Comments Add Comment

यी हुन् भावी राष्ट्रपतिका दाबेदार

Prachanda,-susul,-jn-and-madhav

३ पुस, काठमाडौं । नेकपा एमालेका नेताहरुले राजनीतिक बजारमा पुस १ गतेदेखि एउटा नयाँ हल्ला शुरु गरेका छन् कि एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति हुने इच्छा देखाए ।

तर, आकाशमा चिल आएको हल्ला गरेर जमीनमा कुखुरो समात्ने नेपाली आहानजस्तै राष्ट्रपतिको गादी ताक्नेमा प्रचण्ड एक्ला नेता होइनन् ।

प्रमुख दलका नेताले भनेको माघ ८ आउन अब पुग-नपुग एक महिना छ । यही समयसीमाको विभ्रममा परेर माघको जाडो गएपछि राष्ट्रपति बन्ने सपना सँगाल्ने नेताहरु एमाले र कांग्रेसभित्र प्रशस्तै देखिएका छन् ।

एमाओवादीका एक शीर्षनेताले गरेको दाबीअनुसार कांग्रेस सभापति सुशील कोइराला र केपी ओलीवीच राष्ट्रपति र प्रधानमन्त्रीबारे गोप्य भागवण्डा भैसकेको छ । जसअनुसार माघ ८ पछि सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने डिजाइन तयार भएको एमाओवादी नेताको दाबी छ ।

यसअघि कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. रामवरण यादवले नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य प्राप्त गरेको हुनाले दोस्रोपटक पनि कांग्रेसबाटै राष्ट्रपति हुने र त्यो सीटमा आफैं बस्ने सुशील कोइरालामा महत्वाकांक्षा जाग्नु अस्वाभाविक होइन ।

एकपटक प्रधानमन्त्री बनेपछि राष्ट्रपति ताक्ने क्रम शीर्ष नेताहरुमा देखिन थालेको छ । र, यो लाइनमा एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि लामवद्ध छन् । त्यसैले खनाल र नेपाल सुशील कोइरालालाई पन्छाएर आफैं राष्ट्रपति बन्न चाहन्छन् ।

एमालेका तर्फबाट राष्ट्रपति बन्न योग्य नेताहरु नेपाल र खनाल हुन् । कांग्रेसमा सुशील कोइरालाबाहेक अरु देखिएका छैनन् ।

शीतलनिवासको भागवण्डा

त्यसो त राजनीतिक दलहरुले नेताको अहम व्यवस्थापनका लागि राज्यका उच्च तहका पदहरु कोठाभित्रै बसेर भाग लगाउन थालेका छन् ।

नेकपा एमालेभित्र झलनाथलाई राष्ट्रपति, केपीलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टी अध्यक्ष्ग्ा बनाउनुपर्ने नवौं महाधिवशेनताका नेपाल पक्षको तर्क थियो ।

तर, अहिले केपी ओली एमालेको पार्टी अध्यक्ष बनिसकेका छन् । विगतमा एक व्यक्ति एक पदको वकालत गर्दै झलनाथलाई संसदीय दलको नेता बन्न नदिएका ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद आफैंले लिने दाऊमा छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल भने अध्यक्ष ओलीलाई कन्भिन्स गरेर शीतल निवासको जिम्मेवारी सम्हाल्ने मनोवैज्ञानिक तारतम्य मिलाउँदैछन् भन्ने बुझ्न त्यति गाह्रो छैन ।

नेताको व्यवस्थापनका लागि शीतलनिवास भाग लगाउने चलन एमालेबाट अहिले एमाओवादीमा सरेको छ । एमाओवादीभित्र प्रचण्डलाई राष्ट्रपति र बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भन्ने आवाज एमालेकै सिको हो ।

पार्टी कमजोर बन्दै र खुम्चिँदै गएका बेला प्रचण्ड राष्ट्रपति बन्ने सम्भावना चुनौतीपूर्ण देखिन्छ । यद्यपि एमाओवादीभित्र शीतलनिवास भाग लगाउने कार्य शुरु भएको छ ।

विगतमा गिरिजाप्रसाद कोइरालाले मुलुकको पहिलो राष्ट्रपति बन्ने इच्छा देखाएका थिए । गिरिजालाई राष्ट्रपति नबनाउनु गल्ती भयो भन्ने अभिव्यक्ति प्रचण्डले पटक-पटक दिइसकेका छन् । र, यतिबेला गिरिजासँग कद मिल्ने जीवित नेता आफू मात्रै रहेको प्रचण्डले दाबी गर्दै आएका छन् ।

प्रचण्डको ‘दुर्भाग्य’

विगतमा एमाओवादीले प्रचण्डलाई नेपालका ‘प्रथम भावी राष्ट्रपति’ भनेर प्रचारमात्रै गरेन, रत्नपार्क लगायतका स्थानमा यस्तै लेखेर होडिङ बोर्ड नै ठड्यायो ।

तर, जसरी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले १७ पटक प्रयास गर्दा पनि प्रधानमन्त्री बन्न भाग्यले साथ दिएन, त्यसैगरी प्रचण्डलाई पनि राष्ट्रपति बन्न भाग्यले दिएन ।

तर, यतिबेला प्रचण्डलई पुनः राष्ट्रपतिका रुपमा प्रोजेक्ट गर्ने काम सुरु भएको छ । प्रचण्डले राष्ट्रपति बन्नै हुँदैन वा मिल्दैन भन्ने पनि छैन । तर, प्रचारमात्रै गर्ने र कहिल्यै प्राप्ति नहुने स्थिति आयो भने रामचन्द्र पौडेल र प्रचण्डको भाग्य एउटै रहेछ भन्ने मान्यता जनमानसमा स्थापित हुन सक्छ भन्नेतर्फ एमाओवादी खासै सजग देखिएको छैन ।

एमाले नेताहरुले प्रचण्ड राष्ट्रपति बन्न खोजेको प्रचार गरिरहँदा प्रचण्डले मौन स्वीकृति जनाएको देखिन्छ । तर, हल्ला गरिँदैछ प्रचण्डको, तयारी गरिँदैछ सुशील, झलनाथ वा माधव नेपालको ।

संविधानसभामा अलमल, शीतलनिवासमा छलफल

यसैवीच राष्ट्रपतिको होहल्ला गरेर यता संविधानसभामा चाँहि दलका नेताहरुले जसोतसो माघ ८ को म्याद गुजार्ने खेल सुरु गरेका छन् ।

संविधानसभाभित्रै हुटिङ गर्ने र पक्ष-प्रतिपक्षको जस्तो विवाद गर्ने कार्यले दलहरुवीच संविधानका अन्तरवस्तुमा सहमति हुन ढिलाइ भइरहेको छ ।

माघ ८ आउनै लाग्दासम्म संविधानसभा अलमलमा परेको छ भने उता व्यवहारिकरुपमै पदावधि सकिन लागेका राष्ट्रपति डा. रामवरण यादवले चाँहि प्रधानमन्त्री, सभामुख र विपक्षी दलका नेतालाई पालै पालो शीतलनिवासमा बोलाएर सक्रियता देखाउन सुरु गरेका छन् ।

राष्ट्रपति यादवले भावी राष्ट्रपतिको चर्चामा आएका एमाओवादी अध्यक्ष प्रचण्डसँग बुधबार शीतलनिवासमा भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment