Comments Add Comment

बढी यात्रु बोक्ने ड्राइभरको लाइसेन्स ठाउँको ठाउँ खारेज

driver-new

२६ मंसिर, काठमाडौं । सवारी दुर्घटनाको संख्या बढ्न थालेपछि सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा कडाइ गर्ने गरी नयाँ नियमावली ल्याएको छ । नयाँ नियमावली अनुसार अब गाडी चलाउने ‘ड्राइभर’ बन्नका लागि शिक्षाको हदबन्दीसमेत तोकिएको छ ।

मन्त्रिपरिषदबाट पारित सवारी चालक अनुमतिपत्र नियमावलीमा १० कक्षा पास भएको व्यक्तिलाई मात्रै लाइसेन्स दिने उल्लेख छ ।

पारित नियमावलीअनुसार अब सवारी चालक अनुमतिपत्र पाउन २५ वर्ष पूरा भएको हुनुपर्नेछ । यसअघि २१ वर्ष उमेर पुगेकाले लाइसेन्स पाउने व्यवस्था थियो ।

त्यस्तै ठूला र लामो रुटका गाडी चलाउने लाइसेन्स लिन साना गाडी चलाएको कम्तिमा २ वर्षको अनुभव हुनुपर्ने यातायात व्यवस्था विभागका उच्च अधिकारीले बताए ।

नयाँ नियमअनुसार २५ वर्ष देखि ६४ वर्ष उमेर समूहका मान्छेले मात्र गाडी चलाउन पाउनेछन् । प्रत्येक पाँच वर्षमा नवीकरण हुने लाइसेन्स ५९ वर्षभन्दा माथिकाले नवीकरण गर्न पाउने छैनन् ।

नयाँ नियमावली अनुसार तोकिएभन्दा बढी यात्रु राखेर बस वा माइक्रोबस चलाएमा चालकको लाइसेन्स रद्द गरिनेछ ।

त्यस्तै मालवाहक ट्रमा तोकिएभन्दा बढी सामान राखेको पाइएमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।

मादक पदार्थ सेवन गरेर वा अन्य लागु औषध सेवन गरेको पाइएमा चालकको लाइसेन्स रद्द हुनेछ । आफ्नो लाइसेन्स अर्कोलाई दिएको पाइएमा पनि रद्द हुने गरी नयाँ नियमावली बनाइएको छ ।

तोकिएको भन्दा बढी गतिमा सवारी चलाएमा वा सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।
नयाँ निमावलीमा यतिसम्म कडाइ गरिएको छ कि, तोकिएको समयममा यात्रुलाई गन्तव्य स्थल पुर्‍याउन ढिलाइ गरेमा पनि लाइसेन्स रद्द हुन सक्नेछ ।

सार्वजनिक सवारी साधनमा चाहिने ब्लु बुक, लाइसेन्स, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारी साधन सञ्चालन गरेमा पनि लाइसेन्स रद्द हुने नयाँ नियमावलीमा उल्लेख छ ।

यो नियमावली मस्यौदा २ वर्षअघि नै तयार भएको थियो । त्यसमा केही संशोधन र थपघट गरेर नयाँ नियमावली पारित गरिएको मन्त्री निधीले बताए । दसैंदेखिको आँकडा हेर्दा दिनहुँ सवारी दुर्घटना बढिरहेको र यसमा ज्यान जानेको संख्या पनि डरलाग्दो ढंगले बढेपछि सरकार गम्भीर बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार यो नियमावली सार्वजनिक सवारी साधन चलाउनका लागि ल्याइएको हो ।

अन्य सवारी चालकभन्दा सार्वजनिक सवारी चालकको पेशा संवदनशील र बढी जिम्मेवारपूर्ण हुनुपर्ने भएकाले अलग्गै नियमावली ल्याउनुपरेको हो ।

सार्वजनिक सवारी साधनको दुर्घटनाका पछिल्ला तथ्यलाई समेत हेरेर नयाँ नियमावली ल्याइएको मन्त्री निधीले अनलाइनखबरलाई बताए ।

‘दुर्घटना कम गराउन सम्भाव्य सबै उपायहरुको अध्ययन गरेर यो नियमावली ल्याइएको हो’ मन्त्री निधीले भने ‘चालकलाई जिम्मेवार बनाउन खोजिएको छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment