Comments Add Comment

कसले मार्‍यो नोकियालाई ?

nokia-logo-3प्रबिधि दुनियाँमा नोकिया सफलता र असफलता दुवैको प्रतिक हो । कुनै बेला मोबाइल भनेकै नोकिया भन्ने अबस्था थियो । सन् २००७ मा मात्र मोबाइल बजारको ४० प्रतिशत हिस्सा नोकियाको थियो । तर, सन् २०१४ सम्म आइपुग्दा नोकियाले आफ्नो बजार हिस्सा गुमाउँदै अन्ततः सधैका लागि बन्द हुनुपर्ने स्थितिमा पुग्यो । अब मोबाइल फोन बजारमा नोकिया केवल इतिहास बन्यो, बिद्यार्थीहरुका लागि सन्र्दभ सामाग्रीका रुपमा । मोबाइल उत्पादन युनिट माइक्रोसफ्टलाई बेचेसँगै अब नोकिया ब्राण्ड मोबाइल फोन उत्पादन हुने छैन् ।
प्रबिधि दुनियाँ कति गतिशिल छ भन्ने कुराको सवैभन्दा ठूलो उदाहरण हो नोकिया । के आजका एप्पल, गुगल वा सामसुङ जस्ता प्रबिधि बादशाहहरु भोली नोकियाको नियति भोग्न बाध्य होलान ? आखिर किन ढल्यो नोकिया ? यति ठूलो बहुराष्ट्रिय ब्राण्डलाई कसले मार्‍यो ? यसमा कम्पनीको आफ्नो नीति जिम्मेवार थियो वा बाह्य कारण ?
यस्तै प्रश्नको जवाफसहित नोकियाको उत्थान र अबसानका केस्राकेस्रा केलाएर पेक्का न्याकानेन मेरिना साल्मिनेनले हालै ‘ओपेराटियो इलोप’ पुस्तक प्रकाशन गरेका छन् । पुस्तकको सारलाई समेट्दै उनीहरुले प्रोजेक्ट सिण्डिकेटमा लेखेको यो लेख भावानुवाद गरि यहाँ प्रस्तुत गरेका छौं ।
प्रविधि उद्योगमा स्थापित तथा अग्रणी कम्पनीहरु प्रायः छिटै तथा क्रुरतापूर्ण तरिकाले धरासायी हुने कुरा नियम जस्तै बनेको छ । मोबाइल फोन उत्पादक नोकिया कम्पनीको सफलताको कथा युरोपका प्रविधि उद्योगमा सबैभन्दा ठूलो सफलताको कथामा पर्छ । तर, यो नियमबाट नोकिया पनि अछुतो रहेन र केही वर्षको अन्तरालमै आफ्नो बजार हिस्सा गुमाउन पुग्यो । के अहिलेको प्रविधि जगतका सर्वोत्कृष्ट कम्पनी एप्पल र गुगल यो नियतिबाट बच्न सक्लान् ?
सन् २००७ मा विश्वबजारमा हुने मोबाइल फोन बिक्रिमा नोकियाको हिस्सा ४० प्रतिशत थियो । तर, त्यतिबेलासम्म उपभोक्ताको रोजाइ टचस्बिmनवाला स्मार्टफोनतर्फ सर्दै थियो । सो वर्षको मध्यतिर एप्पलको आइफोन बजारमा आएसँगै नोकियाको बजार हिस्सा तिब्र रुपमा खुम्चियो भने आयमा समेत ठूलो गिरावट आयो । सन् २०१३ को अन्त्यमा त नोकियाले आफ्नो फोन व्यवसाय माइक्रोसफ्टलाई बिक्रि गर्न बाध्य भयो ।
नोकियाको भाग्यमा यसरी बिर्को लाग्नुको मुख्य कारण चाहीँ सन् २०१० को अक्टोबरमा पद सम्हालेका यसका प्रमुख कार्यकारी स्टेफेन इलोपका श्रृंखलाबद्ध निर्णयहरु बन्न पुगे । इलोप नोकियाको शीर्ष पदमा रहुन्जेल हरेक दिन कम्पनीको बजार मूल्य २ करोड ३० लाख डलरले घट्यो, जुन असफलताले उनलाई ‘इतिहासकै सबैभन्दा खराब सिइओमध्येे एक’का रुपमा बदनाम गरायो ।
इलोपको सबैभन्दा ठूलो गल्ती भनेकै नोकियाको स्मार्टफोनका लागि एकमात्र प्लाटर्फमको रुपमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम छनोट गर्नु रह्यो ।
आफ्नो बर्निङ प्लाटर्फम शीर्षकको स्मृतिपत्रमा इलोपले नोकियालाई यस्तो मानिससँग तुलना गरेका छन् जो समुद्रको किनारमा आगोको लप्काले घेरिएको छ, जसको विकल्प कि त जलेर मर्नु हो कि त चिसो समुद्रमा अनिश्चित हाम फाल्नु हो । उनले भनेको यो कुरा सही थियो की यथास्थितिको व्यवसाय नोकियाका लागि मृत्युसरह थियो तर कम्पनीको जीवन प्रदायकको रुपमा माइक्रोसफ्टलाई छनोट गर्नु भने उनको त्यो भन्दा ठूलो गल्ती थियो ।
गल्ती गर्नेमा केवल इलोप मात्र थिएनन् । नोकियाको पूरै बोर्डले नै परिवर्तनको विरोध गर्यो जसका कारण प्रविधि उद्योगमा आएको तिब्र परिवर्तनमा अनुकुलित हुन नोकियालाई असम्भव भयो । जोर्मा ओलिला पनि उल्लेखनीय नाम हो, जसले नोकियालाई औद्योगिक समूहबाट टेक जाएन्ट कम्पनीसम्म पूराउने अगुवाई गरे । विगतको सफलताप्रतिको ठूलो मोहका कारण प्रतिस्पर्धीतालाई धान्नका लागि आवश्यक पर्ने परिवर्तनलाई पहिचान गर्न उनी असफल रहे ।
नोकिया कम्पनी खर्च कटौतीको निरासाजनक कार्यक्रममा समेत फस्यो जसबाट नोकियाका हजारौँ कर्मचारीले जागिर गुमाए । यसले कम्पनीको एकमन संस्कार ध्वस्त पार्न सहयोग गर्यो । नोकियाका कर्मचारीको एकमन संस्कार अर्थात् एकताका कारण कर्मचारीहरुलाई जोखिम मोल्न तथा चमत्कार गर्नका लागि अभिप्रेरित गथ्र्यो । क्रमशः असल अगुवाहरुले कम्पनी छाड्न लागे र नोकियाको दूरदृष्टि तथा दिशाको चेतना समेत आफुसँगै लगे । त्यो सँगै नोकियाको सबैभन्दा मूल्यवान डिजाइन तथा प्रोग्रामिङका दक्ष र प्रतिभावान जनशक्तिले समेत कम्पनी छाडे ।
nokia-logo-2तर आइफोन तथा एन्ड्रोइड डिभाइस जस्तै सहज र प्रयोगकर्तामैत्री स्मार्टफोन निर्माण गर्ने नोकियाको क्षमतामा सबैभन्दा ठूलो अड्चन उत्पन्न गर्ने विषय नै आफ्नो विगतको सफलताको विषयमै अडिरहनु र त्यसभन्दा अगाडि बढ्न अस्विकार गर्नु रह्यो । उदाहरणका लागि नोकियाले सुरुमा गुगल एप्लिकेसन समावेश नगरिकन आफ्ना स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नसक्ने दाबी गर्यो । तर माइक्रोसफ्टले किन्नुअघि सम्म भने नोकियाले एन्ड्रोइडमा आधारित फोनहरु गुगल एक्स निर्माण गरेको थियो जसमा गुगल एप्सको साटो नोकिया म्याप र माइक्रोसफ्ट सर्च राखिएको थियो ।
नोकियाले किन पहिले नै एन्ड्रोइड छानेन ? यसको छोटो उत्तर हो- पैसा । माइक्रोसफ्टले विन्डोज फोनमात्र प्रयोग गर्नका लागि नोकियालाई अरबौँ डलर रकम तिर्ने प्रतिबद्धता जनाएको थियो । गुगलले आफ्नो एन्ड्रोइड सफ्टवेयर प्रदान गर्ने कुरासँग माइक्रोसफ्टको पैसाको अफरको तालमेल मिल्ने कुरा भएन । तर, माइक्रोसफ्टको पैसाले नोकियालाई बचाउन सकेन । पैसा मात्रैले औद्योगिक वातावरण बनाउन असम्भव हुन्छ ।
इलोपको माइक्रोसफ्टको पूर्व अनुभवले पनि निश्चित रुपमा यसमा भूमिमा खेल्यो । अन्ततः अप्ठेरो अवस्थामा मानिस आफुजस्तै लाग्ने चिजतर्फ नै ढल्किन्छ । इलोपका लागि आफुजस्तै लाग्ने चिज अर्को डुब्न लागेको कम्पनी बन्यो । नोकियाले विन्डोज छनोट गरेको कुरा सुनेपछि उतिबेलै गुगलका निर्देशक विक गुन्डोत्राले टि्वटरमा लेखेका थिए, ‘दुई टर्की चरा मिलाएर चिल बनाउन सकिँदैन ।’
एप्पल र गुगलले पनि सजिलोसँग आराम गर्नु हुँदैन । मोबाइल फोन उद्योगमा नोकियाले जस्तै कुनै दिन उनीहरुले आफ्नो वर्चस्व गुमाउन सक्छन् । तर आफ्नो सफलतालाई लम्बाउन उनीहरुले चाल्न सक्ने पाइलाहरु भने छन् ।
पहिलो, यी कम्पनीहरुले नयाँ आविष्कारलाई निरन्तरता दिनुपर्छ जसका कारण आफैभित्रबाट सिर्जना हुनसक्ने विघटनकारी प्रविधिलाई सुधार्न सकोस् । यदि बजार अगुवाहरुले नयाँ आइडियाको आविष्कार गर्ने तथा मलजल गर्ने प्रणालीलाई लागू गरे र कामदारहरुले गल्तीबाट डराउनु नपर्ने संस्कृतिको निर्माण गरे भने उनीहरु आफ्नो उद्योगको धारमा टिकिरहन सक्छन् ।
दोश्रो, मुख्य उद्योगहरुले नयाँ उदीयमान आविष्कारकहरुलाई मूलप्रवाहीकरण गर्नुपर्छ । साना कम्पनीहरुसँग साझेदारी गर्नुको साटो आविष्कारशील प्रविधि तथा हस्तक्षेपकारी क्षमतासहित काम गर्नुपर्छ ।
अन्त्यमा, सफल कम्पनीहरुले निरन्तर रुपमा आविष्कार गरिरहनु पर्छ नै उनीहरु अनुकरण गर्ने कुरामा पनि डराउनु हुँदैन । यदि आइफोन बजारमा आइसकेपछि नोकियाले तत्कालै आफ्ना प्रडक्टहरुलाई सोही बमोजिम विकाश गरेको भए अहिले नोकियाको अवस्था निकै भिन्न हुने थियो ।
Nokia-Logo11नोकियाको अनुभवले नियामकहरुको लागि पनि महत्वपूर्ण पाठ पढाएको छ, विशेषगरी युरोपेली युनियनमा । अवरोधकारी प्रविधिलाई निर्मूल पार्नु तथा विद्यमान कम्पनीहरुलाई संरक्षण गर्ने प्रयास गर्नु सही विकल्प होइन । यस्तो प्रयासले ग्राहकलाई हानी गर्छ, एकातर्फ प्रविधिको प्रगतिमा बाधा गरेर र अर्को तर्फ मूल्य प्रतिस्पर्धालाई हटाएर । सामसुङका एन्ड्रोइड स्मार्टफोनका कारण एप्पललले आफ्ना आइफोनको मूल्य घटाउनु परेको उदाहरण हाम्रो सामु छ ।
नोकियाको असफलतामा निकै महत्वपूर्ण शिक्षा लुकेको छ । प्रविधि कम्पनीहरु आफ्नो बोर्ड अफ डाइरेक्टरहरुलाई खुसी पारेर तथा साझेदारसँग दशौँ लाख डलरको सम्झौता गरेर मात्र सफल बन्न सक्दैनन् । जुन कम्पनीले उपभोक्तालाई खुसी बनाउन सक्छ, चाहे त्यो स्थापित बहुराष्ट्रिय कम्पनी होस् वा चलायमान स्टार्टअप, उसैले विजय हासिल गर्छ । यो पाटोलाई नजरअन्दाज गर्ने कम्पनीहरु अवश्य विनाश हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment