Comments Add Comment

नेपालबाट दैनिक २० करोड कालोधन बाहिरिदै

३ पुस, काठमाडौं । नेपालबाट दैनिक २० करोड ६५ लाख रुपैयाँ अवैध रूपमा बाहिरिएको एक प्रतिवेदनले देखाएको छ। ग्लोबल फाइनान्सियल इन्टिग्रिटी (जीआईएफ) को प्रतिवेदन अनुसार नेपालबाट सन् २००३ देखि २०१२ सम्मको अवधिमा प्रतिवर्ष औसत सात अर्ब ५४ करोड रुपैयाँ बाहिरिएको हो।
nepali-note
अमेरिकाको वासिंगटन डीसीस्थित जीआईएफको प्रतिवेदन अनुसार विविध अपराध, भ्रष्टाचार, करछलीलगायतमार्फत कमाएको कालोधन यसरी बाहिरिएको छ। तर, पछिल्ला वर्ष भने यो क्रम घटेको छ। सन् २०१२ मा मात्र नेपालबाट १० अर्ब ६० करोड कालोधन बाहिरिएको छ। सन् २०११ मा ६४ अर्ब ५० करोड बाहिरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिवदेनका अनुसार सन् २०१० मा भने सबैभन्दा बढी अर्थात् एक खर्ब ८८ अर्ब अवैध धन बाहिरिएको थियो। लम्बिँदो राजनीतिक संक्रमणको फाइदा उठाएर भ्रष्टाचारीले देशबाट अवैध धन बाहिर लगेको हुन सक्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। लम्बिँदो राजनीतिक संक्रमणकालले सरकार कमजोर बनेका बेला अवैध धन ओसारपसार गर्न सहज भएको उनको निष्कर्ष छ।

प्रतिवेदनमा विकासशील राष्ट्रबाट प्रतिवर्ष १० खर्ब अमेरिकी डलरबराबरको अवैध धन पश्चिमा मुलुकमा जाने गरेको उल्लेख छ। ग्लोबल फाइनान्सियल इन्टिग्रिटीका अनुसार प्रतिवेदन विभिन्न राष्ट्रले अन्तर्राष्ट्रिय मुद्रा कोषमा बुझाएको आयातनिर्यात तथा भुक्तानी सन्तुलनको विवरणमा आधारित छ। प्रतिवेदनको प्रक्षेपण अनुसार विकासशील राष्ट्रबाट प्रतिदिन करिब तीन अर्ब अमेरिकी डलरबराबरको अवैध धन पश्चिमा मुलुकमा जाने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment