Comments Add Comment

एप क्याम्पको अन्तिम लडाईंमा प्रतिस्पर्धी

Ncell-App-camp

२५ मंसिर, काठमाडौं । प्रतिस्पर्धाको अन्तिम दिनसम्म पुग्नुअघि एनसेल एप क्याम्पका प्रतिस्पर्धीहरुले बुधबार विभिन्न क्षेत्रका विज्ञहरुबाट बृहत्तर प्रशिक्षण लिएका छन् । विभिन्न चारवटा समानान्तर सत्रहरुमा आयोजित प्रशिक्षण कार्यक्रममा कृषि, कर्पोरेट, शिक्षा र पर्यटन क्षेत्रका प्रतिस्पर्धी समूहहरुले विभिन्न क्षेत्रका १६ प्रशिक्षकहरुबाट विषयगत ज्ञान, व्यवसायिक तथा वित्तीय अवधारणा, बजारीकरण र प्राविधिक ज्ञान हासिल गरेका हुन् ।

१ सय ५० समूहहरुबाट छानिएका प्रत्येक क्षेत्रका ६ समूह गरी उत्कृष्ट २४ समूहहरु हाल प्रतिस्पर्धाको अन्तिम तयारी गरिरहेका छन् । बिहीबार हुने उक्त प्रतिस्पर्धाका लागि उनीहरुलाई ५ मिनेट अवधारणा प्रस्तुति र थप ३ मिनेट एपको नमुना प्रदर्शनका लागि दिइनेछ ।कार्यक्रममा प्रशिक्षण दिएका प्रशिक्षकहरुले प्रतिस्पर्धी समूहहरु आकर्षक एप र उत्साहजनक व्यवसायिक अवधारणामा काम गरिरहेको जानकारी दिए ।

‘हुन त एप निर्माणको प्राविधिक पक्षतर्फ बढी दक्ष निर्माताहरुमा अन्य विषयगत ज्ञानको पूर्णता खोज्न मिल्दैन । तर, आयोजकले यस पक्षमा उनीहरुलाई सघाउन विभिन्न क्षेत्रका विज्ञहरुलाई ल्याएको छ जसकारण सहभागीहरुले आफूलाई चाहिने थप ज्ञान हासिल गरिरहेका छन्’ पर्यटन क्षेत्रका एक विषयगत प्रशिक्षकले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने । ‘मलाई लाग्छ, यो निरन्तर सिक्ने प्रक्रियाबाट भविष्यमा उहीहरु अझ पोख्त हुनेछन् ।’

पर्यटन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका समूहहरुलाई व्यवसायिक रणनीति बनाउन सहयोग गर्दै वान टु वाचका सहसंस्थापक विलियम गि्रमिंकले उक्त क्षेत्रका सबै एपहरुले प्रविधिको प्रयोगमार्फत् ट्राभल एजेन्सीहरुलाई विस्थापित गर्न खोजेको प्रतिक्रिया दिए ।

‘यसो गर्दा कुनै पनि पर्यटक नेपाल प्रवेश गर्नुअघि नै उसले तपाईंको एप प्रयोग गर्ने वातावरण सिर्जना गर्नुहोस् किनकी एउटा यात्रीले यात्रा सुरु गर्नुअगावै यात्राबारे महत्वपूर्ण निर्णय गर्दछ’ गि्रमिंकले पर्यटन क्षेत्रतर्फका प्रतिस्पर्धीहरुलाई आपसमा सहकार्य मूख्य चुनौतीसँग लड्न सुझाव दिए ।

थ्रीएच म्यानेजमेन्टका कार्यकारी प्रमुख शोहनबाबु खत्रीले शिक्षा क्षेत्रतर्फ छानिएका उत्कृष्ट ६ समूहहरुलाई प्रशिक्षण दिँदै उनीहरुले निर्माण गरिरहेका एपले विद्यार्थी, अभिभावक र विद्यालयलाई आपसमा जोड्ने बताए ।

यसअघिका तालिममा १५० समूहहरुलाई व्यवसायिक नमुना तयार पार्न सघाउनुभएका खत्रीले छानिएका शैक्षिक एपहरुलाई जनाउँदै भने- ‘म आफैंले सिफारिस गर्नुपर्दा कुनै पनि शैक्षिक संस्थाले यी ६ वटै एप किन्नु लाभदायी हुने ठान्दछु ।’कृषितर्फका प्रतिस्पर्धी समूहहरुलाई बजारीकरणसम्बन्धी प्रशिक्षण दिएपछि एनसेलका बीटुसी विभागका प्रमुख भाहदत जेहतावले भने, ‘कृषि क्षेत्रका सबैजसो एपहरु कृषकलाई आवश्यक पर्ने सूचनामा आधारित छन् । तसर्थ, एप प्रयोगकर्ता कृषकलाई सहज बनाउने खालको बनाउनुसक्नु सबैका लागि मूख्य चुनौती हुनेछ ।’

कर्पोरेट सोलुसन्सतर्फका समूहहरुलाई प्राविधिक विषयमा प्रशिक्षण दिएपश्चात् एनलोकेटका सहसंस्थापक रिचन श्रेष्ठले सबै समूहहरु प्राविधिक रुपमा सवल रहेको जानकारी दिए । ‘सबैजसो समूहहरुको पृष्ठभूमि प्रविधि भएकाले प्राविधिक चुनौती उनीहरुलाई खासै देखिदैन’ श्रेष्ठले भने । सर्वाधिक अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एगि्रकल्चर, साथी र दि रिभोलुसन रहेका छन् । कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।प्रत्येक विषयगत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment