Comments Add Comment

तपाईलाई कति दिनमा देखाइदिनुपर्‍यो ?

Biblab

स्थान- राष्ट्रिय नाचघर । कार्यक्रमचाँहि कुनै नाटक नभएर गम्भीर राजनीतिक मुद्दामा केन्द्रित थियो ।

तर, सोमबार नाचघरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता नेत्रविक्रम चन्दले पत्रकारबाट सोधिएका गम्भीर प्रश्नहरुको जवाफ हाँसो र ठट्यौली पारामै फर्काए ।

नाचगान गर्ने थलोमा सैयौं दर्शकको उपस्थितिवीच विप्लव र विभिन्न पत्रकारवीच चलेको प्रश्नोत्तरको झाँकी यस्तो थियो-

तपाईलाई दक्षिणपन्थी अवसरवाद उन्मुख नेता भन्ने आरोप छ नि ?

– दक्षिणपन्थी के वादी भन्ने छ भन्ने सुनियो । मैले त राम्रासँग हेर्न पनि पाएको छैन । मैले के भनेको छु भने किरण दाइ, बादल कमरेडहरु इतिहासको सम्मानित व्यक्तित्वहरु हो । तर, समय बलबान हुन्छ । लेनिनले भन्नुहुन्थ्यो, हिजो त क्रान्ति हुन सक्थ्यो तर, आज हुँदैन । अक्टोबर क्रान्तिमा भन्नुभो, आज हुनसक्छ, भोलि सक्दैन । जो नेताले त्यसलाई बुझ्न सक्छ, त्यसले लगाएको आरोप ठिकै हुन्छ । जसले त्यो बुझ्नै सक्दैन, त्यसले लगाएको आरोपको अर्थ छैन ।

तपाईको विज्ञप्तिमा हाम्रा मुद्दा यी हुन्, सुनुवाइ होस् भन्ने जस्तो छ । तर, भाषण भने आक्रामक गर्नु भो । सर्वपक्षीय राजनीतिक सभाको माग गर्नुभएको छ । सम्भवतः यो माग सडकबाट वा सदनबाटै दबाव दिएपछि पूरा होला । सडकमा जाने प्रष्ट छैन । मूलधारको राजनीतिमा पनि हुनुुहुन्न । आफ्ना माग कसरी पूरा गराउनुहुन्छ ?

– हामीले प्रस्तावमार्फत नै अघि सारेका छौं कि संघर्षको स्वरुप जनताको जनादेशअनुसार नै अगाडि जान्छ । मैले पहिले पनि भनेँ कि संघर्षको कुनै सीमा हुँदैन । यति कुरा बुझि्राख्नुस् । संघर्ष हुँदैन, भइसक्यो भने त्यसको सीमा हुँदैन । रत्नपार्कमा गएर मसाल बालेर घर गएर सुत्ने कुरा मात्र हुन्छ कि हुन्न भन्न सकिन्न । त्यो राज्यको रबैयामा भरपर्छ ।

जहाँसम्म आक्रमक हुनुभो, यही टेबलबाट हुँदैन र ? भन्ने छ, हामीले भनेका छौं हुनसक्छ । तर, टुप्पीपुप्पीमा हिँड्ने वार्ताको कुनै औचित्य छैन । रिसोर्ट र होटल धाउने अनि २/४ हजार सिध्याएर मस्त मीठो मीठो खाने वार्ताको औचित्य छैन । एउटा सुकुम्बासीको जीवनबारे वार्ता चाहिन्छ । हामी त्यसका लागि तयार छौं । नेपाली जनताको जीवनसँग जोडिएको विषयमा वार्ता होस् ।

प्रचण्डले शान्ति प्रक्रियाको हिरो गिरिजाप्रसाद हुन् भनेका छन् । तर, तपाईहरुले फसाइयो भन्नु भो । गिरिजाप्रसाद हिरो हुन् कि भिलेन ?

माओवादीसँग विश्वासका साथ काम गर्दा उहाँ हिरो नै हो । तर, माओवादीलाई कांग्रेस फसाएर एक्लै जान खोजेको छ, त्यहाँ गएपछि जिरो नै हुने निश्चित छ ।

(हलमा हाँसो …) त्यो कुरा हो । कांग्रेस एक्लै जान सक्दैन । मैले अघि पनि भनंे कांग्रेस माओवादीसँग बाँधिएको छ । माओवादीसँग बाँधिनुको अर्थ नेपाली जनतासँग बाँधिनु पनि हो । नेपालका युद्धका प्रस्तावसँग बाँधिनु हो । त्यसलाई छाडेर कांग्रेस एक्लै जान खोजेको छ, त्यो सम्भव छैन ।

तपाईले आज बन्दुकको जवाफ बन्दुकले दिन तयार छौं भन्ने प्रष्ट संकेत गर्नुभयो । तर, एकीकृत क्रान्तिको दस्तावेजमा अबको क्रान्तिको आधार मध्यमवर्गीय जनतालाई गोलवद्ध गरेर अघि बढाउने भन्नुभएको छ । तर, मध्यम वर्ग जोखिम लिन डराउने र अवसर खोज्ने खालको हुन्छ । यसमा मध्यमवर्ग कसरी क्रान्तिको आधार बन्न सक्छ ?

– यो सही कुरा हो । हामीले भनेका छौं कि अबको क्रान्तिमा मजदुर किसानसँगै मध्यमवर्गको सहभागिता अनिवार्य छ । यो तपाईले भनेको जस्तो ढुलमुल पनि हुन्छ तर, प्रतिक्रियावादी वर्ग होइन । सत्तासँग मिलेर जनतालाई दमन गर्ने होइन, बरु प्रगति र अग्रगमनको पक्षमा आउने वर्ग हो । त्यसैले इन्जिनियर, डाक्टर, वकिल, व्यापारी मध्यमवर्गका मान्छेहरु सबैलाई क्रान्तिको घनिष्ठ मित्रशक्तिका रुपमा लिनुपर्छ । बाँकी तपाईको भनेको जस्तो बन्दुक नै बोक्न आउँछ कि आउँदैन भन्नेमा हामीले बन्दुक बोकीहाल्ने कुरा गरेका छैनौं । हाहाहा… हाम्रो काँधमा बन्दुक छैन । त्यसैले आजैबाट मध्यमवर्गका साथीहरु तर्सिएर ओहो ! भन्ने नबनाइदिनुस् ।

बन्दुक भनेको साधन हो । जुन तपाई सत्तासँग असन्तुष्ट हुनुहुन्छ र प्रतिवाद गर्नुहुन्छ । त्यो पनि बन्दुकजस्तै कुरा हो । त्यो बन्दुक भन्दा कमजोर होइन । भौतिक वस्तु त कहिले काँही प्रयोग हुन पनि सक्छ । नहुन पनि सक्छ । त्यसैले मध्यम वर्ग आजको क्रान्तिको घनिष्ठ मित्र हो ।

तपाईले शान्ति प्रक्रियापछि कांग्रेस र एमालेलाई देख्नुभएको छ । बढी दोषी माओवादीका नेताहरु होइनन् ?

– कांग्रेस, एमालेका केही साथीहरुलाई भेट्दा के भन्नुहुन्छ भने तपाईहरुले भनेको त ठीकै हो तर, प्रचण्ड बाबुराम लड्नै सकेनन् भन्छन् । हाम्रो भनाइ के भने प्रचण्ड र बाबुरामले लड्ने नलड्नेसँग माओवादीको के सरोकार । नेता हुँदा लड्नुपर्छ सही हो । तर, उनी लडेनन्, त्यसैले सबै हसुर्दिउँ र खाइदिइहालौं भनेर कांग्रेस र एमालेले पनि सोच्नु भएन ।

हाहाहा…. (हलमा फेरि हाँसो गुन्जियो )

यहाँ त जनता छन् । माओवादी भनेको व्यक्ति मात्र होइन । प्रवृत्ति हो । धारा हो । जो एकछाक खान नपाउनेदेखि नेपाललाई माया गर्नेहरुको धारा हो । तपाईले २/४ जना नेतालाई त किनिहालियो, तानिहालियो अब जे गरे पनि हुन्छ भनेर सिंगै माओवादीसँग व्यवहार गर्न खोज्नु भो भने अर्को माओवादी चिहानबाट उठेर आउँछ । यो हाम्रो हकमा पनि हो । हामीले गल्ती गर्‍यौं भने नेपालको माओवादी आन्दोलन यहीँ सिद्धिन्छ भन्ने होइन ।

सत्ता साझेदारीको कुरा गर्नुभएको छ । कस्तो सत्ता साझेदारी खोज्नु भएको हो ?

यही भने वापत मलाई पार्टीमा आलोचना पनि हुन्छ । कहिले भनिदे भन्ने पनि आउँछ । यो .. (हाँस्दै) दुईवटै हुन्छ । यो कुरा पालुङटारमा भनिएको हो । विद्रोहमा दुबैको अस्तित्व स्वीकार नगरेसम्म सहमति नै हुँदैन । शान्ति प्रक्रिया नै हुँदैन । राज्यमा हामी दुबै बराबर हो भनेपछि मात्र हुन्छ । त्यो स्वीकार गर्ने भनेको मान्छेलाई होइन । त्यसको सहभागिता र राज्यमा खेल्ने भूमिका भनेको हो ।

साझेदारी भनेको विद्रोही पक्षले पनि त्यतिकै अधिकार पाउनुपर्छ जति राज्य पक्षले पाउँछ । त्यो नीति निर्माण गर्ने ठाउँमा, अनुगमन गर्ने ठाउँमा । समग्र क्षेत्रमा बराबर अधिकार पायो भने त्यो शान्ति प्रक्रिया सफल हुन्छ । संसारको नियम यही हो । एउटाले अर्कोलाई खाइदिन्छु, सिध्याइदिन्छु भनेर सोचियो भने त्यो कहिल्यै सफल हुँदैन ।

माओवादीलाई वार्तामा ल्याइयो, तर, कार्यान्वयनमा जाँदा एक्ल्याउने काम भएको छ । यो सहअस्तित्व र सहकार्यको सिद्धान्त विपरीत छ । यो माओवादीले कदापी मान्न सक्दैन ।

हामीले प्रस्ताव गरेको के हो भने समग्र शान्ति प्रक्रियाको समीक्षा हुनुपर्छ । माओवादीसँग सेना थियो, सत्ता थियो । माओवादीसँग प्रशासन नियो र अदालत थियो । यो कुरालाई पहिला सहमतिमा आउने फोर्सले स्वीकार गर्नुपर्छ ।

अहिले त छैन भन्ने हो भने म भन्छु कति दिनमा तपाईलाई देखाइदिनुपर्‍यो ? हामी तयार नै छौं ।

सहमति र साझेदारीबाट नजाने पुरानै कानुन अदालत हाम्रो टाउकोमाथि थोपर्छौं, मान, घोडा बन भन्ने हो भने घोडा बन्ने त कुरै छैन, मालिक बन्नेलाई खाँदिन्छ । त्यो मानिँदैन ।

अर्को चर्चा पनि छ विप्लवले दुई चार दिन डाङडुङ पार्न । वार्ता गर्ने र सत्तामा जाने भन्ने छ । अहिले तपाईहरुले सोध्नु नै हुन्छ होला । तर, त्यो किमार्थ होइन । यो देशमा हुने हरेक छलफलले नेताको कुरा होइन, जनताको एजेण्डा लिएर जानुपर्छ । यसमा तपाईहरु ढुक्क भए हुन्छ ।

कम्युनिष्टहरुले बन्दुक खोसेर विद्रोह गर्ने हो । तर, विप्लवसँग लुकाइएका बन्दुक छन्, त्यसले क्रान्ति गर्न सक्दैन भन्ने पनि सुनियो । तपाईसँग लुकाइएका बन्दुक कति छन् ?

– बन्दुक कति लुकाको छस् भन्दा यो कुरा प्रचण्डलाई सोध्नुपर्छ । (हाँस्दै) … प्रचण्डजीले के भन्नुभएको छ भने सबै बन्दुक बुझाइक्यौं । त्यसकारण यो प्रश्न मलाई सोध्ने होइन ।

तर, बन्दुक छ कि छैन भन्दा यहाँ (टाउकोमा देखाउँदै) बन्दुक भयो भने जतिखेर पनि बन्दुक आउँछ । यो कुरा के ठान्नु होला भने मान्छेको दिमागमा बन्दुक चढ्यो भने जतिखेर पनि आइपुग्छ । अहिलेको विश्वमा त्यसको अभाव महसुस नगर्नुस् ।

धमेन्द्र बास्तोलाले प्रधान शत्रु कांग्रेस हो भन्नुभएको छ, कम्युनिष्टका लागि प्रधान दुश्मन संघर्षको पहिलो आधार बन्छ । के तपाईहरुले कांग्रेसलाई प्रधान शत्रु घोषणा गरिसकेको हो ?

– एउटा सन्दर्भमा धर्मेन्द्र कमरेडले भन्नुभएको हो । एक हिसावले सही पनि हो । तर, हामीले के भनेका छौं भने आजको सन्दर्भमा जनताको दुश्मन दलाल पूँजीवादी राज्यसत्ता हो । यो पार्टी त्यो पार्टीभन्दा पनि कांग्रेसमा बढी देखिन्छ । बाँकी धेरै पार्टीमा यो प्रवृत्ति छ । कांग्रेसभित्र पनि सच्चा प्रजातन्त्रवादी छन् । हामीले छुट्याउनुपर्छ ।

प्रवृत्तिका हिसाबले आजको प्रधान शत्रु भनेको विदेशीको आडमा नेपाली जनतामाथि विदेशीले चाहेको व्यवस्था लाद्न चाहने प्रवृत्ति हो । त्यससँग जनताले संघर्ष गर्नुपर्छ ।

संघर्षको स्वरुप ग्रामीण हुन्छ कि कस्तो ?

– यो सबै हुन्छ । एउटा गाउँमा मात्र लड्ने, काठमाडौंमा नलड्ने वा काठमाडौंमा मात्र लड्ने, गाउँमा नलड्ने यस्तो हुँदैन । अहिलेको नेपालको सन्दर्भमा राजनीतिक निर्णयहरुबाट गाउँका जनता मात्र उत्पीडित छैनन् । संसदवादी दलहरुको निर्णय र विदेशीको उत्साहटको मारमा सहरका नागरिक पनि छन् । किसान मात्र होइन, मध्यमवर्ग पनि छन् । सबैलाई एकतावद्ध गरेर लड्ने आजको संघर्षको स्वरुप हुनेछ ।

तपाईले एकपटक आवश्यक पर्‍यो भने ‘रअ’ मात्रै के, सबैसँग उठबस गर्न तयार छौं भन्नुभएको थियो । आजकल को-कोसँग कत्तिको उठबस छ ?

– अब नेपालमा रमाइलो कुरा के छ भने जो रअ को मान्छे हुन्छ, उसले नै अरुलाई ‘रअ’को मान्छे भन्दै हिँड्छ यो बडो रमाइलो कुरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment