Comments Add Comment

हमालको प्रश्न–‘३५ लाखको लगानी किन ४ करोड पुगेन’ ?

soul sister0011

विजय ‘आवाज’
एक कार्यक्रममा पुगेका नायक राजेश हमाल कुराकानीका क्रममा बिगतमा फर्किए । उनी नेपाली चलचित्र र यसको बजारको बारेमा केही संचारकर्मीसँग कुरा गर्दै थिए ।
२५ बर्ष अगाडि हमालले अभिनय गरेको पहिलो चलचित्र ‘यूगदेखि यूगसम्म’को लगानी ३५ लाख थियो । निर्माता छविराज ओझाले यही चलचित्रबाट राम्रो आम्दानी गरे ।

हमालले संझदै भने–‘अहिले पनि चलचित्रको लगानी त्यही ३५ देखि ५० लाखको हारहारीमा नै छ । तर, खै त चलचित्रको व्यापार बढेर निर्माता खुशी भएका ?’
आखिर नेपाली चलचित्रको व्यापारमा के फेरबदल आयो त, हमालले संझिए–‘केही पनि आएको छैन । आज भन्दा १० बर्ष अगाडिसम्म पनि चलचित्रमा लगानी सुरक्षित हुने एउटा पेशा थियो । तर, आज खै यो कहाँ गयो ?’

यतिबेला चलचित्र बनाउन सजिलो हुनुको मुख्य कारण प्रविधी रहेको उनको ठम्याई छ । हमालले भने–‘आज प्रविधी सजिलो र सस्तो भएको छ । यसकारण नेपालमा चलचित्र बनेका छन् । होइन भने, हाम्रो अवस्था राम्रो हुदैनथ्यो ।’

नेपाली चलचित्रमा निरन्तर लगानी गर्ने मेकर नहुनुको कारण पनि यही रहेको वुझाई हमालको छ । ‘कुनै बेला चलचित्र भनेको सुरक्षित पेशा थियो र यही काम गर्न व्यक्तीहरु लगानीमा आएका थिए । तर, आज ति सबै चुप छन्’हमालले भने ।

स्टारडमले तान्यो, अब मेकरले तान्नुपर्छ
हमाललाई लाग्छ आजसम्म चलचित्र क्षेत्रलाई यो स्थानसम्म स्टारडमले तानेर ल्यायो । अब, राम्रो निर्देशकले अगाडि बढाउनुपर्छ । तर, नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक हमालले गम्भिर भएर चलचित्र निर्देशन गर्ने निर्देशक नै भेटेका छैनन् ।

‘हामीसँग बिषयवस्तु र प्रविधीको कमी छैन । तर, गम्भिर भएर अनुसन्धान गरेर चलचित्र बनाउने कोही पनि छैनन्’, राजेशले निर्देशकहरु तर्फ संकेत गर्दै भने । ‘मैले २५ बर्ष अगाडि खेल्दा ३५ लाखको बजेटमा चलचित्र बन्थे ।

आजको बढ्दो बजार हेर्ने हो भने त नेपाली चलचित्रको लगानी ४ करोड पुग्नुपर्ने हो । तर, स्थिर नै छ ।’ ‘२५ बर्ष अगाडि ३५ लाख खर्च गरेका चलचित्रबाट निर्माताले गोजी भरिने पैसा कमाउथ्य, तर आज यती लगानी नै उठाउन धौ–धौ छ’, राजेशले भने ।

फेसबुकका ‘लाइक’मा मख्ख नपरौं
नायक राजेश हमालले फेसुबकका ‘लाइक’मा मख्ख नपर्न आग्रह गरेका छन् । फेसबुकमा लाइक गर्ने र ट्विटरमा फलो गर्ने सबै हलमा आउँछन् भन्ने भ्रममा पर्न नहुने उनको वुझाई छ । ‘फेसुबक वा युट्यूबमा हेर्दा राम्रो रहेछ भनेर जसले पनि लाइक वा कमेन्ट दिन्छन्, तर ती सबै दर्शक अब हलमा आइहाल्छन् भनेर सोच्नु हुँदैन’ उनले भने ।

उनका अनुसार संचारमाध्यमको विकासले नेपाली चलचित्रको हल्लाखल्ली धेरै भएपनि भित्री कुरा भने कमजोर रहेको छ । उनले भने–‘सामाजिक संजाल र अनलाइनको विकासले चलचित्रको हल्ला धेरै नै भएको जस्तो लाग्छ । तर, भित्री रुपमा हेर्दा हामी खोक्रो छौ ।

दर्शक बर्गीकरण गरेर चलचित्र नबनाऔं
राजेशलाई लाग्छ दर्शक कुनै पनि वर्गका हुँदैनन् । यो मल्टिप्लेक्समा आउने दर्शकका लागि, यो सिंगलमा आउने दर्शकका लागि भनेर चलचित्र बर्गीकरण गर्नु नै गल्ती भएको उनको वुझाई छ ।

‘चलचित्र भनेको आम दर्शकका लागि बनाउने हो’, हमालले भने । जबसम्म एउटा ‘मास’लाई चलचित्रले आकर्षित गर्दैन, तबसम्म निर्माताको लगानी सुरक्षित नहुने उनको भनाई छ । जबसम्म आम दर्शकलाई अपिल गर्ने खालका चलचित्र बन्दैनन्, तबसम्म चलचित्र क्षेत्रको बजार बिस्तार नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment