Comments Add Comment

सवारी नियम मिच्ने चालकलाई जेल हालौं : गृहमन्त्री

फाइल फोटो
फाइल फोटो

१ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सवारी सञ्चालन नियम उल्लंघन गर्नेहरुलाई जेल हाल्ने प्रस्ताव गरेका छन् । गौतमले जथाभावी बाटो काट्ने यात्रुलाई पनि कारवाही गर्ने बताएका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा सवारी दुर्घटना न्यूनीकरणसम्वन्धी छलफलमा सहभागी गृहमन्त्री गौतमले भने- ‘मैले दिएको सुझाव अहिले लागू भएको छैन, मलाई सहयोग गर्नुहोस् र नयाँ व्यवस्थाका लागि यो समितिले निर्देशन गरोस् ।’

अहिले सडक नियम उल्लंघन गर्नेहरुलाई जरिवाना ज्यादै कम भएको भन्दै उनले दुर्घटना कम गर्न जेल हाल्ने व्यवस्थासहितको नियम बनाउनुपर्नेमा जोड दिए ।

पहिलोपटक नियम उल्लंघन गर्नेहरुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने भन्दै गौतमले भने-‘त्यसलाई झन डबल गर्नुपर्छ र तीनपटक डबल जरिवाना गर्दा पनि भएन भने जेल हाल्नुपर्छ र गाडी थन्काइदिनुपर्छ ।’

ब्याक गरेर मारे ज्यान मुद्दा

कानून कार्यान्वयनमा सिन्डिकेट पनि समस्या भएको भन्दै उनले सिन्डिकेट गर्ने समूहको दर्ता नै खारेज गर्ने र जेल हाल्नेसम्मको कानून ल्याउन प्रस्ताव गरे ।

कतिपय चालकले दुर्घटनामा घाइते भएकालाई ब्याक गरेर मार्ने गरेको पाइएको भन्दै मन्त्री गौतमले भने-‘त्यस्ता चालकलाई ज्यान मुद्दा लगाएर आजीवन कारावासमा हाल्नुपर्छ र बस सञ्चालनको लाइसेन्स पनि खारेज गर्नुपर्छ । ता कि बस मालिक पनि जवाफदेही होस् ।’

सवारी दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरवाही भएको र मादक पदार्थ सेवन गर्दा त्यस्तो हुने भन्दै गृहमन्त्री गौतमले हाई वे आसपासको आधा किलोमिटर वरपर मदिरा बेच्न नपाइने व्यवस्था गर्नुपर्ने धारणा राखे । ‘यसो भन्दा अर्थ मन्त्रालयले राजस्व गुम्छ भनेर हुँदैन भन्छ’ उनले भने-‘यो भनेको मदिरा खान र दुर्घटना गराउन भन्नुजस्तो हुन्छ ।’

मापसे गर्नेलाई कहिल्यै गाडी चलाउन नपाउने गरी लाइसेन्स खारेज गर्नुपर्ने गौतमले बताए । गृहमन्त्री गौतमले जेब्रा क्रसिङ भन्दा अन्यत्रबाट बाटो काट्नेलाई पनि कारवाही गर्ने बताए ।

गौतमले यसो भनिरहँदा समितिका सदस्यहरुले भने गृहमन्त्री आफैंले जेब्रा क्रसबाट बाटो काट्नुहुन्न ? भन्दै व्यंग गरेका थिए । यसअघि गृहमन्त्री गौतमले पुतली सडकमा जथाभावी बाटो काट्ने क्रममा डोरी नाघ्दै गरेको दृश्य सम्झँदै सभासदहरुले व्यंग्य गरेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री गौतमले कडा नियम ल्याउने र कानून कार्यान्वयन नगर्ने प्रहरीलाई जागिरबाट हटाउनेसम्मको व्यवस्था गर्नु पर्ने बताए ।

जरिवानामा भागवण्डा

नियम मिच्नेबाट लिइने जरिवाना रकमको आधा अर्थात ५० प्रतिशत कारवाही गर्ने ट्राफिक वा प्रहरीलाई दिने, २५ प्रतिशत ट्राफिक व्यवस्थापनमा खर्च गर्ने र बाँकी २५ प्रतिशत मात्रै राजश्वमा जम्मा गर्नुपर्ने गौतमको प्रस्ताव छ ।

सडकमा गुड्ने हरेक सवारी साधननले तेस्रो पक्षीय बीमा गर्नुपर्ने भन्दै गृहमन्त्री गौतमले यात्री जीवन बीमा नगर्ने गाडीलाई बन्द गर्नुपर्ने बताए ।

सभासदहरु नै म कहाँ आए : गृहसचिव

बैठकमा गृहसचिव सूर्यप्रसाद सिलवालले पनि अहिलेको कानूनने गृहलाई ५ प्रतिशत पनि अधिकार नदिएको भन्दै नयाँ कानून ल्याउनुपर्ने बताए ।

दुर्घटना गराउन चालकलाई गर्ने कारबाहीबारे समेत प्रष्ट व्यवस्था नभएको भन्दै उनले भने-अहिले ड्राइभर बाच्ने, चढ्ने सबै मर्ने अवस्था छ ।’ अहिले हुलले राज्य गर्न थालेको भन्दै उनले दलहरुले पनि त्यसलाई प्रत्साहन गर्न नहुने बताए ।

कच्ची सडकमा गाडी चलाउन रोक लगाउँदा सभासदहरु नै आफूकहाँ आइपुगेको भन्दै उनले भने- ‘डोटीमा सबै पार्टीका सभासदहरु मकहाँ आउनुभयो, करोडौंको सुन्तला खेती छ भन्नुभयो । उसोभए मैले सुन्तला मात्र बोक्न दिन्छु भन्दा हुँदैन भन्नुभयो । अब मैले के भन्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment