Comments Add Comment

बहस : पञ्चकन्याको प्रयोग ठीक कि बेठीक ?

PANCHAKANYA-Final
नेपाल निर्माण व्यवसायी महासंघको १७ औं साधारणसभामा प्रधानमन्त्री सुशील कोइरालाको स्वागतमा राखिएका पन्चकन्या ।

विनोद घिमिरे
२ पुस, काठमाडौं । नेपाली समाजमा शुभकार्यमा होस् वा विशिष्ट अतिथिहरुको स्वागतमा पन्चकन्याहरुको प्रयोग गर्ने प्रचलन छ । पाँचजना बालिकाहरुलाई नेपाली मौलिक पहिरनमा सजाएर अतिथिहरुको स्वागतमा प्रयोग गर्ने प्रचलन ठीक कि बेठीक ? यसबारे वौद्धिक क्षेत्रमा दुई किसिमका प्रतिक्रिया आएका छन् ।

अघिल्लो साता निर्माण व्यवसायी महासंघको १७ औं साधारणसभा उदघाटन गर्न  प्रज्ञाभवन पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई पञ्चकन्याबाट स्वागत गरियो । विश्व क्रिकेट लीग डिभिजन थ्रीको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय टोलीलाई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पञ्चकन्याबाटै स्वागत गरियो ।

Dr.-RameshPokhrelपञ्चकन्याको प्रयोग ठीक छ : डा. ढुंगेल

संस्कृति र राजनीतिका जानकार डा. रमेश ढुंगेलको बिचारमा साँस्कृतिक दृष्टिकोणले यो प्रचलन सकारात्मक छ । ‘रजस्वला नभएका बालिकालाई नेपाली समाजमा पूजा गर्ने चलन परापूर्वकालदेखिकै हो,’ ढुंगेल भन्छन्, ‘यी शुभसाइतका प्रतीक हुन्, त्यसैले पञ्चकन्याको प्रयोगलाई नकारात्मक दृष्टिकोणले हेर्न त्यति उपयुक्त हुँदैन ।’

नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा विशिष्ट अतिथिहरु निर्धारित समयभन्दा ढिला पुग्छन् । आयोजकहरु तोकिएको समयमै अतिथि आउने विश्वासमा फूलमाला लिएर स्वागतका लागि तम्तयार हुन्छन् ।

स्वागतका लागि अघि सारिन्छन् पाँचकन्याहरु । ती स-साना बालिकाहरुलाई हातमा फूलमाला थमाइदिएर आयोजक पक्षले अतिथिको स्वागतका लागि उभ्याएका हुन्छन् । पञ्चकन्याहरुलाई भोक लागेको छ कि, प्यास लागेको छ कि, दिसा-पिसाब लागेको छ कि भन्नेतिर कमैको मात्रै ध्यान जान्छ । एकप्रकारले पञ्चकन्याहरुले यातना जस्तै अप्ठेरोको सामना गर्नु परिरहेको हुन्छ ।

डा. ढुंगेल भन्छन्, ‘आधुनिकता र लिङ्गीय विभेदको पक्षबाट हेर्ने हो भने यो गलत होला तर धार्मिक तथा साँस्कृतिक दृष्टिले त पञ्चकन्याको प्रयोग सही हो ।’ उनले संसारभर सुन्दरताको प्रतीक मानिने महिला तथा बालबालिकाको नेपालमा भैरहेको प्रयोग सामान्य रहेको बताए ।

Modnath-prasitपितृसत्ताको अभ्यास हो : डा. प्रश्रित

अतिथिहरुको स्वागतमा बालकहरुको प्रयोग त्यति गरिएको देखिँदैन । जुनसुकै स्थानमा बालिकाहरु नै प्रयोग गरिन्छ । सँस्कृतिका जानकार डा. मोदनाथ प्रश्रितको बिचारमा यो पितृसत्ताको प्रभाव हो । ‘नेपालमा पितृसत्तात्मक समाज हाबी छ, त्यसैको एउटा रुप हो, पञ्चकन्याको प्रयोग,’ प्रश्रित भन्छन् ।

‘कुनै कार्यक्रमको मञ्चमा आसीन अतिथिहरुलाई ब्याच लगाइदिन पनि महिलाहरुलाई नै अघि सार्ने चलन छ, यो पित्तृसत्ताकै अवशेष हो, प्रश्रितले अनलाइनखबरसँग भने, ‘पहिले पहिले पञ्चकन्यालाई पैसा दिने चलन थियो, अहिले त्यत्तिकै काम लगाउँछन् ।’

मञ्चमा पुरुषहरु गमक्क परेर बस्ने अनि महिलाले नै ब्याच लगाइदिनुपर्ने प्रचलन रहेको प्रश्रितले बताए ।

nirmala-sharma1यो आडम्बर हो : शर्मा

सन्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा पञ्चकन्याहरुको प्रयोगलाई आडम्बरी मान्छिन् । ‘देशका सबै बालिका र महिलाहरुको सम्मान भए मात्रै यसको अर्थ हुन्छ, महिला तथा बालबालिकाहरु नभै धर्मकर्म अपूरो हुन्छ, तर तिनै महिलाहरुलाई बोक्सीको आरोपमा जलाउने र कुट्ने गर्छन्,’ शर्मा भन्छिन्, ‘सबै बालबालिका र महिलाहरु सम्मानपूर्वक बाँच्ने वातावरण नभएको स्थितिमा पञ्चकन्यालाई ‘शो पिस’को रुपमा प्रयोग गरिनु गलत छ ।’

आफू नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अतिथिहरुलाई ब्याच वितरणको जिम्मा दिइएको र त्यसलाई अस्वीकार गरेको प्रसंग सुनाउँदै शर्माले देशका सबै कन्याहरु पूजिने वातावरण निर्माणमा सरकार र सबै सचेत नागरिक लाग्नुपर्ने बताइन् ।

basudebपण्डित भन्छन्- महत्व नबुझ्दा गलत प्रयोग भयो

पञ्चकन्याको प्रयोग कहिलदेखि सुरु भयो भन्ने ठोस इतिहास छैन । तर, यो प्रचलन वैदिककालदेखिकै हो भन्छन् जानकारहरु । संस्कृतिविद डा. वासुदेवकृष्ण शास्त्रीको बिचारमा पञ्चकन्याको अर्थ र महत्व नबुझ्दा गलत प्रयोग भैरहेको छ ।

‘वैदिककालदेखि नै चल्दै आएको यो चलन राजा, महाराजा हुँदै राजनीतिक दलका नेताहरुले पनि दुरुपयोग गरे,’ नेपाली ज्ञान सभाका प्रवक्तासमेत रहेका शास्त्री भन्छन्, ‘पृथ्वी, जल, तेज, वायु र आकाश पाँचतत्वका प्रतीक पञ्चकन्याको गलत प्रयोग हुँदा महत्व हराउँदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment