Comments Add Comment

एमालेमा पहाडे बाहुनक्षेत्रीको बर्चश्व घट्यो

UML_by indegineous people

मात्रिका पौडेल

१ पुस, काठमाडौं । पार्टीमा सबै समुदायको समावेशी प्रतिनिधित्व नभएको आरोप खेपिरहेको नेकपा एमालेले पार्टीको राजनीतिक निर्णय गर्ने महत्वपूर्ण पोलिटब्यूरो सदस्य चयनबाट आफूमाथि लाग्दै आएको आरोप चिर्ने प्रयास गरेको छ ।

एमालेले ६२ सदस्यीय पोलिटव्यूरो गठन गर्दा आदिवासी जनजाति, मधेसी, दलित र महिलाको प्रतिनिधित्व विगतभन्दा उल्लेख्य हुने गरी बढाएको छ । पोलिटब्यूरोमा पहाडे बाहुनक्षेत्रीको प्रतिनिधित्व ४२ प्रतिशत रहे पनि विगतमा भन्दा यसपालि जनजाति, मधेसी, ललित र पिछडिएको क्षेत्रको प्रतिनिधित्व बढेको छ ।

महिलाको अवस्था भने ३३ प्रतिशत हुनुपर्नेमा पोलिटब्यूरोमा ११ प्रतिशत मात्र छ ।

जनजाति १३ जना

पोलिटब्यूरोमा आदिवासी जनजाति नेताहरुको संख्या यसपटक १३ पुगेको छ । अघिल्लोपटक पोलिटब्यूरोमा आदिवासी जनजातिको संख्या १० थियो ।

ps-gurung-and-sgerdhanपोटिलटब्यूरोमा पुग्ने जनजाति नेताहरुमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पृथ्वीसुब्बा गुरुङसहित दुई महिला र युवा नेताहरु छन् । किरण गुरुङ, थममाया थापामगर, श्रीमाया थकाली, नागेन्द्र चौधरी, गंगालाल तुलाधर, परशुराम मेघी गुरुङ जनजातिबाट पूर्ण पोलिटब्यूरो सदस्य बनेका छन् ।

त्यस्तै वैकल्पिक पोलिटब्यूरो सदस्यमा दलबहादुर राना, गोकुल घर्ती, शेरधन राई, सानुकुमार श्रेष्ठ, तुलबहादुर गुरुङ चयन भएका छन् ।

एमालेका जनजाति सन्तुष्ट

पार्टीका महत्वपूर्ण निकायहरुमा आदिवासी जनजाति लगायत पछि परेका समुदायहरुको प्रतिनिधित्व उल्लेख्य रुपमा बृद्धि भइरहेको सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

‘एमाले समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई आफ्नै पार्टीमा लागु गरेर सिद्ध गर्न चाहान्छ’ गुरुङले भने ‘अरु ठूला पार्टीको तुलनामा एमालेका कमिटीहरु बढी समावेशी छन् ।’

मधेसीको संख्या तेब्बर

त्यस्तै एमालेमाथि मधेश विरोधीको आरोप लागिरहेका बेला पोलिटब्यूरो गठनमा विगतको भन्दा तेब्बर सदस्य बृद्धि गरिएको एमाले नेता सत्यनारायण मण्डलले बताए ।

Lalbabu,-ram-prit-and-bansidhar

अघिल्लोपटक रामचन्द्र झा र धर्मनाथ साह दुईमात्र पोलिटब्यूरो सदस्य रहेकामा यसपटक मधेसीको संख्या पोलिटब्यूरोमा ७ पुगेको छ ।

मधेसीबाट रामप्रीत पासवान, सत्यनारायण मण्डल, लालबाबु पण्डित, डा. वंशिधर मिश्र र नागेन्द्र चौधरी पूर्ण सदस्य बनेका छन् भने सत्रुघ्न महतो, योगनारायण यादव बैकल्पिक पोलिटब्यूरो सदस्य बनेका छन् ।

दलित पाँच गुणा बढे

Chabilal-bkत्यस्तै दलितको संख्या पनि तेब्बर बढी देखिएको छ । अघिल्लोपटक छविलाल विश्वकर्मा मात्र रहेकामा यसपटक पोलिटब्यूरोमा मधेसी र पहाडे गरी ६ जना दलित नेताको प्रतिनिधित्व भएको छ ।

पहाडे दलितबाट छविलाल विश्वकर्मा, जगत विश्वकर्मा र भागवत विश्वासी नेपाली पोलिटब्यूरो सदस्य बनेका छन् । मधेस दलितबाट रामप्रीत पासवान, लालबाबु पण्डित र सत्यनारायण मण्डल छन् ।

महिला ७ जनामात्र

महिलाको संख्या पनि अघिल्लो कार्यकालको भन्दा बढेको छ । अघिल्लो पटक पाँच जना महिला पोलिटब्यूरो सदस्य निर्वाचित भएकामा यसपटक त्यो संख्या बढेर ७ पुगेको छ ।

विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य र श्रीमाया थकाली
विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य र श्रीमाया थकाली

संविधानमै ३३ प्रतिशत महिला सहभागिताको प्रस्ताव राख्ने एमालेले पोलिटब्यूरोमा महिला संख्या भने बढाउन सकेको देखिएन ।

महिलामा उपाध्यक्षद्वय विद्या भण्डारी र अष्टलक्ष्मी शाक्यसहित थममाया थापा, श्रीमाया थकाली, गौरा प्रसाई, बिन्दा पाण्डे र राधा ज्ञवाली पोलिटब्यूरो सदस्य बनेका छन् ।

पिछडिएको क्षेत्रबाट तीनजना पोलिटब्यूरोमा पुगेका छन् । जसमा भीम रावल, कर्णबहादुर थापा र गोरखबहादुर बोगटी छन् ।

को-को थपिँदै छन् ?

स्थायी कमिटीलाई थप समावेशी बनाउन दलित र मधेसीको प्रतिनिधित्व गराउने सहमति भइसकेको र नाममा मात्रै सहमति हुन बाँकी रहेको एमाले सचिव योगेश भट्टराईले अनलाइनखबरलाई बताए ।

स्थायी कमिटीमा दलितबाट छविलाल विश्वकर्मा र मधेसीबाट रामप्रीत पासवान वा लालबाबु पण्डितमध्ये एकजना थपिनेछन् । जनजातिबाट किरण गुरुङ थप्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

एमालेले समावेशी समानपातिक प्रतिनिधित्व र पहिचानको मुद्दा अस्वीकार गरेको भन्दै तत्कालीन उपाध्यक्ष अशोक राईसहितका केही जनजाति नेताले पार्टी परित्याग गरेका थिए ।

एमालेको १ सय ६२ सदस्यीय केन्द्रीय कमिटीमा ४२ जना आदिवासी जनजाति सदस्य निर्वाचित भएका छन् । त्यस्तै मधेसी केन्द्रीय सदस्य १६ जना छन् ।

‘एमालेका जनजाति हली खेताला जस्ता’

Ajambar-Raiएमालेले जातीय पहिचान स्वीकार नगरेको भन्दै सम्बन्ध बिच्छेद गरेर संघीय समाजवादी गठन गरेका उपमहासचिव अजम्बर राई काङमाङ भने एमाले नेतृत्वले अझै पनि समावेसिता नरुचाएको बताउँछन् ।

‘अहिले पोलिटब्यूरो र केन्द्रीय सदस्यमा संख्या बढेको देखिए पनि प्रतिशत घटेको छ’ काङमाङले अनलाइनखबरसँग भने ‘व्यक्तिको योग्यता, क्षमता र समावेशिता होइन गुटप्रति बफादार भएका कारण उनीहरु त्यहाँ ल्याइएका छन्’ ।

एमालेमा पछिल्लो समय नेतृत्वका सामु नतमस्तक हुने र नेताले जे बोले पनि चुपचाप सहेर आफ्नो पदोन्नति चाहने जनजाति नेताहरु हावी भएको उनले बताए ।

‘उनीहरु आफ्नो पद र श्रीवृद्धिका लागि समावेशिता विरुद्ध केपी ओलीले हुँकार गर्दा पनि चुपचाप समर्थन गर्छन्’ काङमाङले भने ‘एक प्रकारले नेतृत्वका हली खेताला जस्ता भएर माथि पुगेका छन्’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment