Comments Add Comment

क्षेत्रीबाहुनको बिरोध गर्दा लिम्बुवानलाई घाटा हुन्छ

कुमार लिङदेन,  अध्यक्ष, संघीय लिम्बुवान पार्टी, नेपाल
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले आफ्ना कार्यकर्तामा रहेको क्षेत्रीबाहुन विरोधी अतिवादी सोचले लिम्बुवान आन्दोलन र देशलाई घाटा लगाउने बताएका छन् ।

पूर्वी नेपालमा वैकल्पिक शक्तिको रुपमा लिम्बुवान पार्टीलाई हुर्काइरहेका लिङदेनले अनलाइनखबरसँगको लामो अन्तरवार्ताका क्रममा भने- ‘कुमार लिङदेनको मुखबाट यस्तो कहिल्यै निस्किएन । बाहुन हाम्रा शत्रु हुन्, क्षेत्री हाम्रा शत्रु हुन् हामीले कहिल्यै भनेनौं । बाहुनक्षेत्रीलाई सामाजिक सञ्जाल आदिमा नबुझिकन गाली गर्ने कार्यले हामीलाई ठूलो ‘हर्ट’ गरेको छ ।’

बाहुन क्षेत्री र जनजातिको रगत आपसमा मिसिइसकेको लिङदेनले बताए । ‘हामी सबै दाजुभाइ हौं । क्षेत्री बाहुन, राई लिम्बु मगर गुरुङवीच रगत नै मिसिइसकेको छ,’ उनले भने- ‘तीन पुस्तासम्म विहाबारी चलिसक्यो, मागेर बिहे हुन थालिसक्यो ।’

लिम्बुवान पार्टीमा लागेपछि लिम्बु समुदायका युवाहरुले जाँड रक्सी, चुरोट बिँडी र खैनी खान छाडेको र सुध्रन थालेको लिङदेनले बताए । काठमाडौंमा ठूला पार्टीका नेता भेट्न डेलिगेसन आएका युवानेता लिङदेनले अनलाइनखबरका लागि अरुण बरालसँग कुरा गर्दै लिम्बुवान प्राप्त नहुञ्जेल लाभको पदमा नजाने बताए । लिम्बुवान प्राप्त भएपछि मुख्यमन्त्री बन्नुको साटो राजनीति छाडेर लेखनतिर लाग्ने उनले घोषणा गरे ।
Kumar Lingden Limbu

तपाईको जन्म कहिले, कहाँ भएको हो ?

– ०२८ साल माघ १७ गते मोरंगको टाँडी गाविसमा ।

अध्ययन कहाँ गर्नुभयो ?

– तीन कक्षासम्म टाँडीमै पढें । ७ कक्षासम्म पाँचथरको लिम्बामा पढें । ८ कक्षा मोरंगको मंगलबारेमा पढें । ९ र १० ललितपुरमा पढें । आइएस्सी पाटन क्याम्पस, बीएस्सी बिराटनगर र एमएस्सी त्रिवि कीर्तिपुरबाट गरें । ०५३ सालमा फिजिक्सबाट एमएस्सी गरेको हुँ ।

राजनीति जनमुक्ति पार्टीबाट शुरु गर्नुभएको हो ?

– जनआन्दोलन ०४६ सालको बेला म पाटनमा पढ्दै थिएँ । हामी आन्दोलनमा थियौं । सागर बज्राचार्य मेरै अगाडि गोली लागेर ढल्नुभएको हो । त्यसबेला हामी १८, १९ वर्षका थियौं । त्यसपछि ठूलो परिवर्तन आउलाजस्तो हामीले सोचेका थियौैं । तर, ०४६ सालपछि जो मन्त्रिमण्डल बन्यो, त्यसपछि मन मर्‍यो । आदिवासी जनजातिका बारेमा केही भएन । त्यसपछि म राजधानी छाडेर बिराटनगरमा बीएस्सी पढ्न गएँ । त्यहाँ पुगेपछि जनमुक्ति पार्टीमा आवद्ध भएँ ।

जनमुक्ति पार्टीमा कति समय काम गर्नुभयो ?

– लामै समय रहें नि । बिराटनगरमा जनमुक्ति पार्टीको विद्याथीं संगठनबाट स्ववियु सभापतिमा लडें । कीर्तिपुरमा आएर जनजाति विद्यार्थी मञ्चको अध्यक्ष भएँ । पछि जनमुक्ति पार्टी फुट्यो । म विद्रोही गु्रपको महासचिवसम्म भएँ । फेरि गोरेबहादुर खपाङ्गीसँग पार्टी एकीकरण गरियो । फुटेका बेला मैले मोरङ क्षेत्र नं ४ र ५ बाट ०५६ सालमा चुनाव पनि लडें । पछि पाँचथरबाट सभासदको चुनाव पनि लडें ।

राजाको कदमपछि समर्थन गर्ने र नगर्नेमा विभाजित भइयो । हाम्रो भनाइचाँहि जनआन्दोलनमा जनमुक्ति पार्टीबाट नेतृत्वदायी भूमिका गरेर जाऔं भन्ने थियो । तर, नेतृत्वले अर्कै लाइन लिएपछि हामीमाथि कारवाही भयो ।

त्यसपछि ०६२ साल मंसिर २६ र २७ गते हामीले संघीय मञ्च, लिम्बुवान राज्य परिषद बनायौं । त्यसमै पनि टुटफुट भयो । तर, पनि दुनियाँले देखेको छ, मेरो नेतृत्वमा एउटा धार अघि बढ्यो । र, अहिले फेरि पार्टी एकता भएको छ र संघीय लिम्बुवान पार्टी नेपाल बनेको छ । म त्यसको अध्यक्ष छु ।

तपाईका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमा क्षेत्री बाहुनलाई काट्नुपर्छ, खेदनुपर्छ भन्ने गरेका छन् । नाक चुच्चे, एन्टेना इत्यादि भन्ने गरेका छन् । यस्ता साम्प्रदायिक कुराले लिम्वुवान आन्दोलनलाई कत्तिको फाइदा पुर्‍याएको छ ?

-हामीले यसमा सुधार ल्याउन धेरै अभ्यास गरेका छौं । तपाईले २५ वर्षदेखि देखिरहनुभएको छ, कुमार लिङदेनको मुखबाट यस्तो कहिल्यै निस्किएन । बाहुन हाम्रा शत्रु हुन्, क्षेत्री हाम्रा शत्रु हुन् हामीले कहिल्यै भनेनौं । सिस्टम हाम्रो शत्रु हो । बाहुन क्षेत्रीलाई सामाजिक सञ्जाल आदिमा नबुझिकन गाली गर्ने कार्यले हामीलाई ठूलो ‘हर्ट’ गरेको छ ।

तपाईहरुका कार्यकर्तामै यस्तो रोग छ हैन ?

– छ । यसलाई हामीले हटाउने कोसिस गरेका छौं । अहिले हामीले लिम्बुवान पार्टीमा अरु जातिहरुलाई पनि थपेर लाने हामीले कोसिस गरेका छौं । यो कुराले हामीलाई एकदमै चोट पुर्‍याउँछ । मैले त बारम्बार भन्दैछु, यो देशमा दुई तीनवटा सभ्यता छन्, एउटा आर्यन, एउटा मंगोलिनय र एउटा द्रविण सभ्यता । यो तीनवटा ‘रेस’लाई जसले मिलाएर क्षमता राख्छ, उसकै भविश्य उज्जल छ । यी सबै सभ्यताहरु हाम्रा गहना हुन् । त्यसैले हामीले यी सभ्यताहरुवीच एकता गर्न खोज्नुपर्छ । संविधानसभा सबैका हक सुनिश्चित गर्नुपर्छ । जातीय विद्वेष गर्नु हुँदैन । हामीकहाँ दुबै किसिमका अतिवादहरु छन् । बाहुनले नै सबै खानुपर्छ भन्ने सोच र पहिले बाहुनले खायो, अब हामीले खानुपर्छ भन्ने दुबै सोचहरु एकदमै गलत छन् । यस्तो सोचाइ हाम्रो आन्दोलन र देशकै लागि पनि एकमदै घातक छ । हामी सबै मिलेर अगाडि जानुको विकल्प छैन ।

हामी सबै दाजुभाइ हौं । क्षेत्री बाहुन, राई लिम्बु मगर गुरुङवीच रगत नै मिसिइसकेको छ । तीन पुस्तासम्म विहाबारी चलिसक्यो । मागेर बिहे हुन थालिसक्यो । त्यसैले हामी जातीय द्वन्द्वमा जानु हुँदैन ।

तपाई त सादगी हुनुहुन्छ, तर तपाईको लिम्बुवान आन्दोलनमा चन्दा उठाएर जनताको पैसाले वियर खाने प्रवृत्ति कत्तिको छ ? ठूला दलहरु भ्रष्टाचारले सिद्धिएका बेला तपाईहरुमा पनि त्यस्तै रोग छ भन्छन् नि ?

– यस्तो समस्या पहिले पहिले थियो । तर, म स्वयंलाई कसैले पनि भ्रष्टाचारको आरोप लगाउन सकेको छैन । यो कुरा कसैले भन्न सक्दैन । किनभने मैले पार्टीको पैसा भनेपछि प पनि छुइँन । सबै काम अर्थसचिवले गर्छन् । म भरसक कुनै पनि कार्यक्रममा फजुल खर्च नगरौं भन्ने पक्षमा छु ।

तपाईका कार्यकर्तालाई फारुतिनो गर्ने, बचत गर्ने र सादा जीवन बिताउनेबारे कत्तिको प्रशिक्षण दिने गर्नुभएको छ ? बाहुनको तुलनामा लिम्बु जातिमा अलि बढी उपभोक्तावाद छ जस्तो लाग्दैन ?

– अहिले त धेरै सुधार भएको छ । हामीले यो अभियान सुरु गरिसकेका छौं । त्यो मैबाट सुरु हुँदैछ । म फिजिक्सको विद्यार्थी, पढाउन छाडेर राजनीतिमा लागेको छु । तर, अब मैले कसरी बाँच्ने त ? मचाँहि अब लेखेर बाँच्ने । अरु साथीहरुलाई पनि विभिन्न किसिमका आर्थिक योजनामा लगाउने अहिले हामीले सुरु गर्दैछौं ।

हाम्रो पार्टीमा मेरा अगाडि हाम्रो लिम्बुवानका युवा कार्यकर्ताहरुले विशेष गरेर जाँडरक्सी, चुरोट र खैनीसम्म पनि खान हिच्किचाउँछन् । अध्यक्षले यस्तो खाँदैन भनेपछि उनीहरु डराउँछन् ।

उसोभए तपाईहरु आफ्नो लिम्बु जातिलाई सुधार गर्ने अभियानमा पनि लागिरहनुभएको छ ?

– यो आन्दोलनमा यति कुलतमा फसेका भाइहरु कमान्डर भएका छन् । उनीहरु हामीसँग आएर भावुक भएर रुन्छन् । हामी कुलतमा फसेका थियौं आज तपाईहरुको संगतले जाँड छाड्यौं, रक्सी र चुरोट बिँडी छाड्यौं भन्छन् । उनीहरुको यस्तो कुरा सुन्दा हाम्रो आँसु र्झछ । हाम्रो आन्दोलनबाट एकदमै रिर्फम भइरहेको छ ।

देशमा बढिरहेको क्रिश्चियनको प्रभावले जनजातिको धर्म संस्कृतिमा कति असर पारेको छ ?

– लिम्बुहरुमै चाँहि क्रिश्चियन बन्नेहरु कमै छन् । किनभने सिरिजंगाकै पालादेखि हाम्रो आफ्नो संस्कृति र स्वत्वको लडाइँ छ । त्यसैले लिम्बुहरुमा धर्म परिवर्तन धेरै कम छ ।

तपाईले २२ दलको कार्यक्रममा खुल्लामञ्चबाट भन्नुभएको थियो कि सिंहदरबार भत्काउनुपर्छ । किन यसो भनेको ?

– ठिकै हो । यो सिंहदरबार चाँहि भत्काउनैपर्छ । र, यसका ईंटाहरु सम्झनाका लागि पचहत्तरै जिल्लामा बाँड्नुपर्छ । अहिलेका प्रधानमन्त्री र गृहमन्त्री वामदेवलाई त दुई हजार वर्ष जेल सजायँ गर्दा पनि कमै हुन्छ ।

किन ?

– आज जनयुद्ध भन्दा बढी मान्छे बस दुर्घटनामा मरिराखेका छन्, यी सबैको ज्यान केस प्रधानमन्त्री र गृहमन्त्रीलाई लगाउनुपर्छ । सर्वोच्चमा यिनीहरुविरुद्ध मुद्दा हाल्नुपर्छ ।

एकजना बराबर ३० वर्ष जाने हो भने यिनीहरु कति वर्ष जेल जालान् ? जनयुद्धमा भन्दा बढी मान्छे मरिसक्यो । यसको जिम्मा कसले लिने ? देश एक नम्बरको गरीब भइराखेको छ । विदेशबाट गाडी ल्याएर सार्क सम्मेलन गरिन्छ । आज ३६ लाख मान्छे विदेशमा छन् । मान्छेको ज्यान भन्दा ठूलो के छ ?

म अस्थित्ववादमा विस्वास गर्छु । अस्थित्ववादले ईश्वर, स्वर्ग र नर्क भन्दा पनि मान्छेको अस्थित्वमा विश्वास गर्छ । मान्छे ठूलो कुरा हो । म त मान्छेवादी हुँ । जीवनवादी हुँ । त्यसैले यो सिंहदरबार नभत्काएसम्म परिवर्तन आउँदैन । हामी युवाहरुको त्यत्तिकै जीन्दगी जान्छ ।

यो चिजहरु प्राप्त नभइञ्जेलसम्म म समानुपातिकबाट सभासद पनि बन्दिँन । जनताले चुने भने भिन्नै कुरा हो । संविधानमा अधिकार नलेखाएसम्म म कुनै लाभको पदमा जान्न । त्यसपछि पनि मलाई धेरैले लिम्बुवानको मुख्यमन्त्री भन्छन् । तर त्यसमा मेरो रुची छैन । लडेर लिम्बुवान प्राप्त भएपछि म दुनियाँलाई अचम्म लाग्ने गरी लेखन र अध्ययनतिर लाग्छु ।

Kumar Lingden Limbu 1

तपाई कम्युनिष्ट वा कांग्रेसमा कहिल्यै लाग्नुभएन ?

– म जीवनमा कहिल्यै कम्युनिष्ट वा कांग्रेस भइँन । तर, मैले कम्युनिष्टका किताब धेरै पढें । म बेलायत जाँदा मार्क्सको चिहानमा पनि गएँ । धेरैबेर शीर झुकाएर श्रद्धा गरें । एङ्गेल्सको घरमा गएँ । त्यहाँ एकदमै चिन्तित भएँ । मार्क्सको चिहानबाट मैले नेपालमा माटो पनि लिएर आएँ ।

कांग्रेस र कम्युनिष्टमध्ये एउटा रोज्न लगायो भने तपाई कुनलाई रोज्नुहुन्छ ?

– नेपालको वामपन्थी आन्दोलनले जे भए पनि अलिकति प्रगतिशील धार नै अंगालेको छ । पछिल्लोपटक एमालेले यो धार छाडे पनि माओवादीले यसलाई ‘पिकअप’ गरेको छ । त्यसकारण जातीयता, जनजीविका र राष्ट्रियताको सवाल कम्युनिष्टहरुले अलि बढी नै पक्डिएका छन् ।

तपाई कम्युनिष्ट नबन्नुको कारण वा कम्युनिष्टको मन नपर्ने चिज चाँहि के त ?

– मन नपर्ने भन्दा पनि यसले एउटा क्लासको कुरामात्रै गर्छ । म एउटा उदाहरण दिन्छु, मार्क्सवाद एउटा विज्ञान हो यो म मान्छु । तर, त्यही विज्ञानले के भन्छ भने दमकमा गर्मीमा रेफि्रजेरेटर चाहिन्छ, नाम्चेमा जाडोमा हिटर चाहिन्छ । नाम्चेमा रेपि|mजेरेटर चाहिँदैन । विज्ञान त हिटर पनि विज्ञान हो, रेपि|mजेरेटर पनि विज्ञान हो । माथिको तल प्रयोग हुँदैन, तलको माथि प्रयोग हुँदैन । त्यसैले मार्क्सवादप्रति मेरो केही भन्नु छैन । एउटै जाति, एउटै वर्ग भएको ठाउँमा त्यो सफलै पनि त भयो नि ।

यसमा कामूले भन्नुभएको छ, म मार्क्सवादी हुन सकिँन, किनभने मैले आफ्नो जाति, भाषा, धर्म, संस्कृति र समूदायलाई माया मार्न सकिँन । मार्क्सवादले त त्यसलाई त्याग भन्छ । मैले त्याग्न सकिँन ।

चार किसिमको गणित हुन्छ । एउटा अंकणित हो । अर्को अल्जेब्रा हो । अर्को ज्यामिती पनि गणित नै हो । अर्को अप्सनल म्याथमा टिग्नोम्याट्री हुन्छ, त्यो पनि गणित नै हो । यी चारवटा भएपछि मात्रै गणित पूर्ण हुन्छ । एउटै गणित सबैतिर हुँदैन । मार्क्स एक ठाउँमा फिट हुने हो ।

चुनाव बहिस्कार गरेको मान्छे, बैद्यको ३३ दलीय मोर्चा छाडेर प्रचण्डको २२ दलीय मोर्चामा लाग्नुको कारण के हो ?

– वैद्यजीहरुभित्र एउटा ठूलो बहस सुरु भयो । चुनाब बहिस्कार सफल हुने थियो, वैद्यजीहरुको यही कुराले असर गर्‍यो । त्यहाँ एउटा पक्ष सुरुदेखि नै सशक्त किसिमले बहिस्कार गरौं भन्ने रहेछ । अरु चाँहि नगरौं भन्ने रहेछन् । हामीले चाँहि लिम्बुवानमा मतदाता नामावलीदेखि नै विरोध सुरु गर्‍यौं । त्यही दिनदेखि गरेको भए यो चुनाबै हुने थिएन । हामी जति सिरियसली र इमान्दारितापूर्वक लाग्यौं, उहाँहरु त्यसरी लाग्नुभएन ।

वैद्यजीहरुसँग जेजति हामी रह्यौं, मलाई वैद्यजीका सबै नेताहरु एकदमै राम्रो लाग्छ । हामीले पनि त्यहाँ रहँदा अत्यन्त इमान्दारितापूर्वक भूमिका निभायौं । उहाँहरुले पनि हामीलाई केही भन्न पाउनुहुन्न । कत्रा कत्रा प्रलोभन आउँदा पनि हामी डग्मगाएनौं ।

अहिले चुनाव लड्ने र नलड्ने दुईखाले लिम्बुवान पार्टीहरु एक भएपछि बदलिएको परिस्थितिमा हामी फेरि यता गएका छौं । प्रचण्ड पक्षले पनि आवश्यक परे संसदमा ‘वाक ओभर’ दिने भन्ने सम्मको कुरा छ ।

लिम्बुवानका नेताले भर्खरै प्रचण्डलाई भेट्नुभएको छ । त्यहाँ २२ दलीय मोर्चाले राज्य पुनसंरचनाको एउटै खाका बनाउने भन्नेको सुनियो । यो के हो ?

– प्रयास गर्ने भन्ने हो ।

तपाईहरुले झापा मोरङ र सुनसरीलाई पनि मिलाएर अरुण पूर्वका ९ जिल्लाको लिम्बुवान हुनुपर्ने भन्दै आउनुभएको छ । २२ दलीय मोर्चामै रहेका मधेसवादी दलहरुले तराईलाई टुक्राउ पाइन्न भनिरहेका छन् । तपाईहरु पूर्वी तराई मधेस प्रदेशलाई छाडिदिन तयार हुनुहुन्छ ?

– अहिलेसम्म २२ दलमा अरु अरु विषयउमा मात्रै छलफल भएको छ, यो विषयमा छलफल भएको छैन । तर, हामी ९ जिल्लालाई लिम्बुवानमा चित्त बुझाउन सक्छौं भन्ने तयारीका साथ, सामा सरदामका साथ बसेका छौं । र, यस विषयमा अब बहस गर्ने पक्षमा छौं ।

यसमा प्रचण्डको भनाइ के छ ?

– प्रचण्डजीले के भन्नुभयो भने लिम्बुवान कुनै पनि हालतमा हुन्छ । हुन्छ हुन्छ हुन्छ । नभई हुँदैन । त्यहाँको भूगोल एउटा स्पेसल रहेछ । त्यहाँको सीमानाका बारेमा चाँहि तपाईहरुले आफैं पनि भूमिका खेल्नुपर्छ है ।

कुरा सही हो । संखुवासभालाई सभा खोलादेखि टुक्राइँदा टुक्राउनु हुँदैन भनेर आफैं आन्दोलन उठ्यो । हामीले केही गर्नै परेन, हेरीमात्रै रह्यौं । संखुवासभा टुक्राउन पाइँदैन भनेर विशाल आन्दोलन उठ्यो । धनकुटामा पनि त्यस्तै उठ्छ । हेर्दै जानोस् अब झापा, मोरङ, सुनसरीमा पनि उठ्छ ।

अहिले सिके राउतले एउटा किताव लेख्दा के भनेका छन् भने कोशीदेखि राप्ती नदीवीचको भूभागलाई मधेस भनेर लेखेका छन् । कोशी पूर्वको भूभागको इतिहास अर्कै नै हो क्या वास्तवमा ।

मधेसवादीहरुसँग त यसबारे २२ दलमा तपाईहरुको विवाद पर्ने देखियो, तर एमाओवादीसँग कुरो मिल्छ ?

– उहाँहरुको भनाइ भूगोलको विषय तपाईहरुले नै मिलाउनुपर्छ भन्ने छ । यो कुरा सही हो । झापा मोरङ र सुनसरीमा देशकै सचेत जनता बसेका छन् । यिनै सरोकारवालाले मिलाउनु पर्ने कुरा हो यो । अब काठमाडौंको डेलिगेसन सकिएपछि अब हामी त्यहाँका जनता र नागरिक समाजसँग यस विषयमा घनिभूत रुपमा छलफल गर्छौं ।

काठमाडौंमा डेलिगेसन आउनुभएको रहेछ, प्रचण्डबाहेक क-कसलाई भेट्नुभयो ?

प्रचण्ड, पदमरत्न तुलाधर, बाबुराम भट्टराई, सुवास नेम्वाङ र प्रधानमन्त्रीलाई भेट्यौं । ओलीजीबाट हामीलाई कुनै रेस्पोन्स आएन ।

तपाईहरुले लिम्बुवानमा एकीकृत पार्टी त बनाउनुभयो, तर प्रचण्डसँग सहकार्य गर्ने विषयमै विवाद छ रे नि ? पाँचथरको २२ दलीय सभामा सर्वोच्च नेताहरु नै गएनन् किन ?

– दसैंको बेला थियो, असोज १९/२० गते नै २२ दलीय मोर्चामा निर्णय दिनुपर्ने भएकाले सबै साथीहरुसँग छलफल गर्नै पाइएन । तर, यो विषयमा अहिले हामीवीच कुनै असमझदारी छैन ।

तपाई पार्टीमा अलि आफ्नै ढंगले, मनोगत हिसाबले चल्नुहुन्छ रे नि ?

– सही कुरामा सबै बहुमत एकातिर भए पनि म मान्दिँन । म अहिले पनि भन्छु, लिम्बुवानको विरुद्धमा, प्रगतिशील पक्षको विरुद्धमा मेरो पार्टीको ५ सय प्रतिशत एकातिर गए पनि म त्यो कुरा मान्दिँन ।

भनेपछि त पार्टीमा तपाईले भनेकै कुरो लागु हुनुपर्ने रहेछ हैन ?

– हैन । जुन सही र सत्य लाइन हुन्छ, यसमा कुमार लिङदेनको हठ भनौं, या उसको निरंकुशता भनौं, यसैले गर्दा यो आन्दोलन यहाँसम्म जोगिएर आएको हो ।

तर, तपाईभन्दा अग्रज सुब्बाहरु आफूलाई अलि सम्मान पनि त खोज्छन् नि हैन र ? यस्तोमा सहमति खोज्न कत्तिको गाह्रो हुन्छ ?

– लिम्बुहरु एकखालको स्वभावका मान्छेहरु हुन् । तपाईले ठीकै भन्नुभयो । चित्त बुझ्यो भने शरीरै काटेर दिने, चित्त बुझेन भने कसैलाई पनि नटेर्ने बानी छ । तर, हामी राजनीतिक पार्टीमा रहिसकेको हुनाले अहिले संक्रमणकालीन अवस्था छ ।

तपाई आलोचना पटक्कै रुचाउनुहुन्न रे नि ?

– मनपर्छ । तर फेसबुककै कुरा गरौं न, कोही अतिवादी क्षेत्री बाहुन साथीहरुले तथानाम गाली गरेपछि अर्कोले पनि त्यसैगरी सुरु गर्छ । यसले चाँहि अलिकति सदभाव बिग्रिन्छ कि जस्तो लाग्छ र म प्रतिक्रिया दिन्न । किनभने कुमार लिङदेन आज व्यक्तिमात्रै छैन । रचनात्मक आलोचना हुनु त राम्रै हो नि ।

तपाई एकपटक माओवादीमा लाग्न खोज्नुभएको थियो रे नि ?

– म हुन सकिँन । मैले पहिल्यै पनि भनेको थिएँ, जनयुद्धको सुरुमै यो आन्दोलन संघीय, गणतान्त्रिक र लोकतान्त्रिक पनि हुनेछ भनिएको भए यति ठूलो क्षति हुँदैनथ्यो कि ? यसमा दलहरु पनि हुनेछन् भनिएको भए सबै मान्छे जान्थे नि त । जनवादका लागि भनियो अनि अरु दललाई पनि छिमलियो । मैले त्यतिखेरै लेखेको थिएँ, माओवादभन्दा पनि बरु प्रचण्डवाद आयो भने हामी सोच्न सक्छौं भनेको थिएँ । किनभने ३०/३० वर्षसम्म एउटा दलको निरंकुशतामा बसेको मान्छे माओवादी हुन सक्दैनथ्यो । जस्तै म हुन सकिँन । म डराएर नभएको हैन ।

तपाईको परिवार कस्तो हो ? लाहुरे हो कि ?

– मेरो परिवार पहिले सुब्बा हो । विशेष म मावलमा हुर्किएँ । मावलीहरु लावती हुन् । बाजे मानबहादुर लावतीलाई १०/२० गाविसले देउतैजत्तिको मान्थ्यो ।

विवाह गर्नुभएको छ कि छैन ?

– म सिंगलै छु । बिहे नै नगरी लाग्छु भन्ने हैन । तर, आउँदा आउँदै विवाह गर्ने योजना बनेन । मैले यति धेरै नेतृत्व गर्नुपर्ला भन्ने सोचेको पनि थिइँन ।

तपाई कवि पनि हो ?

मैले आधा चन्द्रमा लेखेको छु । नलेखिएका कथाहरु अर्को किताब छ । यो दुईपल्ट गरेर ४ हजार छापिइसक्यो । लिम्बुवानको युवा पुस्ताले धेरै पढेको किताव हो यो । त्यसमा मेरा २० वटा कथा छन् ।

यसरी नेता हुँला भन्ने कहिल्यै सोचिएको थियो ?

– अहिले पनि म राजनीति गर्दैछु भन्ने सम्झँदा मलाई न्यास्रो लाग्छ । हातखुट्टा जम्मै गल्छन् । तर, जब म एउटा जीवनको मिसनमा छु भन्ने सम्झन्छु, अनि सन्तोष लाग्छ ।

धेरैले मलाई भने, समानुपातिक सभासदमा जानुपर्छ । मै अध्यक्ष थिएँ, मलाई कसैले रोक्न सक्ने थिएन । मन्त्री हुने प्रस्ताव आयो, मैले त्यसलाई पनि अस्वीकार गरें । मेरो लडाइँ भनेको राज्य पुनसंरचना । संविधानमा हाम्रो अधिकार लेख्नु । मैले सबै साथीहरुलाई भनेको छु, लिम्बुवान प्राप्न नभइञ्जेल म दह्रोसँग नेतृत्व गर्छु, यो आन्दोलनलाई म हल्लिन दिन्न । र, लिम्बुवान प्राप्तिपछि म अध्यक्ष पद छाड्छु भनेको छु ।

मान्छेले कुमार लिङदेन पार्टीमा निरंकुश भयो भन्ने आरोप लगाउँछन् । वास्तवमा त्यस्तो होइन । मलाई एकदमै लेख्न मन पर्छ । मलाई सक्रिय राजनीतिबाट मुक्त भएर अध्यन अनुसन्धान र लेखनमा लाग्न असाध्यै मन छ । अहिले पनि मेरो दिमागमा १० वटा किताबका प्लटहरु घुमिराखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment