Comments Add Comment

स्वीडेनको सार्वजनिक यातायातबाट सिकौं

सुमन बराल  

दिनहुँ हुने दुर्घटनाको दोषी को ? शीर्षकको लेख पढेपछि नेपालका यातायात व्यवसायी आफन्तले मलाई स्काइपीमा सोध्नुभयो,- ‘तँ त लेखक पो भइछस्, सरकार, यातायात व्यवसायी, यात्रु सबैलाई गाली गरिछस्, के तँ बस्ने स्वीडेनमा चाँहि दुर्घटना हुँदैन ?’

मैले हाँस्दै भनें- दुर्घटना स्वीडेनमा पनि हुन्छ । तर, नेपालका केही व्यवसायीले राजनीतिको आवरणमा शक्तिको दुरुपयोग गरेर सडकमा सिण्डिकेट लादेको हुनाले मेरो गुनासो र आक्रोश हो ।’ यति भन्न नपाउँदै झोक्किएको स्वरमा प्रश्न आयो- ‘तैंले भन्दैमा अब सरकारले सार्वजनिक यातायातको जिम्मा लिन्छ ?’

यो सम्वादपछि मलाई आफू बसिरहेको स्वीडेनमा सार्वजनिक यातायातसम्बन्धी नीति कस्तो छ भन्नेबारे नेपाल र नेपालीलाई जानकारी दिने उद्देश्यले केही लेख्ने विचार आयो ।

swiden busस्वीडेनलगायतका अति विकसित देशमा सरकारले सार्वजनिक यातायातको जिम्मा लिएको छ । स्वीडेनमा दुर्घटनालाई न्युनीकरण गरिएको छ । यहाँ सडकमा पर्याप्त जेब्रा क्रसिङ, आकाशे पुल, ट्राफिक बत्ती, ठाउँठाउँमा गति मापन गर्ने क्यामेरा, यात्रु हिँड्ने सडक पेटी र साइकलका लागि छुट्टै लेनहरु छन् ।

स्वीडेनमा तोकिएको समयमा बसहरु आइपुग्छन । कुनै कारणले ढीलो भए सूचना दिइन्छ । बस जता पायो त्यतै रोकिँदैन र निश्चित ठाउँमा यात्रु आफैंले स्टप बटन थिचेपछि चालकले रोकिदिन्छ । नेपालमा जस्तो ट्राफिकले सिटी फुकेको भरमा सबै कुरा नियन्त्रण होस् भन्ने हँदैन ।

हेर्नुहोस् भिडियो

सहचालक चाहिँदैन

स्वीडेनमा कसैले पनि सिटी फुक्नुपर्दैन । न त यहाँ सार्वजनिक  सवारी साधनहरुमा सहचालक नै राखिएको हुन्छ ।

यहाँ धेरै भाडा लिएको गुनासो पनि आउँदैन । सरकारले निश्चित भाडा दर तोकेको हुन्छ । महिनावारि कार्ड, गाडी चढेको अवधि अनुसार पैसा काट्ने कार्ड, निश्चित घण्टा चढ्न मिल्ने कार्ड, मोबाइलबाट टिकट लिनेलगायतका भाडा तिर्न धेरै सहज उपायहरु अपनाइने गरेका छन् । यस्ता कार्डहरु सहजरुपमा किन्ने पसल र मेसिन राखिएको हुन्छ ।

के नेपालमा यसो गर्न सम्भव छ ?

चाहना गर्ने हो भने केही पनि असम्भव हुँदैन । भारतले पनि कतिपय राज्यमा यस प्रकारको प्रबिधि र सुबिधासम्पन्न साधनको प्रयोग सुरु गरिसकेको छ । तसर्थ नेपालमा पनि बिस्तारै सुरु गर्न सकिन्छ ।

स्वीडेनमा गाडीहरु निश्चितसमयमा अनिवार्य रुपमा चेकजाँच गर्नै पर्छ । प्रविधिको प्रयोगले गर्दा कुन गाडीले नियमित गर्नुपर्ने चेकजाँच गरे गरेनन् भन्ने थाहा हुन्छ । जाँच नगर्नेलाई चर्को जरिवाना गरिन्छ ।

पुराना गाडीले धेरै प्रदुषण गर्ने भएकाले धेरै कर लिइन्छ र धेरै पुराना सार्वजनिक साधनहरुलाई ठूला सहरमा गुड्न दिइँदैन । कति लामो, कति सीट भएका गाडी चलाउने भन्ने हुन्छ ।

विभिन्न सिटमा अपाङ्गता भएका, बालबच्चा अनि बृद्धलाई बस्न मिल्ने सिट राखिएको हुनुपर्छ भन्ने सरकारले निर्धारण गर्छ । नेपालमा जस्तो नियमित चेकजाँच नगरी सवारी साधन चलाउने चालकलाईर् कारवाही नगर्ने स्वीडेनमा हुँदैन ।

स्वीडेनमा गाडीको हर्न अनावश्यक रुपमा बजाइँदैन । सडकमा बिरलै हर्न बज्छन् । सबैले आफ्नो नियम पालना गर्ने भएकाले  हर्न बजाउन आवश्यक पनि छैन । तर, हाम्रो देशमा त यसरी बजाइन्छ, मानौ हर्न ध्वनी प्रदुषण नभएर मीठो संगीत हो ।

संसार कहाँ पुगिसक्यो, हामी भने ट्राफिक नियम पालनाबारे र कसरी बाटो काट्नेमै अल्भि रहन बाध्य भएका छौं । हामी त्यस्ता वीर नेपाली हौं, जो बिरालोले बाटो काट्दा रोकिन्छौं । तर, ट्राफिक नियमले कहिल्यै रोक्दैन ।

नेपालमा अब सवारी चालक अनुमति पत्र लिन २३ बर्ष र कक्षा १० पास हुनैपर्ने चर्चा छ । सार्वजनिक साधन चलाउन उमेर हद २३ ठीकै होला । तर, १० पास गर्नुपर्ने कुरा हास्यास्पद हो । यो देशमा नेता बन्न कक्षा १० पास हुनु नपर्ने अनि चालक बन्न १० पास हुनैपर्ने ? तर, साक्षर हुनैपर्छ र आँखा जाँचलगायतका कुरा सँगसँगै भाटा गाडेर नभई अन्तराष्ट्रिय मान्यताअनुसारको ट्रायल लिइनुपर्छ ।

स्वीडेनजस्तो विकसित देशमा दुर्घटनाको प्रकृति हेरेर चर्को जरिवाना, जेल सजायँ, सवारी चालक अनुमतिपत्र रद्द अथवा केही महिना चलाउन बन्देजलगायतका सजायँ हुने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment