने भए पनि अस्पताल प्रशासनलाई भने कुनै चासो छैन । ‘विदेशी अनुदान आएकै छ, किन चाहियो र प्रविधिहरु ?’ एक कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment