Comments Add Comment

एमालेको ‘बल्खु दरबार’ बिक्रीमा, न्यूनतम मूल्य १५ करोड

uml (1)

३ पुस, काठमाडौं । आर्थिक, भौतिक र सांगठानिक व्यवस्थापनका हिसाबले मुलुककै धनी पार्टी नेकपा एमालेलाई मदननगर बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय अब साँघुरो भएको छ ।

चक्रपथभित्र ७ रोपनी क्षेत्रफलमा रहेको पार्टी कार्यालय साँघुरो हुन थालेपछि एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले चक्रपथ बाहिर हालको भन्दा तेब्बर बढी क्षेत्रफलमा अत्याधुनिक टावरसहितको कार्यालय खडा गर्ने निर्णय गरेको छ ।

पार्टीको बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गरेको कार्ययोजनामा आगामी ०७२ चैतभित्र पार्टीले गर्नुपर्ने केन्द्रीय कार्यालय व्यवस्थापनको एजेण्डा पनि समावेश गरिएको छ ।

‘यो कार्ययोजना पारित भएपछि एक वर्षभित्र हामीले नयाँ कार्यालय व्यवस्थापन गरिसक्नुपर्ने भएको छ’ एमाले सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने ।

एक वर्षभित्र नयाँ कार्यालय भवनमा सर्ने गरी काम शुरु भइसकेको र केन्द्रीय सचिवालयले उपयुक्त जग्गा खोजी गरिरहेको ज्ञवालीले बताए । ‘सायद सातदोबाटोतिर हुन सक्छ अथवा यतै कतै’ ज्ञवालीले भने ‘पार्टीको बढ्दो संरचनासँगै व्यवस्थित र अत्याधुनिक भवन फराकिलो पार्किङ सहितको बन्नेछ ।’

एमालेले पहिलोपटक ९ महिने अल्पमतको सरकार गठन गरेका बेला बल्खुमा ०५२ सालमा अहिलेको पार्टी कार्यालय भवन बनाएको थियो । त्यसबेला आफ्नै पार्टी कार्यालय भवन हुने एमाले पहिलो पार्टी बनेको थियो ।

जग्गा किन्ने ग्राहकको खोजी

एमालेले नयाँ ठाउँमा पार्टी कार्यालय बनाउने भएपछि अहिलेको भवन तथा यसको पूर्वपट्टि रहेको जग्गा बिक्री गर्न ग्राहक खोजिरहेको छ ।
‘एक्काइसौं शताब्दीको कम्युनिस्ट केन्द्र बन्न लागेको हाम्रो पार्टीका लागि त्यहीखालको भवन बनाउन जग्गा खोजिँदैछ’ केन्द्रीय कार्यालय सचिव पृथ्वीसुब्बा गुरुङले भने ‘अहिलेको पार्टी कार्यालय र पूरै जग्गा बेचेर नयाँ ठाउँमा किन्छौं’ ।

कम्तिमा २२ देखि बढीमा ३० रोपनीसम्मको उपयुक्त जग्गा भेट्नासाथ नया निर्माण र पूरानो बेचबिखनको प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

झलनाथको शिलन्यास खेर गयो

हालको कार्यालयसँगैको १५ आना जग्गा ०६८ सालमा किनेर त्यहाँ अर्को भवन बनाउने तयारी एमालेले गरेको थियो । त्यसका लागि तत्कालीन अध्यक्ष झलनाथ खनालले नयाँ भवनको शिलन्याससमेत गरिसकेका थिए ।

तर, साँघुरो भएको भन्दै सो भवन निर्माण कार्य स्थगित भयो ।

एमालेको हाल कार्यालय रहेको भवन र जग्गाको चल्तीको मूल्य हिसाब गर्ने हो भने १५ देखि १८ करोडसम्ममा विक्री हुने अनुमान गरिएको छ । ‘चलेको मूल्य अनुसार विक्री गर्दा १५ करोड भन्दा बढी नै आउला’ सचिव गुरुङले भने ।

जग्गा नभेटिए अहिलेको मुख्यालय भत्काइने

एमाले बैठकमा उपयुक्त जग्गा नभेटिए अहिलेकै कार्यालय भवन भत्काएर नयाँ र अत्याधुनिक मदन-आश्रति टावर बनाउने कि भन्ने छलफल समेत भएको नेताहरु बताउँछन् ।

‘तर साँघुरो ठाउँ र भत्काएर बनाउनुपर्दा लागत पनि बढ्ने देखियो’ सचिव ज्ञवालीले भने’बरु यो ठाउँ बेचेर नयाँ बनाउँदा फाइदा हुने निष्कर्ष आयो’ ।
नयाँ ठाउँमा जग्गा लिएर आफूले चाहेजस्तो भवन बनाउँदा २०/२१ करोड रुपैयाँसम्ममा सबै तयार हुने अनुमान एमालेका वास्तुविद एवं निर्माण व्यवसायीहरुले गरेका छन् ।

पैसाले नपुगे चन्दा र लेबी

अहिलेको भवन बेचेर नयाँ ठाउँमा कार्यालय बनाउदा ५ देखि ७ करोड रुपैयाँ थप्नुपर्ने अनुमान गरिएको छ । ‘त्यति पैसा त चन्दा र लेबीबाटै उठाउन सकिन्छ’ एक एमाले नेताले भने’सरकारमा भएकै बेला गर्न सक्दा सहयोग जुटाउन सजिलो हुन्छ’ ।

चक्रपथबाट तीन किलोमिटर भन्दा टाढा नहुने गरी जग्गा खोज्न पार्टीले मान्छे परिचालित गरेको छ । अब बन्ने भवनमा पार्टीका सबै भातृ संगठनका कार्यालय पनि रहने छन् भने सवै विभागको अलग-अलग सूचना प्रविधियुक्त कोठा रहने छन् ।

डिजाइनको जिम्मा रिमालको कमिटीलाई

एमालेले नयाँ भवनको डिजाइन र जग्गा व्यवस्थापनका लागि पोलिटव्यूरो सदस्य विष्णु रिमालको संयोजकत्वमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन भरत पहारी र घरजग्गा व्यवसायी तथा सभासद इच्छाराज तामाङ रहेको समितिसमेत गठन गरेको छ ।

तर, यो समितिले महाधिवेशनपछि काम गरेको छैन । अब केन्द्रीय कमिटीको निर्णयपछि पुनः सक्रियता बढाइने एक सदस्यले बताए । भवन कम क्षेत्रफलमा धेरै तलाको बनाइनेछ ।

जग्गाको बढीभन्दा बढी उपयोगिता सौन्दर्य र वातावरणमैत्री बनाउन खर्च हुनेछ । एक सयभन्दा बढी मोटर तथा करीव ५ सय मोटरसाइकल पार्किङ गर्न मिल्ने पार्किङस्थल बनाउने तयारी समितिको छ ।

भवनभित्रै कुटनीतिक प्रतिनिधिहरुसँग बैठक गर्ने अलग्गै कोठा, भीभीआइपी र भीआइपी कक्षका साथै एक हजार मान्छे अट्ने सभाहल समेत बनाउने तयारी छ ।

केन्द्रीय कमिटीको निर्णयपछि अब नयाँ कार्यालय भवनका लागि काम युद्धस्तरमा शुरु हुने र यसका लागि अलग्गै विभागसमेत गठन हुने महासचिव ईश्वर पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment