Comments Add Comment

ड्राइभर लाइसेन्समा कडाइ गर्ने नियम कार्यान्वयन नगर्ने सरकारी आश्वासन

२ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा कडाइ गर्न ल्याएको नियमावली तत्काल कार्यान्वयन नगर्ने प्रतिवद्धता जनाएको छ ।

मजदुर संगठनका प्रतिनिधिहरुसँग बुधबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले नयाँ नियम तत्काल कार्यान्वयन नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

driver-new ‘हामीले हाम्रो असहमति राख्यौं’ नेपाल यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले अनलाइनखबरसँग भने-‘सचिवले थुप्रै नियम कानुन संशोधन गर्नु पर्ने छ । यो नियमावली तत्काल राजपत्रमा प्रकाशित हुँदैन भन्नु भएको छ ।’

सवारी दुर्घटनामा चालक बढी दोषी भएको भन्दै सरकारले लाइसेन्स लिन १० कक्षा पास गर्नु पर्ने, सार्वजनिक सवारी चलाउन २५ वर्ष उमेर पुगेको हुनु पर्ने लगायतका प्रावधान राखेर नियमावली पारित गरेको थियो ।

मन्त्रालयमा भएको छलफलमा यातायात मजदुरका प्रतिनिधिहरुले चालक बन्न १० कक्षा पास गर्नु पर्ने प्रावधानको विरोध गरेका छन् । ‘अहिले डेढ लाख सहचालक छन् र उनीहरु चालक बन्न चाहन्छन्’ ज्वालाले भने-‘त्यसैले यो लागू हुन सक्दैन । बरु सीटीइभीटीमार्फत पाठ्यक्रम बनाएर त्यो पास भए १० पास सरह मान्य हुने बनाउनु भनेर हामीले सुझाव दिएका छौं ।’

यातायात मजदुरका प्रतिनिधिहरुले दश पासलाई नै राख्ने हो भने पाँच वर्षपछि मात्र लागू हुने गरी बनाउनु पर्ने माग गरेका छन् ।

बैठकमा सचिव सिटौलाले हाल रहेका चालकहरु पनि दुई वर्षभित्र नयाँ नियम अन्तरगत आउनु पर्ने बताएका थिए । तर, मजदुर संगठनका प्रनिनिधिहरुले त्यसको विरोध गरेको ज्वालाले बताए ।

मजदुर संगठनका प्रतिनिधिहरुले सार्वजनिक सवारीको चालक बन्न तोकेको उमेर हदलाई मोटरसाइकल चालकलाई पनि लागू गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment