Comments Add Comment

उर्जामा दक्षिण अफ्रिकी लगानी र अनुभव आकर्षित गर्न महासंघको आग्रह

Mahasangh
१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र दक्षिण अफ्रिकाका लागि नवनियुक्त नेपाली राजदूत अमृतबहादुर राईबीच भेट भएको छ ।

महासंघ सचिवालयमा भएको भेटवार्तामा दक्षिण अफ्रिकामा नेपालको प्रवर्द्धन तथा नेपालमा दक्षिण अफ्रिकाको लगानी तथा प्रविधि आकर्षणका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा उर्जा क्षेत्रमा दक्षिण अफ्रिका अनुभवी राष्ट्र भएकाले नेपालको उर्जा उत्पादनमा त्यहाँको अनुभव आकर्षण गर्न कुटनीतिक तहबाट पहल हुनुपर्नेमा जोड दिइयो ।

आर्थिक कुटनीतिका माध्यमबाट उर्जा उत्पादनमा दक्षिण अफ्रिकाको अनुभव आदान प्रदान र लगानी आकर्षणमा नेपाली दूतावासको सक्रिय पहलको अपेक्षा गरेको महासंघ अध्यक्ष पाण्डेले बताए ।

भेटवार्तामा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, अन्तराष्ट्रिय तथा गैर आवासीय नेपाली समितिका सभापति चन्द्रप्रसाद ढकाल, महानिर्देशक डा. हेमन्त दवाडीको पनि सहभागिता थियो ।

उर्जा सहयोगका लागि सार्क ढाँचा सम्झौता र नेपाल भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौताले उर्जा विकासका लागि ढोका खुला भएको बताउँदै नेपाल र दक्षिण अफ्रिकाबीच नेपालको उर्जा विकासमा के कसरी सहकार्य गर्न सकिन्छ नवनियुक्त राजदूतबाट पहल गर्न महासंघको तर्फबाट आग्रह गरियो ।

छलफलका क्रममा दुई देशबीचको आर्थिक तथा व्यापारिक सूचनाको आदान प्रदान, लगानीका सम्भाव्यताको थप पहिचान, नेपालमा लगानी आकर्षणका लागि आर्थिक कुटनीतिको सक्रिय पहल एवं व्यवसायिक भ्रमणमा जोड दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment