Comments Add Comment

‘सुपर ग्लु’ टाँस्दा पनि विमानस्थलबाट टेलिफोन गायब

Birendra

बीरेन्द्रप्रसाद श्रेष्ठ, (निमित्त महाप्रबन्धक, त्रिभुवन विमानस्थल)

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या एयरपोर्टको साँघुरोपन हो । विमानस्थलमा यात्रु तथा जहाजको निकै ठूलो भीडभाड हुन थालेको छ । साँघुरो विमानस्थललाई तुरुन्त बढाउन सक्ने अवस्था देखिँदैन ।

फोहोर बढेको गुनासोबारे

अन्तरराष्ट्रिय मिडियाबाट काठमाडौं एयरपोर्ट फोहोर छ भनेर समाचार आयो । त्यो इस्यूलाई पनि अहिले हामी सम्बोधन गरिरहेका छौं । जतिबेला उहाँहरुले कमेन्ट गर्नुभएको थियो, अहिले उहाँहरुले एयरपोर्ट भ्रमण गर्नुभयो भने त्यतिबेलाका समस्या केही रुपमा हल भएको देख्न पाउनुहुनेछ ।

सरसफाइमा प्रश्न खडा गरिएको थियो, त्यसमा क्रमिक सुधार गरिरहेका छौं ।

एयरपोर्टमा ३५ मुख्य स्टेकहोल्डर छन् । सबै स्टेकहोल्डहरुको संख्या २ हजार ३७ रहेको छ । सबै स्टेक होल्डरको समस्या के हो र समाधान कसरी गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं । तत्कालै समाधान गर्न सकिने समस्याहरु तीन/चार महिनामा सम्बोधन गर्छु ।
तत्काल समाधान गर्न सकिने भनेको सरसफाइको कुरो हो । यसले पनि मुलुकको इज्जत लुट्ने काम गर्छ । सरसफाइको काम अहिले तिब्र गतिमा भइरहेको छ । समय लाग्ने भनेको कुनै इक्विपमेन्ट बिगि्रएको छ भने त्यसलाई बनाउन वा रिप्लेस गर्न हो ।

प्यासेन्जर जाने र आउने बेलामा उहाँहरुलाई सुविधा होस् भन्ने हिसाबले डिपार्चर यात्रुहरुलाई पनि एक्सालेटर राखेर फेसिलेटेड गर्न खोजेका छौं ।

अहिलेसम्म डिपार्चरमा एउटामात्र एक्सालेटर छ, अब हामीले एउटाको सट्टा तीनवटा राख्ने तयारीमा छौं । ताकि उताका प्यासेन्जर यता आउन नपरोस् र यताका उता जान नपरोस् ।

ट्वाइलेटमा ओभरलोड

ट्वाइलेटमा पनि अहिले धेरै सुधार भएको छ । पहिला जस्तो फोहोर अवस्थामा ट्वाइलेट देख्न पाउनुहुन्न । यो बिल्डिङको डिजाइन सन् १९९५ सम्मको प्यासेन्जरलाई लक्षित गरेर बनाएको हो । अहिले प्यासेञ्जरको चाप १० गुणा बढिसकेको छ ।

त्यतिबेला ट्वाइलेटमा ४ इञ्चको पाइप राखिएको थियो, १० गुणा प्यासेन्जर बढ्दा पनि त्यही ४ इञ्चको पाइपले काम चलाइरहनुपरेको छ ।
भन्ने बेलामा ट्वाइलेट फोहोर भयो भनिन्छ । तर, यसको पनि निकास हुन्छ, त्यसलाई आउटलेटसम्म पुर्‍याउन गाह्रो छ । यसलाई पनि सक्दो सुधार गरिहेका छौं, यद्यपि पहिलाजस्तो छैन ।

टेलीफोन हराएर हैरान

टेलिफोनहरु केही सञ्चालनमै रहेका छन् । यहाँ केही समस्या देखियो भने नयाँ सेट ल्याएर राखिदियो, फुटालिदिने र बोकेर लैजाने गरिन्छ । आज टेलिफोन राखिदियो, दुई दिनमा हराउँछ वा फुटेको हुन्छ ।

यहाँ टेलिफोन यात्रुलाई लक्षित गरेर राखिएको हुन्छ, तर टेलिफोन गर्न प्यासेञ्जरले पाउँदैनन्, भित्र भएकाले नै घण्टौंसम्म होल्ड गरेर बसिदिन्छन् ।

एयरपोर्टको टेलिफोन भनेको म आएँ है, उडेँ है भन्नलाई मात्रै हो, लामो समय कुरा गर्नलाई होइन । टेलिफोन धेरै चोरी भयो भनेर हामीले सुपर ग्लु लगाएर पनि राख्यौं, त्यही पनि रहेन । यस्तो अवस्थामा कसरी नयाँ टेलिफोन राख्न सकिन्छ ? नयाँ राख्नलाई पुरानो खै भनिन्छ, मैले जवाफ के दिने ?

एकैचोटि विमान आउँदा समस्या

आगमनको केसमा कहिले काहीँ २/३ एयरक्राफ्ट सँगैजस्तो ल्याण्ड हुन्छन् । त्यतिबेला एकैपटक ५/६ सय प्यासेन्जर आउँछन् । त्यो अवस्थामा अराइभलमा रहेको एउटा एक्सालेटरले धान्न सक्दैन । त्यो एक्सालेटरमा यति भीडभाड हुन्छ कि मान्छेहरुको भीडमा घँचेटाघँचेट हुँदा कतिपय यात्रु लड्छन् । हामीले एक्सालेटर बन्द गरेर भर्‍याङबाट लगाउनुुपर्ने अवस्था छ । त्यहाँ पनि थप दुईवटा एक्सालेटर राख्दैछौं ।

भन्सारको समस्या

त्यहाँबाट निस्किएपछि भन्सारमा आइन्छ । भन्सारको एक्जिट प्वाइन्टमा पनि एउटामात्र एक्सरे मेसिन छ । जसले गर्दा समस्या देखिने गर्छ । भन्सारसँग सहकार्य गरेर त्यो एरियालाई बढाउने र एउटा एक्सरेको सट्टा दुईवटा राख्ने योजना छ । दुई तीन महिनामा यो काम सम्पन्न हुन्छ ।

ब्यागेजको ढिलाइ

यात्रुहरुले बारम्बार ब्यागेजमा गुनासो गर्न दुई अढाइ घण्टाभन्दा बढी लाग्यो भनेर गुनासो गरिरहेका छन् । अहिले यसमा केही सुधार भएको छ ।

अहिलेे विदेशमा जस्तो १५ मिनेटमै भयो त भन्दिँन, तर ४५ मिनेटसम्म ‘ब्यागेज क्लेम’ भएको मैले प्रत्यक्ष देखेको छु । प्लेन ल्याण्डिङ भएको ४५ मिनेटमा यात्रुहरुले ब्याग पाउँछन् । यसमा थप सुधार भइहेको छ ।

अर्को, बेल्ट नम्बर थ्री (ब्याग घुम्दै आउने ठाउँ) मा समस्या भइरहेको छ । त्यही समस्या भइरहृयो भनेर मैले सिष्टम नै बन्द गरेर बनाउन लगाएँ । बेल्टमा सुरुमा जति समस्या थियो, अहिले त्यति छैन । यसलाई आगामी ५/६ महिनाभित्र पुरानोलाई ‘रिप्लेस’ गर्नका लागि पहल गरिरहेका छौं ।

बाँदरको व्यवधान

विमानस्थलमा बाँदर, चराचुरुङ्गी नआउन् भनेर सरसफाइमा विशेष जोड दिएका छौं । बाहिर पब्लिकलाई पनि फोहोर नफाल्न अवारनेस गरिरहेका छौं । यहाँ त बाँदरको हुल नै आउने गर्छ । यसले पनि समस्या पारिरहेका छन् । यस विषयमा हामीले पब्लिकलाई रिक्वेष्ट पनि गरिरहेका छौं ।

सार्कका लागि भनेरमात्र सरसफाइ गरेका हुँदै होइनौं । पछिल्लो समय हामीले नियमित सरसफाइ गरिरहेका छौं । हामीले जे छ, त्यसैलाई मेन्टेनमात्र गरेका हौं । यो कार्य नियमित रहन्छ पनि ।

Tribhuvan_International_Air

पार्किङको नयाँ विकल्प

यहाँको अर्को समस्या भनेको पार्किङ पनि हो । यो समस्या पनि केही समयमा हल हुने विश्वास लिएका छौं । अहिले पार्किङस्थल निर्माण कार्य जारी रहेको छ । त्यो पार्किङ सम्पन्न हुने अझै ८ महिनाजति लाग्छ ।

अहिलेको पार्किङ समस्यालाई दुई तलाको पार्किङ भवनले समाधान गर्न सक्छ । एयरपोर्टमा पुराना ट्याक्सी हटाएर नयाँ राखिसकिएको छ ।
हाम्रो उद्देश्य बाहिर एयरपोर्ट होटल नजिकै रहेको विमानस्थलको जग्गालाई पार्किङ स्थल बनाउने भन्ने रहेको छ । त्यहाँ पार्किङ गरेका गाडीलाई फोन गरेर एयरपोर्टमा बोलाउने व्यवस्था गरिन्छ । उक्त जमिनलाई लेबलिङ समेत गरिसकिएको छ ।

अहिले पार्किङ गरिरहेको ठाउँमा थप ८० वटा गाडी अटाउने व्यवस्था गरिएको छ । निर्माण कार्य सम्पन्न भइसकेपछि पार्किङलाई अहिलेको भन्दा थप २ सय प्रतिशत व्यवस्थित गर्ने अवस्थामा हामी पुग्छौं ।

अहिले मोटरसाइकल तथा गाडी पार्किङ गर्ने ठाउँमा लेबलिङ गरेर थप एक लेयर पार्किङ गर्न मिल्ने बनाउँदैछौं ।

गोल्डेन गेटमा सुधार

विमानस्थलको मुख्य गेटमा ट्राफिक जाम भएर समस्या उत्पन्न भएको छ । गोल्डेन गेट टु वे हुँदा त्यहाँबाट आउने जाने गाडीको भीड लागेको देखिन्छ ।

यो समस्या समाधान गर्नका लागि गोल्डेन गेटबाट गाडीहरु ‘इन’ र नजिकै अर्को बाटो खोलेर ‘आउट’ हुने व्यवस्था मिलाउँछौं । त्यसो भएमा अहिलेको ट्राफिक समस्या हल हुने विश्वास हामीलाई छ ।

पाँचसय ट्रली थपिँदै

पहिला ट्रलीको निकै ठूलो समस्या रहेको थियो । जहाँसम्म लाग्छ, अहिले यहाँ ट्रलीको कुनै पनि समस्या छैन । सुविधाजनक ट्रलीहरु छन् । केही महिनाभित्र ५ सयको हाराहारीमा ट्रलीहरु थपिँदै छन् ।

यहाँ एयरकन्डिसनरको पनि समस्या रहेको छ । अहिले भएका एयरकन्डिसनहरु १९९० सम्मलाई तार्गेट गरेर बनाइएका हुन् । यसको ग्यास अहिले ब्याण्ड गरिएको छ । अहिले ग्यास रिफिल गर्न सक्दैनौं । यसलाई पूरै फेर्ने तयारीमा छौं । यसका लागि बजेट पनि छुट्टाएका छौं । अर्को वर्षसम्म नयाँ एयर कण्डिसनर सिष्टम जडान गछौं ।

एयर कण्डिसनर थोत्रिए

सानो एयर कण्डिसनर राख्न सम्भव छैन । त्यही भएर सेन्ट्रल एयरकन्डिसनर राख्दै छौं ।

रन वे बनाउन ३ अर्ब चाहिन्छ

एयर ट्राफिक व्यवस्थापनका लागि चौबीसै घण्टा एयरपोर्ट सुचारु गर्नुपर्ने देखियो । सार्क सम्मेलनका बेलामा चौबिसै घण्टा एयरपोर्ट चलायौं, त्योबेलामा धेरै अनुभव हासिल भयो । एयरपोर्ट २४सै घण्टा चलाउन त हुन्थ्यो, तर एउटा मात्र रन वे भएका कारण सम्भव देखिँदैन ।

एउटा रन वे समय-समयमा चेक गर्नुपर्छ, मर्मत गर्नुपर्छ । दुईवर्ष अगाडि भत्किएर ठूलो इस्यू बनेको थियो । यस रन वेलाई पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।

करिव ५/६ फिट गहिरो खनेर पुनः निर्माण गर्नुपर्छ । पुनः निर्माणका लागि पैसा पनि छुट्टाएका छौं । १० हजार फिट लामो रन वे पुनःनिर्माण गर्नका लागि करिव ३ अर्ब रुपैयाँ लाग्छ ।

यसका लागि राति १२ बजेसम्म एयरपोर्ट सञ्चालन गर्ने, १२ बजेदेखि बिहान ६ बजेसम्म निर्माण कार्य गर्न सकिन्छ । एउटा यस्तो मेसिन हुन्छ, जसले खन्दै जान्छ र अर्कोले पुर्दै जान्छ । यसरी एक दिनमा ३०/४० मिटर निर्माण गर्न सकिन्छ । यसरी काम गर्ने हो भने करिब साढे दुई वर्षमा रन वे पुनः निर्माण कार्य सम्पन्न हुन्छ । यसका लागि कन्सल्टेन्सी मूल्यांकन गर्ने काम हुँदैछ ।

सानो-सानो जहाज उड्ने रन वेमा ठूला-ठूला जहाजहरु उड्दा पनि समस्या देखिने गरेको हो । यहाँ कोरियन, एयर एशिया, कतार, टर्किसलगायतका एयरलाइन्सहरुले ठूला जहाज ल्याउने गरेका छन् । ती जहाजले हाम्रो रन वेमा निकै दबाव सिर्जना गरिदिन्छन् ।

ट्रान्जिटमा सुत्ने उपाय छैन

कतिपय अवस्थामा हाम्रो एयरपोर्टमा ट्रान्जिट प्यासेञ्जरलाई सुत्ने बस्ने ठाउँ छैन भनेर कमेन्ट गरिएको छ । हाम्रो एयरपोर्ट ट्रान्जिट गराउने एयरपोर्ट नै होइन, कसरी सुत्ने बस्ने व्यवस्था हुन्छ ?

हामी नै विभिन्न देशमा ट्रान्जिट भएर उडिरहेका हुन्छौं । यहाँ तथ्यांक हेर्ने हो भने वर्षमा १०/१५ वटामात्र ट्रान्जिट भएको पाइन्छ ।

विमानस्थल सुधारको योजना

हाम्रो मास्टर प्लानअनुसार सन् २०२८ सम्ममा यहाँ केही यसलाई केही परिवर्तन गर्ने र सुविधायुक्त बनाउने काम सम्पन्न हुनेछ ।
अहिले फेज वान ‘बी’ को काम भइरहेको छ । यो २०१५ सम्म सम्पन्न हुन्छ । त्यसपछि फेज टु र फेज थ्री सम्पन्न हुन्छ । यस बीचमा तुरुन्त यात्रुलाई सुविधा प्रदान गर्नका लागि केही काम अगाडि बढाएका छौं ।

यो योजनाअन्र्तगत आन्तरिक टर्मिनल भवनको आगमन कक्षको लाइटिङ सिष्टममा केही परिवर्तन गरेका छौं । बर्हिगमन सेक्सनमा पनि प्यासेन्जर बस्नका लागि पुराना कुर्सी हटाएर आवश्यक नयाँ कुर्सी राखेका छौं ।

(अनलाइनखबरका लागि नविन अर्यालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment