Comments Add Comment

ग्रीनकार्ड र पीआरले देशै खाली हुने त होइन ?

राम कार्की

काठमाडौंमा एकजना कार्पेन्टरकहाँ गएको थिएँ । साहुले भन्यो, काम गर्ने मान्छे नै पाइँदैन । एउटा कतारबाट फर्किएर आएको छ, त्यसले राम्रो काम गर्छ । अर्को गोजीमा पासपोर्ट बोकेर बसेको छ, त्यो कहिले आउँछ, कहिले आउँदैन ।

ram-karkiत्यहाँ हाँसो पनि भयो कि एकचोटि सबै नेपालीलाई छ/छ महिना कतार पठाएर पो ल्याउने कि ?

मान्छे किन विदेश जान्छन् ?

किन यसरी मान्छे विदेश गइरहेका छन् भन्ने पनि हेर्नुपर्छ । विकासको जो अवधारणा ल्याइएको छ, पूरै पुँजीवादी छ । राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति हो, सुँगुर पाल्ने, बाख्रा पाल्ने भन्ने खतरनाक कुरा हो ।
सुँगुर पाल्ने बाख्रा पाल्नेप्रति सरकारको नीति के छ भन्दा रामशरण महतले ल्याएको बजेटले अर्बपति खर्बपति भन्दा कसैलाई चिन्दैन । त्यसले ठूला कम्पनीलाई चिन्छ ।

कर्णालीमा एउटा कम्पनीलाई चिन्यो, अरुणमा अर्कोलाई चिन्यो र त्यसलाई छुट दिने कुरा गरेको छ । त्यसलाई कमाउने ग्यारेन्टी गर्छ । तर, बाख्रा पाल्नेलाई ग्यारेन्टी गर्दैन । अनि जसले पैसा लुकाएर राखेको छ, उसले त्यसलाई बैध बनाउन देखावटी बाख्रा पाले हुन्छ । तर, बाँच्नैका लागि बाख्रा पाल्नेहरुका निम्ति छैन ।

हिमालमा हजारौं बर्षदेखि कष्ट झेलेर बाँच्ने कला बनाएका छन् । त्यहाँ सरकारको नीति के ? कम्युनिष्ट पार्टीको नीति के ? चरन हराएको छ ? चौंरी लोप हुँदैछन् । तर, सरकार चीन र भारतलाई जोड्ने कुरा गर्दैछ । चाउचाउ बेच्ने योजना बनाउँदैछ । फलाएर खान सिकाउँदैन । फास्ट फुड पुर्‍याउने कुरा भएको छ ।

हामीले चौंरी गोठालाका नानीहरुलाई पढाउने पोखरामा ठाउँ बनाउन सक्दैनौं । चौंरी गोठालाका छोराछोरीलाई पढाउन सस्तो होस् । चरणको संरक्षण होस् । चौरीको दुध पनिर बनाएर बेच्ने वातावरण बनोस् । त्यो त छैन । त्यसलाई दर्खर्‍याएर सिध्याउने काम हुँदैछ ।

महाभारतको त्यही हालत छ । प्लटिङ गर्ने भनेर राम्रा बारी र खेत ध्वंस गरिँदैछ ।

नागरिकता र एनआरएनको गफ

राष्ट्रहरु कहिले माथिबाट बनेका छन्, कहिले तलबाट बनेका छन् । यहाँ पृथ्वीनारायण शाहले माथिबाट बनाए । अब यसलाई तलबाट मजबुत गर्न जरुरी छ । यो नेपाल बनाउने एजेण्डा बेलाबेला हराउँदा यसका नागरिकहरुको महत्व पनि हराउँदै गएको छ ।

अष्ट्रेलिया, नर्वे जस्ता देशहरुमा पीआर, ग्रीनकार्ड खोजिरहेको मान्छे सगौरव भन्छ कि म पीआरका लागि ट्राइ गरिरहेको छु । अनि नेपालमा शान्ति भयो भने लगानी गर्छु पनि भन्छ ।

सिक्कममा भोटे र लेप्चाहरुको जमीन त्यहाँका नेपालीले पनि किन्न पाउँदैनन् । अनि नेपालीको जग्गा त्यहीँका भारतीयहरुले पनि किन्न पाउँदैनन्

यताबाट जानेहरुलाई भात खुवाउने, अलिअलि घुमाउने र डोको न डालोको कुरा गर्नेबाहेक त्यो एनआरएन भन्नेले पनि केही गरेका छैनन् । बरु मजदुरहरुले पैसा पठाएका छन् र परिवार चलेको छ ।

तर, देशचाहिँ नबन्ने तर, एउटा परिवार बनेर त केही हुनेवाला छैन । त्यसो हुनाले नेपाली नागरिकताको महत्व हुनुपर्‍यो ।

सिक्किमेहरु भारतमा गाभिए । तर, त्यहाँ ३७० र ३७० वान एफ भन्ने एउटा प्रावधान राखेर त्यहाँका नागरिकहरुलाई विशेष अधिकार दिएको छ । जस्तो, सिक्कममा भोटे र लेप्चाहरुको जमीन त्यहाँका नेपालीले पनि किन्न पाउँदैनन् । अनि नेपालीको जग्गा त्यहीँका भारतीयहरुले पनि किन्न पाउँदैनन् । त्यसले जमीनको स्वामित्व रहिरहन्छ ।

जागिरकै कुरा गर्नुस्, ‘सिक्किम सब्जेक्ट’को यति महत्व छ कि सिक्किम सब्जेक्ट हुनेले मात्र राज्यको जागिर खान पाउँछन् । भारतीय नागरिक भए पनि उसले केन्द्रीय सरकारमा त पाउने भयो तर, राज्यमा पाउँदैनन् ।
अरु देशका कार्डको त्यत्रो महत्व छ भने हाम्रो नागरिकतालाई पनि महत्वपूर्ण बनाउनुपर्दैन ? यसमा सबैभन्दा मधेसका सजग जनताले बुझ्नुपर्छ । पूर्व, पश्चिम र उत्तरी सीमामा बस्ने पहाडेले पनि बुझ्नुपर्छ ।

मधेसको नागरिकता समस्या

मधेसको नागरिकताको मुद्दालाई जहिले पनि राजनीतिकरण गरिन्छ । त्यहाँका वास्तविक रैथाने मधेसी, जसको पाँच/सात पुस्ता नै त्यहाँ बितिसकेको छ । त्यस्ता मानिसहरुको आयोग बनाएर घर-घरमा गएर नागरिकता देऊ भने हुन्छ । उनीहरुले विहारबाट आएका ज्वाइँचेलालाई दिँदैनन् । किनकि ज्वाइँ चेला आए भने उनीहरु बाठा छन्, हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं भन्ने राम्रो बुझेका छन् ।

वीरगञ्जमा एउटा सिडिओ छन् स्याङ्जाको । उनलाई त्यहाँ को कहिले आएको भनेर के थाहा ? त्यो मात्र होइन, फोरमले थर्काउँदा १० जनालाई नागरिकता दिने, कांग्रेसले थर्काउँदा, एमाले, माओवादी सबैले थर्काउँदा नागरिकता दिन थालेपछि .. । त्यसो हुँदा शक्तिशाली आयोग बनाएर नागरिकता समस्या संधैका लागि समाप्त गरे हुन्छ ।

नेपाली नागरिकता त्याग्नेलाई सजिलो नबनाऔं

जसले विदेशी ग्रीनकार्ड पीआर पाएका छन्, उनीहरुलाई नेपाली नागरिकता सजिलो बनाइदिनुहुँदैन । विशेष व्यवस्था गरेर उनीहरु नेपाल आउँदा भिसा दिने, आफन्तलाई भेट्न दिने गर्दा हुन्छ । तर, यहाँ आएर फेरि नागरिकको भन्दा ठूलो गफ गर्छन् । यताको नागरिकता त्यागिसकेको स्थिति हुन्छ ।

कति सजिलै नेपालीले नागरिकता त्याग्छन् ? हामीले कमसेकम नागरिकतालाई यति हलुका र महत्वहीन कागज बनाउनुहुँदैन । यसको महत्व होस् । मलाई डर के लाग्छ भने कुनै एउटा देशले सबै नागरिकलाई लैजान्छु भन्यो भने नेपालमा मान्छे नै नहुने अवस्था त आउँदैन ?

युरोपहरु बुढो देश हो । एउटा नानी पाउन यति डरलाग्दो योजना बनाउनुपर्ने, पारिवारिक जीवन लामो समय नटिक्ने जस्ता समस्या छन् । हाम्रो पारिवारिक वातावरण देखेर त उनीहरु तडि्पन्छन् । त्यहाँ नानीहरु जन्मिरहेका छैनन् । हामी कहाँ त ठूलो युवा फोर्स छ ।

स्वभाविक हो, विदेश गएकाहरु राजनीतिज्ञलाई गाली गर्छन् । देश बनाएनौ, नत्र हामी त्यहीँ बस्थ्यौं भन्छन् । तर, केवल गरिबी मात्रै कारण होइन । नेपाल हराएको छ । यो पनि कारण हो मानिसहरु पलायन हुनुमा ।

स्वाभाविकरुपमा जहाँ गए पनि एनआरएनहरुले एउटा सानो नेपाल बनाएका छन् । त्यो राम्रो हो । उनीहरुको दिमागमा नेपाल कहिँ न कहिँ छ । तर, हामी यता आएका भाग्यमानी, आउन नपाउने अभागी भन्ने सोच बढ्न दिन भएन ।

जब देशप्रति, मातृभूमिप्रति अपनत्व हुन्छ, त्यहाँ ऊ गरीबी भए पनि, अभाव भए पनि त्यसलाई मन पराउँछ । प्रिय हुन्छ

गरीबी भए पनि आफ्नै देश प्यारो

खोरको बाख्रालाई चितुवाले समाउँदा मान्छे चितुवासँग लड्न तयार हुन्छ । यो मेरो बाख्रा हो भन्ने हुन्छ । उसलाई थाहा छ कि चितुवासँग लड्दा ज्यान पनि जान सक्छ । तर, बाख्राको मूल्य मेरो ज्यानभन्दा कम हो ।

देशप्रेम भन्ने कुरा पनि यस्तै हो । जब देशप्रति, मातृभूमिप्रति अपनत्व हुन्छ, त्यहाँ ऊ गरीबी भए पनि, अभाव भए पनि त्यसलाई मन पराउँछ । प्रिय हुन्छ ।

स्वभाविकरुपमा जब मान्छे एकदमै गरिव, सर्वहारा वा अरबपति हुन्छ, प्रायः भनिन्छ अरबपति र सर्वहाराको आफ्नो हुँदैन, देश हुँदैन ।

रामेछापको किसान बाटो खन्न जब कालीकोट पुग्छ, त्यसबेला उसका सबै मर्यादाहरु टुटिसकेका हुन्छन् । यसलाई मेन्टेन गर्ने भनेको मध्यम वर्गले हो ।

दोस्रो आयाम के हो भन्दा नेपालभित्रको आन्तरिक विभेदको कुरा गर्दा नेपाल कहाँ अवस्थित छ ? वरिपरि कस्ता देश छन् भन्ने हामी ख्याल गर्दैनौं ।

म जुन देशमा जान्छु, साथीहरुले यस्तो वर्णन गर्छन् कि स्वर्ग जस्तो । अष्ट्रेलियामा जाँदा आजित भएर म वामपन्थीहरुलाई भेट्न गएँ । उनीहरुले त्यहाँको कष्ट, दुःख सुनाउँछन् । जुम्ला र गुल्मीको भन्दा श्रमिकको बाँच्ने अवस्था नभएको, अमानवीकरण हुँदै गएको सुनाए । अनि मैले साथीहरुलाई भनें, तपाईहरुले स्वर्ग भन्नुुहुन्थ्यो तर, उनीहरुले होइन भने भनेर सुनाएको छु ।

देशलाई बस्न योग्य बनाऔं

हामीले योजना बनाउनेले राजनीतिक निर्णय गर्नेहरुले देशलाई बस्न योग्य बनाउनुपर्‍यो । काम गर्ने वातावरण दिनुपर्‍यो । विदेशमा ५० हजार कमाउनेले यहाँ कम्तिमा १० हजार त कमाउनुपर्‍यो ।

अर्को कुरा, दिमागमा नेपाल हुनुपर्‍यो । हाम्रो भनेर गौरव गर्न मिल्ने, सीमानामा पस्यौं है भन्नासाथ जनु आत्मविश्वास पैदा हुन्छ, यो देश त हाम्रो हो ।

नेपाल बनाउनेहरुलाई पनि जथाभावी ठोक्यौं हामीले । उनीहरु छेउतिर धकेदिँदै गएका छन् ।

एउटा मान्छेले नेपालको नागरिकता त्याग्नु भनेको जीवनको सबैभन्दा ठूलो निर्णय हो भन्ने लागोस् । ठूलो चिज गुमाएँ भन्ने लागोस् । काम गरेर, बाहिर खाएर मात्र हुँदैन ।

(राजकुमार श्रेष्ठसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment