Comments Add Comment

हामी ३० हजारमै आइफोन उपलब्ध गराउँछौं : पवनकुमार

नेपालको मोबाइल बजारका अग्रणी हुन् पवनकुमार भिमसरिया । कुनैबेला नोकिया र सोनी एरिक्सनलाई नेपालमा भित्राउने भिमसरियाले डेलसहित करिव एक दर्जन प्रविधि कम्पनीको नेपाल प्रतिनिधि भएर काम गरिरहेका छन् । करिव तीन वर्षदेखि एप्पलका ल्यापटप, मोबाइल र आइपडको खुद्रा बिक्रेता भएर काम गरिरहेको उनको कम्पनी जेनेरेसन नेक्स्टले आइफोनको बिक्री बितरण थालेको छ । विश्व बजारमा रिलिज भएको ७ बर्षपछि नेपाल भित्रिएको आइफोनको बजार रणनीतिबारे अनलाइनखबरले गरेको कुराकानीको संक्षेप-

PabanKumar Bhimsariyaएप्पलको आधिकारिक बिक्रेता बन्न धेरै कम्पनीले लामो समयदेखि कोशिश गरिरहेका थिए । यस दौडमा तपाईहरुले एप्पलको मन जित्नुभएछ । एप्पललाई नेपाल ल्याउनेसम्मको दौड कस्तो रहृयो ?

हामीले तीन वर्षदेखि एप्पलको म्याकबुक र डेस्कटप बिक्री गरिरहेका थियौं । यसवीचमा कम्पनीले दिएको बिक्री लक्ष्य हामीले सजिलै पूरा गर्‍यौं ।
सायद एप्पलका अन्य रिसेलरहरुले लक्ष्य पूरा गर्न सकेनन् होला । दोस्रो कुरा, एप्पलले हाम्रो कम्पनीको पृष्ठभूमि र प्रोफाइल पनि हेर्‍यो । कम्पनीले कर तथा भ्याट छलेको छ कि, कालो सूचीमा छ कि भनेर हेर्‍यो त्यसमा पनि हामी राम्रो देखियौं । एप्पलको आधिकारिक बिक्रेता बन्न ठूला हाउस पनि लागेका थिए । तर, उनीहरुको भन्दा हाम्रो प्रोफाइल राम्रो देखियो ।

हामीलाई फाइनान्सियल स्ट्रङ भएको, छवि पनि राम्रो भएको, निट एण्ट क्लिन छ भनेर बिक्रेता नियुक्त गरेको हो । यो पाउनुमा हामीले गर्वको महशुस गरेका छौं ।

एप्पलसँग भएको सम्झौता कस्तो प्रकारको हो ? आइफोनको मात्र आधिकारिक बिक्रेता हो वा एप्पलका सबै उत्पादनको ?

हामीले एप्पलका सबै सामाग्री आधिकारिकरुपमा आयात गरी वितरण गर्छौं । आइप्याड र डेक्सटप पहिले नै आधिकारिक थियौं । यो सम्झौतापछि हामीले आइफोन, आइप्याड, आइपड, ल्यापटप र डेस्कटप गरी सबै उत्पादनको आधिकारिक बितरक बन्यौं ।

नेपालमा तपाईहरुको बिक्री नेटवर्क कस्तो हुन्छ ? बिक्री केन्द्रहरु कतिवटा पुर्‍याउने लक्ष्य हो ?

नेपालभरि सयवटा स्टोर पुर्‍याउने हाम्रो लक्ष्य छ । एप्पलका पहिले नै नियुक्त दुईवटा रिसेलरका काठमाण्डौमा ६ वटा स्टोर छन् । त्यसबाहेक एनसेललाई पनि रिसेलर नियुक्त गरिएको छ, जसका देशभर १८ वटा सेन्टरबाट पनि आइफोन बिक्री हुनेछ ।

जनवरीदेखि हामीले देशभर थप बिक्री केन्द्र खोल्ने प्रकृया थाल्ने छौं । हामीले केही स्टोरका लागि अहिले नै एप्पलसमक्ष सूची पठाएका छौं, एप्पलले स्वीकृति दिएपछि जनवरीदेखि सेल्स नेटवर्क बढ्छ ।

यो समाचार पनि पढ्नुहोस् : नेपालमा आइफोनको मूल्य ८२ हजारदेखि १ लाख १८ हजारसम्म

एप्पलले नेपालमा सामसुङ लगायतका कम्पनीहरुको नेटवर्क हेर्‍यो । यति ठूलो मार्केट भएको नेपालमा एप्पलका उत्पादनको बलियो उपस्थिति देखाउन उनीहरुले इच्छा देखाएका छन् ।

एप्पलले तपाईहरुलाई सेल्स टार्जेट दिएको छ ? बर्षमा कति सेट बेच्ने तपाईहरुको लक्ष्य छ ?

पछिल्लो सम्झौतामा हामीलाई यति नै बिक्री गर्नुपर्छ भनेर टार्जेट दिएको छैन । तर, हामी महिनामा पाँच हजार सेटसम्म बिक्री गर्ने योजनामा छौं ।

बिश्व बजारमा आइफोन सार्वजनिक भएको ७ बर्षपछि मात्रै नेपालमा आधिकारिक बिक्री सुरु भयो । किन आइफोन नेपाल आउन ढिलाइ भएको हो ?

गत वर्षसम्म पनि नेपालमा एप्पलको आधिकारिक बितरकको जिम्मेवारी दिन इच्छा देखाएका थिएनन् । सायद उनीहरुले अध्ययन गरे होलान् र थाहा पाए कि नेपाल प्रिमियम ब्रान्डका मोबाइल लागि ग्रोइङ मार्केट हो ।

हामीले तीन वर्षअगाडि देखि नेपालमा आइफोन लञ्च गर भन्दा मानेका थिएनन् । नेपाल आइफोनका लागि सानो मार्केट हो, यहाँ महंगा मोबाइल बिक्री हुँदैन  भन्ने उनीहरुलाई थियो ।

जब हामीले मोबाइल बिक्रीको डाटा पठायौं, अनिमात्रै नेपाल महंगा मोबाइलका लागि राम्रो बजार हो भन्ने बुझे । यति गर्दा पनि विश्वास नलागेर उनीहरुले एनसेल, एनटीसीसँग मिटिङ गरेर मार्केट कत्रो छ भनेर बुझेका थिए ।

आइफोन प्रिमियम ब्रान्ड हो, यसका ग्राहक नेपालमा सीमित मात्रामा छन्, तपाईले नेपालमा आइफोनको बजार कस्तो देख्नुभएको छ ?

हामीले महंगोमात्र नभएर आइफोन फोर एस, फाइफ एस, फाइभ सीलगायतका सस्ता मोबाइल पनि नेपालमा ल्याउँछौं । नेपालमा कतिपयलाई आइफोन चलाउने रहर छ, उनीहरुले  ३० हजार रुपैयाँमा नयाँ आइफोन सेट पाउने छन् ।

सम्भवत अर्को महिनादेखि आइफोन फोर एस, फाइभ, फाइभ एस, फाइभ सी जस्ता सस्तो मूल्यका आइफोन बिक्री सुरु हुन्छ ।

नेपालमा आइफोनको आधिकारिक बिक्री कहिलेबाट सुरु हुन्छ । लक्षित ग्राहक को-को हुन् ?

एनसेलले डिसेम्बर १९ तारिखमा आइफोन ६ नेपाली बजारमा सार्वजनिक गर्दैछ । त्यही दिनदेखि नेपालमा आइफोनको आधिकारिकरुपमा बिक्री वितरण सुरु हुन्छ । अहिले आइफोनको प्रि बुकिङ भइरहेको छ । हामीले रिसेलरहरुलाई सोमबारदेखि मोबाइल उपलब्ध गराउन सुरु गरेका छौं ।

यो समाचार पनि पढ्नुहोस् : एनसेलबाट मासिक किस्तामा आइफोन किन्न पाइने

बजारमा अहिले आधिकारिक रिसेलरहरु एनसेल, इभो स्टोर, फ्यूचर वर्ल्डले प्रि बुकिङ लिइरहेका हुन् । उनीहरुको मागअनुसार हामीले कम्पनीमा आइफोनको अर्डर दिएका छौं । तर, कम्पनीले अर्डरको एक तिहाईमात्र उपलब्ध गराउन सक्ने बताएको छ ।

आइफोन ६ को माग उच्च रहेको हुँदा कम्पनीले अर्डरअनुसार माल उपलब्ध गराउन नसक्ने भएको हो । प्रि-बुकिङ लिइसकेका छौं, समान उपलब्ध गराउन सकिँदैन कि भन्ने डर पनि छ ।

आइफोन लक्षित ग्राहक को हुन् नेपालमा ?

हाम्रा लक्षित ग्राहकहरु भनेका टीनएजर, कर्पोरेट क्लाइन्टहरु, बैंकर्सहरु, बिजनेश म्यान, कुटनीतिक नियोगका कर्मचारी नै हुन् ।

ग्राहकहरुले कहाँ-कहाँबाट आइफोन खरिद गर्न पाउँछन् ?

इभोस्टोरको दरबारमार्गस्थित शेर्पा मलमा, दरबारमार्गकै मर्कन्टाइल बिल्डिङमा र जाउलाखेलमा स्टोर रहेका छन् । त्यस्तै, फ्यूचर वल्र्डको दरबारमार्ग, सिटी सेन्टर र सिभिल सेन्टरमा स्टोर रहेका छन् भने एनसेलले मुलुकभर रहेका १८ वटा एनसेल सेन्टरमा आइफोन बिक्री गर्नेछ ।

अबको केही महिनामा रिसेलरहरु बढ्छन् । अनि आइफोनको रिटेल पसलहरु मुलुकका मुख्य-मुख्य शहरमा पुर्‍याउँछौं ।

नेपालमा अवैधानिक बाटो हुँदै आइफोन भित्रिरहेका छन्, र ग्राहकले सस्तो मूल्यमा पाउँछन्, त्यस्ता आइफोनसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?

अवैधानिक बाटोबाट आएको आइफोन हामीले बेच्नेभन्दा धेरै सस्तो हुँदैनन् । कतिपयका विदेशमा हुने आफन्तले गिफ्ट पठाइदिने छुट्टै कुरा हो । ग्रे मार्केटबाट ल्याउँदा पनि बिदेशमा किन्नैपर्छ । त्यहाँको लोकल मार्केटमा सस्तो त पाउँदैन ।

हामीले एलसी खोल्दा बैंकको थ्रो बाट जान्छौं । जहाँसम्म मलाई लाग्छ हुन्डीको रेट बैंक रेटभन्दा बढी ६/७ रुपैयाँ महंगो पर्छ । उनीहरुले नेपालसम्म आइफोन ल्याउँदा निकै सस्तो पर्छ भन्ने मलाई लाग्दैन ।

यो समाचार पनि पढ्नुहोस् : नेपालमा आइफोनको आधिकारिक बिक्री सुरु

केही रुपैयाँ सस्तो हुँदैमा ग्राहकले ग्रे मार्केटको फोन किन्छन् भन्ने पनि लाग्दैन । किनकि हामीले ग्राहकलाई भ्याट बिल दिन्छौं, एक वर्षको वारेन्टी दिन्छौं, हामीसँग किन्ने सेटमा इन्स्योरेन्स हुन्छ, बिक्रीपछिको सेवा पाउँछन् । सवा लाखको फोन किन्ने ग्राहकले सेफ्टीलाई पनि उत्तिकै ध्यान दिन्छन । ग्रे मार्केटबाट आइफोन खरिद गर्नेले कुनै पनि सुविधा पाउँदैन ।

हामीलाई ग्रे मार्केटका आइफोनसँग डर छैन, खास चुनौती भनेको नक्कली आइफोनसँग हो । जो बिभिन्न देशमा कपी भएर बनेका हुन्छन् । त्यस्ता सेट सस्ता पनि हुन्छन, तर आधिकारिकरुपमा एप्पलले उत्पादन गरेका हैनन् । त्यसले चाहिँ हामीलाई अलि समस्या पार्न सक्छ ।

नेपालमा आइफोन सिक्सको मूल्य कति तोक्नुभएको छ ?

आईफोनको स्टोरेज क्षमताअनुसार मूल्य फरक-फरक रहेको छ । हामीले आइफोन ६ लाई १६  जीबीको ८१ हजार ९ सय, ६४ जीबीको ९२ हजार ४ सय । १२८ जीबीको १ लाख ४ हजार ९ सय रुपैयाँ एमआरपी तोकेका छौं ।

त्यसैगरी, आइफोन ६ प्लसको एमआरपी १६ जीबीको ९२ हजार ४ सय, ६४ जीबीको १ लाख ४ हजार ९ सय र १२८ जीबीको १ लाख १७ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसमा १३ प्रतिशत भ्याट समावेश गरिएको छ । साथै, १ वर्षको वारेन्टी पनि छ ।

वैधानिकरुपमा आयात गरिएका आइफोन खरिदकर्तालाई बिक्रीपछिको सुविधा कस्तो उपलब्ध गराउनुहुन्छ ?

हामीले बिक्रीमात्र होइन, बिक्रीपछिको सुविधालाई पनि विशेष ध्यान दिएका छौं । फ्यूचर वल्र्डको आफ्नै सर्भिस सेन्टर हुन्छ । इभोको पनि आफ्नै हुन्छ । मूख्य सर्भिस सेन्टर हाम्रो हुन्छ । एनसेलमार्फत बजारमा  जाने मोबाइलहरु हाम्रो सर्भिस सेन्टरमा मर्मत हुन्छ । अहिलेलाई हामीले शेर्पा मलमा नै सर्भिस सेन्टर राखेका छौं ।

तपाईहरुको स्टोर र मर्मत केन्द्रमा बिदेशमा किनिएका आइफोनको मर्मत पनि गर्न पाइन्छ कि ?

 यस विषयमा हामीले एप्पललाई सोधेका थियौं, कम्पनीले अहिलेसम्म कुनै पनि जवाफ दिएको छैन । मलाई लाग्छ, यस विषयमा हामीलाई कम्पनीले अधिकार दिँदैन । यदि दियो भने त ग्रे मार्केटको प्रमोट भइहाल्छ नि ।

नेपालका प्रयोगकर्ताको क्रयशक्तिभन्दा आइफोन अलि महंगो मानिन्छ । तपाई मासिक किस्ता लगायत केकस्ता सुबिधा दिने योजनामा हुनुहुन्छ ?

यो सुविधा हामीले दिने होइन, रिसेलरहरुले दिने हो । किनभने हामीले रिटेल बेच्ने त होइन । मलाई लाग्छ, रिसेलरहरुले ग्राहकहरुलाई आइफोन किस्ताबन्दीमा दिने तयारीमा छन् । रिसेलरहरुले विभिन्न बैंकसँग इएमआई गर्ने सम्झौता गरिसकेका छन् । बैंकहरु पनि आइफोनको इएमआई गर्न इच्छुक छन् ।

आइफोनको बजारमा तपाईहरुको प्रतिस्पर्धा कुन ब्रान्डसँग हुने देखिन्छ ?

आइफोनको सीधा कम्पिटिसन हुने भनेको सामसुङसँग हो । अरु ब्रान्डसँग आइफोनले प्रतिस्पर्धा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । सोनी र एलजीको त्यति मार्केट छैन । ब्ल्याकबेरी नेपाली बजारमा त्यति राम्रोसँग चल्न सकेन । अहिले आइफोन ६ को प्रतिस्पर्धा भनेको सामसुङको नोट-४ सँग हो ।

तपाईहरु आइफोन बिक्रीमात्र गर्नुहुन्छ कि एक्स्चेञ्ज पनि गर्नुहुन्छ ?

अहिले पुरानो मोबाइलसँग एक्स्चेञ्ज गर्ने हाम्रो योजना छैन । अहिलेको एग्रीमेन्टमा एक्स्चेञ्ज गर्ने सुबिधा दिएको छैन । भर्खरै त ब्रान्ड प्रवेश गरेको छ, कसरी सुरुमै एक्स्चेञ्ज गर्न सकिन्छ ? बजारमा भएका अन्य आइफोन ग्रे मार्केटबाट आएका हुन् । अर्को वर्षदेखि कम्पनीलाई सम्झाउन सक्यौं भने एक्स्चेञ्ज गर्न सकिन्छ ।

तपाईहरुको आफ्नै शो-रुम राख्ने प्लान छ कि छैन ?

हाम्रो त्यस्तो प्लान त छ । तर, कम्पनीले स्वीकृति दिएको छैन । कम्पनीले स्वीकृति दिएमा काठमाडौं लगायतका मुख्य-मुख्य शहरमा एक्स्क्लुसिभ शो-रुम राख्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment