Comments Add Comment

उड्डयन क्षेत्र कालोसूचीमा पर्दा म त बर्बादै भएँ

Banbari-Lal-Mittal-final-(1)

बनवारीलाल मित्तल, अध्यक्ष- श्री एयरलाइन्स

माडवारी समुदायमा जन्मिएका बनवारीलाल मित्तलको पुख्र्यौली व्यवसाय हो ठेक्कापट्टा, आयात निर्यात र कपडा व्यापार । तर, उनी अहिले जमिरहेका छन् हेलिकोप्टर व्यवसायमा ।

मुलुककै सबैभन्दा धेरै हेलिकोप्टरसहित सेवा दिइरहेको श्री एयरलाइन्सका सञ्चालक रहेका मित्तल १५ वर्ष अगाडी आफूले कहिल्यै नगरेको व्यवसायमा प्रवेश गरे ।  ५० को दशकमा काठमाण्डौंमा एउटा बेल्जियन व्यवसायीसँग भेट नभएको भए सायद उनी यो व्यवसायमा छिर्दैन थिए होला । बलियो इच्छाशक्तिलाई आफ्नो सफलताको एक मात्र आधार मान्ने ७८ बर्षीय मित्तल यतिबेला आफ्ना सबै पुराना व्यवसायलाई किनारा लगाएर उड्डयन क्षेत्रमा जम्ने कोसिस गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि सुडानमा समेत नेपाली हेलिकोप्टर उडाएका मित्तल नेपाली उड्डयन क्षेत्रलाई युरोपेली युनियनले कालो सूचीमा राखेपछि पिडीत बनेको बताउँछन् । नेपालमा हेलिकोप्टर व्यवसायको अबस्था र चुनौतीका बिषयमा अनलाइनखबरका लागि नविन अर्यालले मित्तलसँग गरेको कुराकानी :

नयाँ-नयाँ हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरु थपिइरहेका छन र प्रतिस्पर्धा पनि बढ्दो छ । यस्तो अबस्थामा तपाईहरुले निरन्तर हेलिकोप्टरको संख्या थपिरहनुभएको छ के नेपालमा हेलिकोप्टरको बजार बढेको हो ?

हेलिकोप्टर व्यवसाय हाम्रो खानदानी व्यवसाय हैन । म विल्कुलै नजानेको व्यवसायमा प्रवेश गरेको हुँ । हाम्रो सोच जुन व्यवसाय सुरु गरियो त्यसलाई ठूलो बनाउने हो ।

मैले हेलिकोप्टर सञ्चालन गर्दा नेपालका पहाडी तथा हिमाली क्षेत्रमा यातायातको सहज पहुँच थिएन । त्यतिबेला दुर्गम पहाडी र हिमाली क्षेत्रमा खाद्यन्नको अभाव हुने, त्यहाँको खाद्यन्न पुर्‍याउन हेलिकोप्टर ठूलो सहायक बन्दोरहेछ । त्यसैले मैले ठूलो हेलिकोप्टरबाट व्यवसायमा प्रवेश गरेको हुँ ।

अहिले त अधिकांश स्थानमा यातायात पुगिसकेको छ । खाद्यन्न हेलिकोप्टरबाट बोक्नुपर्ने अवस्था धेरै कम भइसकेको छ । तर, दुर्गम क्षेत्रमा अझै पनि सुविधायूक्त अस्पताल नहुँदा अझै पनि हेलिकोप्टरले बिरामी ओसार्ने काम गरिरहनुपर्छ ।

हेलिकोप्टर व्यवसाय यस्तो व्यवसाय रहेछ, जसबाट सेवा पनि दिइने, त्यसबाट पैसा पनि पाइने । यही कारण मलाई हेलिकोप्टर व्यवसाय निकै मन पर्‍यो । त्यसैले यो व्यवसाय विस्तारमा मैले धेरै ध्यान दिइरहेको छु ।

नेपालमा हेलिकोप्टरको ठूलो व्यवसायिक सम्भावना छ । हेलिकोप्टरबाट खाद्यन्न बोक्ने काम घटे पनि पर्यटक बोक्ने काम बढिरहेको छ । अप्ठ्यारोमा परेका पर्यटकलाई उद्धार गर्ने होस् वा साइट सीन देखाउन होस् वा बिरामी ओसार्न होस्, हेलिकोप्टरको प्रयोग बढ्दो छ ।

नेपालमा पर्यटनको ठूलो सम्भावना छ । पर्यटन क्षेत्रमा हेलिकोप्टर अपरिहार्य छ । धार्मिक पर्यटक आगमन बढ्दै गइरहेको छ । नेपालका प्रशिद्ध धार्मिक स्थलहरुमा जान पनि हेलिकोप्टर नै आवश्यकता पर्छ ।

तपाईसँग अहिले कति हेलिकोप्टर छन् ?

पर्यटक तथा बिरामीलाई स्तरीय तथा सस्तो सेवा उपलब्ध गराउन सानो जहाज उपयुक्त हुने हुँदा मैले ५ वटा हेलिकोप्टर ल्याउने सम्झौता गरेको थिएँ । जसअनुसार तीनवटा आइसकेका छन् । अहिले श्रीसँग साना ठूला गरी ९ वटा हेलिकोप्टर पुगेका छन् । आवश्यकता अनुसार अझै थप गर्दै जाने हाम्रो योजना छ ।

तपाईको कुरा सुन्दा यो व्यवसायले राम्रै प्रगति गरिरहेको आभास हुन्छ । तर, यही व्यवसायमा लागेर टाट पल्टिनेहरुको संख्या पनि धेरै छ नि ?

मैले धेरै मुनाफा हुने व्यवसाय भनेको हैन । नेपालमा हवाई सेवा सञ्चालन गर्न चाहानेहरुले टाढा हेर्न जान्नुपर्छ । यो क्षणिक वा नजिक हेरेर सुरु गर्नु हुँदैन ।

यो व्यवसायबाट नजिक हेर्दाखेरि नाफा देखिन्छ । किनभने जहाज ल्याउँदा नयाँ हुन्छ, मर्मत सम्भार गर्नुपर्दैन, राम्रोसँग चल्छ । जब नियमअनुसार हेलिकोप्टरको समानहरु फेर्न र मर्मत गर्न सकिँदैन व्यवसाय नै कोल्याप्स हुने सम्भावना हुन्छ । त्यसैले २०/२५ वर्षसम्म टाढा हेरेर प्लानिङ गर्नुपर्छ । मलाई हेलिBanbari-Lal-Mittal-final-(4)कोप्टर ल्याएपछि साथीहरुले अब नयाँ मर्सिडिज किन्नुपर्छ भन्थे । मैले त्यसो गर्नु हुँदैन भनेर पुरानै गाडीबाट काम चलाइरहेको छु ।

आज उडान गर्‍यो, एकैपटकमा १० लाख आउँछ । भोलि हेलिकोप्टरको गियरबक्स फेर्नुपर्‍यो भने एकैचोटि ५०औं लाख चाहिन्छ, इञ्जिनको मर्मत गर्नुपर्‍यो भने करोडौं रुपैयाँ चाहिन्छ । त्यो बेलामा भनेकै बेला पैसा निकाल्न सक्नुपर्छ । त्यसका लागि त अहिलेबाटै व्यवस्थापन गर्न जान्नुपर्‍यो नि ।

यही कारण हो अरु केही व्यवसायीहरु टाट पल्टिएको ?

मैले अरुलाई त्यसो त किन भनुँ ? साथीहरु टाट उल्टेका कैयौं कारण होलान् । यहाँको भौगोलिक अवस्थाले जहाज उडाउन पनि गाह्रो छ । अरुको भरमा बस्नुपर्छ । पाइलटले उडाइदिने हो, आफुले उडाउन सकिँदैन । दीर्घकालीन सोच नराख्दा आर्थिक समस्या पर्‍यो होला ।

हाम्रै साथीको देखेको छु, उसको नाफामा चल्ने बेलामा गियर बक्स मर्मतका लागि दुई/तीन करोड चाहिएको थियो, उसले निकाल्न सकेन । त्यहीकारण लामो समय थन्किएर बस्यो, जसबाट चार गुणा बढी नोक्सानी हुन पुग्यो ।

हवाइ सेवामा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । यसलाई दीगो बनाइराख्न यहाँको सुझाव के छ ?

लगानीकर्ताको आकर्षण बढ्नु पक्कै पनि राम्रो हो । जति धेरै कम्पनीहरु आउँछन्, त्यति नै धेरै प्रतिस्पर्धा बढ्दै जान्छ र उपभोक्तालाई लाभ मिल्छ । बजार बढाउन  पनि मद्दत गर्छ । जो सक्षम छ, उ टिक्छ, जो सबैभन्दा कमजोर छ, उ आउट हुन्छ ।

यसमा दीर्घकालीन सोचसहितको मजबुत टिम चाहिन्छ । मैले नयाँ पाइलट राखेँ भने तीन/चारवटा कुरा पहिला नै सचेत गराउँछु ।  पहिलो, यात्रु र पाइलटको ज्यानको सुरक्षा हो । मैले कहिल्लै पनि अनावश्यक रिस्क नलेऊ भन्छु । दोस्रो, यो मेसिनको माया गर भन्छु । हामीले जुन बस्तुको कमाइ खान्छौं, त्यसलाई पूजा गर्ने वस्तु ठान्नेर जथाभावी चलाउन हुँदैन ।

मौसममाथि शंका लागेर नउडेका दिन किन उडाइनस् भनेर मैले कहिल्यै प्रश्न गर्दिँन  ।

म सेफ्टीमा कहिल्लै सम्झौता गर्दिँन । जहाजको कुनै पनि पार्टपूर्जा ६ सय घण्टापछि फेर्ने भनेको छ भने एकघण्टा पनि ढीलो गर्दिन ।
तीन सय घण्टामा तेल फेर्ने भनेको छ भने बरु २ सय ९० घण्टामा फेर्छु, तीन सय नघाउन दिन्न । यो बिगि्रएमा साइड लगाउँछु र मर्मत गर्छु भन्नलाई सडकमा गुड्ने गाडी त हैन नि । यो त बिगि्रयो भने सकिहाल्यो नि ।

मौसम र भौगोलिक अबस्थाका कारण नेपालमा हवाइ उद्यम कति जोखिमयुक्त छ ?

पक्कै छ । पाइलट पनि राम्रो छ, जहाज पनि ठीक छ, मौसम पनि अनुकुल छ भनेर उडाउँदा चराले आएर ठक्कर दियो भने जहाज जान्छ ।

अझ नेपाल हेलिकोप्टर उडाउन सबैभन्दा अप्ठ्यारो देश मध्येमा पर्छ । यहाँ पहाड, भ्याली, हिमाल नजिक नजिक रहेको हुँदा उडाउँदा समस्या पर्ने गरेको पाइलटहरु नै बताउँछन् ।

जहाज खसिहाल्यो भने पनि इन्स्योरेन्स आइहाल्छ भन्ने मानसिकता देखिन्छ, यसले पनि व्यवसायीलाई जोखिम मोल्ने हौसाला मिलेको होला, इन्स्योरेन्स कत्तिको सहयोगी हुन्छ ?

यही बाहानमा यूरोपियन यूनियनले नेपाललाई कालोसूचीमा राखेको छ, नेपालमा धेरै दुर्घटना भयो भनेर । कुनै पनि इन्स्योरेन्स कम्पनीले एउटा दुर्घटनाको दाबी भुक्तानी दियो भने उसले अर्कोपटक रेट बढाउँछ । इन्स्योरेन्स कम्पनी घाटा खान बसेको कम्पनी होइन ।

यही विषयमा एकपटक एउटा इन्स्योरेन्स कम्पनीसँग मेरो पनि लामो विवाद भएको छ । उसले मलाई सिधै भन्यो, हामी नाफा कमाउन बसेका हौं, तिमीहरुलाई इन्स्योरेन्स रकम दिएको एकैपटक नोक्सानी नपरोस भनेर हो । हामी दुई चार वर्षमा त्यो रकम तिमीहरुसँग उठाउने हो ।

अहिले भारतमा इन्स्योरेन्सको जति रेट छ, त्यो भन्दा नेपालमा ८/१० दोब्बर बढी छ । कम्पनीहरुले नेपालको रेकर्ड खराब छ त्यही भएर महंगो शुल्क लिन्छौं भन्छन् । इन्स्योरेन्सले सर्पोट गर्ने भए त उनीहरु बजारबाट आउट हुने नै थिएनन् । त्यसैले इन्स्योरेन्सको भर परेर हवाइ सेवा सञ्चालन गरेमा सफल भइँदैन ।

ठूलो हेलिकोप्टरबाट सेवा प्रदान गर्दै आइरहेको श्री एयरलाइन्स एकाएक किन सानो जहाजमा आकषिर्त भयो ?

पछिल्लो अवस्था हेर्ने हो भने सडक सञ्जालको विस्तारसँगै ठूलो जहाजको मार्केट नेपालमा छैन । एउटा ठूलो हेलिकोप्टर उडाइरहेको छु, त्यसले यदाकदा मात्र बिजनेस पाउँछ । वर्षभरि व्यस्त हुन पाउँदैन ।

ठूलो जहाजको काम खाद्यन्न र विकास निर्माणका सामाग्री बोक्ने हो । त्यससँगै मुक्तिनाथ जाने धार्मिक पर्यटक बोक्न पनि ठूलो जहाज प्रयोग हुन्थ्यो, त्यहाँ पनि बाटो बनेपछि पर्यटक गाडीबाटै जान थालेका छन् ।

अहिले हेलिकोप्टरको काम भनेको सानो-सानो पर्यटकको ग्रुपलाई सेवा दिने, रेस्क्यू गर्ने र दुर्गम भेगका स्थानीयहरुलाई सेवा दिने हुँदा यस्तो काममा सानो जहाज आवश्यक हुन्छ ।

सडकले ठूलो हेलिकोप्टरको व्यवसाय खोसिदियो भन्छन् नि ?

ठूलो हेलिकोप्टरको काम खोसिए पनि सानो हेलिकोप्टरको झन बढेको छ । सानोमा त म अझै भविष्य कहाँ देख्छु भने नेपालीहरुको क्रयशक्ति बढ्दै गइरहेको छ । नेपालीहरु पनि घुम्न जान सुरु गरेका छन् ।

Banbari-Lal-Mittal-final(2)

विदेशमा हुनेहरुको घरमा कोही बिरामी भयो भने हेलिकोप्टरबाट काठमाडौं ल्याउने गर्छन् । जसले गर्दा हेलिकोप्टर प्रयोगकर्ता बढ्दै गइरहेका छन् । रेमिट्यान्सले पनि हेलिकोप्टरको व्यवसाय बढाउन मद्दत पुर्‍याएको छ ।

हेलिकोप्टरको अबको व्यवसाय भनेको पर्यटन र रेस्क्यूमात्र हो भन्दा हुन्छ ?

हो । पर्यटन भन्ने वित्तिकै हामीले धार्मिक र साइड सिन जाने दुबैलाई सम्झनुपर्छ । पछिल्लो समय दुर्घटना बढिरहेका छन्, तिनीहरुलाई रेस्क्यू गर्ने हेलिकोप्टर नै हुन् । सुनकोशी पहिरोबाट प्रभावित हुनेदेखि हुदहुद आँधीबाट हिमाली क्षेत्रमा रोकिएका सबै पर्यटकलाई हेलिकोप्टरले उद्दार गर्‍यो ।

हेलिकोप्टरले पर्यटक उद्दार नगरेको भए नेपालको अन्तर्राष्ट्रिय जगतमा कति बदनामी हुन्थ्यो होला । श्रीले त्यतिबेला २ सय ४७ पर्यटकको उद्दार गरेको थियो । २/४ जना पर्यटकले राम्रो प्रतिक्रिया जनाएको थिए । हामीले त्यतिबेला साढे १९ हजार फिटबाट पर्यटक उठायौं ।

युएनको शान्ति मिसनमा गएका श्रीका ठूला हेलिकोप्टर ग्राउन्डेड अवस्थामा छन्, अब कहिलेदेखि सञ्चालन हुन्छन् ?

मलाई अहिले सबैभन्दा ठूलो पीडा यही हो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा अन्तर्राष्ट्रिय टेन्डर प्रतिस्पर्धा जितेर हामीले काम गरिरहेका थियौं । त्यहाँ क्वालिफाइड हुने एशियाबाट श्री एयरलाइन्समात्र थियो ।

नेपालबाट हामी छनौट भयौं, यो हाम्रोमात्र नभई राष्ट्रकै लागि गौरवको कुरा थियो । हेलिकोप्टर नेपाली झण्डामा उड्न पाउँछन् । त्यहाँ एउटा साधारण कुराले हाम्रो हेलिकोप्टर उड्नबाट बञ्चित गरियो । हाम्रो अनुबन्ध नै तोडिदिए ।

हाम्रो सरकारले प्रतिनिधि लगाई अडान लिने हो भने हेलिकोप्टर उडाउन सकिन्छ । आइकाओको सिरियस सेफि्ट कन्सर्नले उडाउन प्रतिबन्ध नै त गरेको छैन नि ।

उसले एओसी मान्यता हुँदैन त भनेको छैन । उसले सबै जहाजहरु ग्राउन्डेड गर पनि भनेको छैन र कम्पनी बन्द गर पनि भनेको छैन । त्यो हँुदाहुँदै पनि नेपाल एयरलाइन्स विदेशमा उडिरहेको छ, मञ्जुर गरिएकै छ । सरकारले पहल गरेर काम गरिदिएमा हेलिकोप्टर उड्थ्यो भन्ने मलाई लाग्छ ।

नेपालको उड्डयन क्षेत्र कालोसूचीमा परेकै कारण तपाईले यो समस्या भोग्नुभएको हो ?

मेरा लागि त यो समस्यामात्र नभएर बर्बादी नै हो । गोरुलाई पाल्नेमात्रै, जोत्न नपाउने भयो । पार्किङ भाडा तिरेर राखेको छु । कुर्नलाई आफ्नो मान्छे राख्नुपर्‍यो । इन्स्योरेन्स तिर्नुपर्‍यो । यी हेलिकोप्टरको बारेमा सोच्यो भने मलाई दुःख लाग्छ, म सम्झनै चाहान्न । सम्भिmयो भने ती जहाज भोलि नै बेच्नुपर्छ ।

सरकारले पहल गरिदियो भने उड्छ भन्नेमा विश्वस्त छु । सरकारलाई फुर्सद भयो भने यसलाई उडाउन पहल गरिदिनेछ भन्ने आशा बाँकी नै छ ।

त्यहाँ उडाउन नपाए हेलिकोप्टर नेपाल ल्याउनुहुन्छ कि के गर्ने ?

ती हेलिकोप्टरको नेपालमा कामै छैन । एउटा भएको ठूलो हेलिकोप्टरले त बिजनेस पाइरहेको छैन, यहाँ ल्याएर के गर्नु ? मिसनमा गएका हेलिकोप्टर बाहिर रजिष्ट्रर गर्दिन, नेपालमै दर्ता गरेर नेपाली झण्डा राखेर उडाउने हो । बाहिरको एओसी लियो भने त उड्न पाइहाल्छ नि ।

तपाईंले यात्रुबाहक जहाजका लागि पनि प्रकृया अगाडि बढाउनुभएको थियो, कहिलेदेखि थाल्नुहुन्छ ?

युनएनको काण्डपछि वीचमै रोकिन पुगेँ । अहिले म यात्रुबाहक जहाज उडाउने मनस्थितिमा छैन । यात्रुवाहक जहाजको प्रकृया वीचमै रोकिदिएको छु । हेलिकोप्टरलाई स्थापित गरेपछि मात्र यात्रुवाहकको प्रकृया बढाउने सोचाइमा छु ।

फेरि यात्रुबाहक सेक्टरमा बजार अलिकति फरक भएको छ । नेपाल एयरलाइन्सका जहाजहरु आउँदैछन, नयाँ कम्पनीहरु पनि थपिरहेका छन्, कतिपय थपिने क्रममा छन् । अब यात्रुवाहक जहाज सञ्चालन गर्ने विषयमा सोच्नुपर्ने भएको छ ।

नेपालमा हेलिकोप्टरको विस्तार कहाँसम्म पुग्छ जस्तो लाग्छ ?

नेपाली बजारले आकार कस्तो ल्याउँछ, त्यसमा भर पर्छ । अहिलेको मार्केट हेर्दा बढ्छ जस्तो लाग्छ । हाम्रो भूगोलले पनि हेलिकोप्टर व्यवसाय बढाउने पक्का छ । त्यसमा पनि रेमिट्यान्सले पनि नेपालीहरुको आयस्रोत बढ्दै गइरहेको छ । हिँड्नेहरु गाडी चढ्न थाले, गाडी चढ्नेहरु जहाज चढ्न थालेका छन् । जहाज चढ्नेले भोलिका दिनमा किन एयरपोर्टमा कुरेर बस्ने भनेर होलिकप्टर चढ्न खोज्लान् ।

तपाईंले आफ्नो पुराना व्यवसायहरु छाड्दै जानुभएको हो ?

अरु व्यवसायलाई साइड लगाउँदै हेलिकोप्टरमा फोकस भइरहेको छु । भोलि के हुन्छ, भन्न सक्दिँन, अहिलेको मेरो फोकस भनेको हेलिकोप्टरमात्र हो ।

मसँग के व्यवसाय गर्छु भन्ने लिष्ट छैन । तर के गर्दिन भन्ने चाहीँ लिष्ट छ । मैले जीवनमा ५/७ वटा व्यवसाय गर्दिँन । मान्छे बेच्ने काम गर्दिँन, मासु बेच्ने काम गर्दिँन, जंगल फँडानीको बिजनेश गर्दिँन, माटो पोल्ने काम गर्दिँन ।

तत्काल नयाँ क्षेत्रमा लगानी गर्ने योजना के छन् ?

राम्रो पाइयो भने अवश्य लगानी गर्छु । राम्रो हाइड्रोपावर भेटियो भने लगानी गर्न तयार छु । होटलमा सेयर थोरै-थोरै किनेको छु, अरु होटलको पनि किन्ने सोचाइ छ । तर, होटल आफै सञ्चालन गर्दिँन । म मारकाट गर्न नचाहने भएको हुँदा पनि होटल खोल्न मन नलागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment