Comments Add Comment

ओलीले भने-देशलाई रुवाण्डा बनाउन खोज्नेसँग सहमति हुँदैन

Kp-oli,-jn-and-madhav-nepal

२ पुस, काठमाडौं । नेकपा एमालेले जनतालाई जातीय, क्षेत्रीय र धार्मिक आधारमा बिभाजित गर्न खोज्नेहरुसँग सहमति नहुने प्रष्ट पारेको छ ।

केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेका तीनै शीर्ष नेताहरु अध्यक्ष केपी ओली, पूर्व अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपालले जातीय र क्षेत्रीय आधारमा देशलाई बिभाजित हुन नदिने प्रष्ट पारे ।

दुई तिहाई भन्दा बढि संख्या हामीसँग छ । तर, हामी सहमतिकै लागि धैर्य गरिरहेका छौं-केपी ओली

‘पहिचानका नाममा जातीय विद्धेष फैलाउने, धर्मका नाममा विग्रह मच्चाउने र तराई पहाड अलग गरेरमात्र प्रदेश विभाजन गर्न खोज्नेहरुसँग सहमति हुँदैन’ अध्यक्ष ओलीले भने-‘देशलाई रुवाण्डा बनाउन खोज्नेहरुसँग के को सहमति ?’

देशलाई रुवाण्डा बनाउन खोज्नेहरु को हुन् ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले यसको जवाफ पूर्व अध्यक्ष झलनाथ खनाललाई दिन आग्रह गरे ।

खनालले जाति र धर्मका आधारमा जनतालाई विभाजित गर्न खोज्नेहरु नै अतिवादी तत्व हुन् भन्दै माघ ८ मा संविधान नआए उनीहरु बलियो बन्ने दावी गरे ।

अध्यक्ष ओलीले पहिचान सहितको संघीयता भन्नेहरुले संघीयता नै आउन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए । ‘माघ ८ मा संविधान नआउनुपर्ने कारण के छ ?’ ओलीको प्रश्न थियो-‘असल नियत भए माघ ८ मै आउँछ ।’

एमाले अध्यक्ष ओलीले अहिले पनि दलहरुबीच सहमति भए प्रक्रिया छोट्याएर भने पनि माघ ८ मा संविधान जारी गर्न सकिने बताए ।

उनले आफूहरुसँग संविधान जारी गर्नका लागि आवश्यक संख्या रहेको दावी गरे । ‘दुई तिहाई भन्दा बढि संख्या हामीसँग छ’ एमाले अध्यक्ष ओलीले भने-‘तर, हामी सहमतिकै लागि धैर्य गरिरहेका छौं’ ।

एमालेका अर्का नेता माधवकुमार नेपालले एमालेले पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अब मुलुकलाई संविधान दिलाउन हस्तक्षेप गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment