Comments Add Comment

एमाओवादी नेता सुँगुर र माछापालनमा मस्त

ध्रुव भट्टराई

३ पुस, बिराटनगर । एमाओवादीका मोरङ जिल्ला अध्यक्ष एवं पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामीको दिनचर्या फेरिएको छ । एकाबिहानदेखि बेलुकी अबेरसम्म उनी सुँगुर र माछालाई चारो खुवाउन व्यस्त हुन थालेका छन् ।

Gopi-Achamiमोरङको क्षेत्र नं ८ का पूर्वसभासद समेत रहेका अछामी अहिले आफ्नै निर्वाचन क्षेत्रमै रहेर राजनीतिसँगै कृषि फर्ममा व्यस्त हुन थालेका हुन् । दोस्रो संविधानसभामा उनी यही क्षेत्रमा एमालेसँग चुनाव हारेका थिए ।

मोरङ जिल्लामा विगत ६ महिनादेखि कृषि फर्म सञ्चालनमा आएसँगै उनको दिनचर्यासँगै राजनीतिज्ञको पुरानो परिचय बदलिएको हो ।

सिन्धुली जन्मघर भएका अछामीसहित मोरङका एमाओवादी जिल्ला नेताहरुले संयुक्तरुपमा ६ महिनाअघि कृषि फर्म सुरु गरेका हुन् । कोशी हरैंचा नगरपालिकामा एमाओवादीका जिल्लास्तरका नेताहरुले न्यू संयुक्त कृषक फर्म खोलेका छन् ।

एक रुपैयाँ गोटा खरिद गरेर पोखरीमा हालेका माछा २ सय ५० रुपैयाँका भएछन् । बिक्रीका लागि बजार लान तयारी अवस्थामा रहेका माछा देखाउँदै नेता अछामीले अनलाइनखबरसँग भने-अब जीवन कृषि उद्यम र व्यवसायसँगै राजनीति गर्नेछु ।’

‘कृषि उद्यमको माध्यमबाट आन्तरिक जीवनमा समेत आर्थिक क्रान्तिको बाटोमा अगाडि बढेको महसुस सबै साथीले गरेका छौं’ अछामीले भने-‘यसलाई निरन्तरता दिन मेहनतका साथ लागेका छौं ।’

Sugur-palan

एमाओवादीका २२ जना स्थानीय नेता तथा कार्यकर्ताले ४० लाख रुपैयाँ लगानीमा कोशी हरैंचाको पचाममा फर्म सुरु गरेका हुन् । अछामीका अनुसार फर्ममा बंगुर, भैंसी, गाई र बँदेलपालन गरिएको छ ।

फर्मका अध्यक्ष तथा कोशी हरैंचानगरका पार्टी इञ्चार्ज नवराज चापागाईं भन्छन्- ‘माछाको बिक्री सुरु भइसक्यो, अब बंगुर पनि बजार लग्ने तर्खरमा छौं ।’

फर्मबाट अहिले दैनिक एक सय केजीसम्म मासु उत्पादन भइरहेको चापागाइँले बताए ।

मोरङमा एमाओवादीका नेताहरु राजनीतिका लागि आर्थिकरूपमा आत्मनिर्भर हुने अभियानमा सक्रिय हुने क्रम बढ्न थालेको नेताहरुले दाबी गरेका छन् ।

fish

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment