Comments Add Comment

निगमको एयरबस फ्रेबुअरीमा नेपाल अाउने, निर्माण कार्य अन्तिम चरणमा

NAC-Airbus-

२ पुस, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तोकिएकै समयमा एयरबस पाउने भएको छ । दुईवटा ‘एयरबस ए ३२०-२००’ मध्ये निगमले पहिलो जहाज आगामी फ्रेबुअरीमा पाइसक्ने भएको हो ।

फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसले पहिलो जहाजको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबससँग दुईवटा न्यारोबडी जहाज खरिद गर्ने सम्झौता गरेको थियो ।

निगमले दिएको जानकारी अनुसार जहाजको बडी बनाउने काम पुरा भइसकेको छ । अहिले जहाजको लिवेरीसहित अन्य रंगरोहनको काम सक्रियतापूर्वक भइरहेको छ । साथै, जहाजमा इन्जिन जडान गर्ने र सीट राख्ने काम पनि एक साथ भइरहेको छ ।

केही समय अगाडी नेपाल भ्रमणमा आएका एयरबसका अधिकारीले निर्धारित समयमा जहाज हस्तान्तरण गर्ने बताएका थिए । निगमले पनि अहिलेसम्म निर्धारित कार्य तालिका अनुसार जहाजको निर्माण कार्य भइरहेको जनाएको छ ।

निर्धारित समयमा जहाज पाउने भएपछि निगमले माघको दोस्रो साता परिक्षण उडान गर्ने जानकारी गराएको छ  । एयरबस कम्पनीले दोस्रो जहाज भने निगमलाई दुई महिना ढिलो अप्रिल महिनामा उपलब्ध गराउने छ ।

दुबै जहाजमा १५८ सीट क्षमता रहेको छ । जसमध्ये ८ वटा बिजनेश क्लास र १५० वटा इकोनोमी क्लासका सिट हुनेछन् । दुबै जहाजमा इन्टरनेशनल एरोइन्जिनका इन्जिनहरु जडान हुने निगमले जनाएको छ ।

अहिले निगसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा बोइङ रहेका छन् । जुन बोइङ एउटा उड्दा अर्को ग्राउन्डेड हुने समस्याले निगम पिरोलिएको छ । अहिले पनि एउटा बोइङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड अवस्थामा रहेको छ ।

एयरबस आएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज हुनेछन् । निगमले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि जहाजहरु थपिरहेको छ । गत वैशाख १४ गते निगमले २८ वर्षपछि नयाँ जहाज त्रिभुवन विमानस्थलमा अवतरण गराएको थियो ।

आन्तरिक उडानका लागि चीनबाट ल्याइएको उक्त ‘एम-६०’ जहाजले अहिले व्यवसायीक उडान गरिरहेको छ । चीनबाटै ल्याइएको अर्को जहाजले बिहीबारदेखि पोखराबाट व्यवसायीक उडान सुरु गर्दै छ । दुबै विमान निगमले चीन सरकारबाट अनुदानमा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment