Comments Add Comment

नेपाली बजारमा आइफोन ६ प्लस र ग्यालेक्सी नोट ४ को भिडन्त : के छ फरक ?

मोबाइल बजारका सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् एप्पल र सामसुङ । एप्पलले सुरु गरेको स्क्रिन टच प्रविधिलाई पछ्याउँदै एन्ड्रोइड प्लेटर्फममार्फत् चुनौती दिइरहेको सामसुङवीच बजारमा मात्र हैन, विश्वभरका धेरै अदालतमा पनि लडाइँ जारी छ ।

ठूलो स्क्रिनका स्मार्टफोनमा अग्रणी मानिएको सामसुङलाई यतिबेला एप्पलले पछ्याउन थालेको छ । पछिल्लोपटक ५.५ इन्चको आइफोन ६ प्लस बजारमा ल्याएपछि एप्पल ठूलो स्क्रिनको भिडन्तमा ओर्लिएको छ । बजारमा माग यति धेरै छ कि उसले आइफोन ६ को उत्पादन घटाएरै भए पनि ६ प्लसको मागलाई पूर्ति गर्न कोसिस गरिरहेको छ ।

Iphone 6 vs Note 4_650

आइफोन ६ प्लसको सिधा प्रतिस्पर्धा हो सामसुङको ‘ग्यालेक्सी नोट ४’ सँग । आइफोन नेपाली बजारमा सार्वजनिक भएसँगै सुविधा, मूल्य र डिजाइनका आधारमा एउटै श्रेणीमा पर्ने यी दुई मोबाइलवीच नेपाली बजारमा पनि तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । नेपालका लागि एप्पलका वितरकले त स्पष्टै भनेका छन्- हाम्रो प्रतिस्पर्धा सामसुङको नोट ४ सँग नै हो ।’

आखिर के छ यी दुईवीच समानता र भिन्नता ?

स्क्रिन : ठूलो स्क्रिनको बजारमा अभ्यस्त बनिसकेको सामसुङलाई पछ्याउँदै एप्पलले पनि ५.५ इन्च साइजको आइफोन ६ प्लस ल्याएको छ । आइफोन ६ प्लसभन्दा ग्यालेक्सी नोट ४ को केही ठूलो अर्थात ५.७ इन्च छ ।

आइफोनले एलसीडी प्रविधि प्रयोग गरेको छ भने सामसुङले एमोलेड । भिन्नाभिन्नै प्रविधिमा आधारित भएकाले यी दुबैका आ-आफ्नै विशेषता छन् । नोट ४ मा स्क्रिन र रिजोलुसन ठूलो हुनुका साथै कलर सार्पनेस पनि राम्रो छ । जसले गर्दा गेम खेल्न र भिडियो हेर्न नोट ४ बढी सजिलो लाग्छ । आइफोन ६ प्लस आउटडोर प्रयोगका लागि राम्रो छ ।

डिजाइनः डिजाइनका सन्दर्भमा सामसुङका उत्पादन त्यति तारिफयोग्य हैनन् । तर, नोट ४ मा सामसुङले आफ्नो डिजाइनलाई पुनः परिभाषित गर्न कोसिस गरेको छ । प्लास्टिक कभरको सट्टा आल्मुनियम कभरले साँच्चै नोट ४ लाई भव्य देखाएको छ । त्यसबाहेक माइक्रो एसडी कार्ड, ब्याट्री निकाल्न सकिने सुविधाले आइफोन ६ प्लसभन्दा नोट ४ लाई भिन्न र प्रयोगकर्तालाई सहज बनाइदिएको छ ।

आइफोनको डिजाइन सधैं उत्कृष्ट हुने गर्छ, जुन ६ प्लसमा पनि निरन्तर नै छ । आल्मुनियको कर्भ डिजाइन र पहिलेभन्दा पातलो (७.१ एमएम) सेट साँच्चिकै आर्कषक छ ।

नोट ४ मा उपलब्ध एस पेन सुविधा यस्तो युनिक सेलिङ फिचर हो, जसले ठूलो साइजका अन्य धेरै फोनभन्दा नोट४ लाई विशेष बनाइदिएको छ र प्रयोगकर्ता सजिलै त्यसको आर्कषणमा पर्छन् ।

पर्फमेन्सः आइफोनले ६४ बिटको डुयल कोर प्रोसेसर प्रयोग गरेको छ भने सामसुङले ३२ बिटको क्वाडकोर प्रोसेसर । नोट ४ मा ३ जीबी र्‍यामको प्रोसेसर छ भने आइफोनमा १ जीबी ।

फोन, म्यासेज, म्यूजिक लगायतका दैनिक क्रियाकलापमा दुवै फोनको पर्फमेन्स राम्रो छ । मल्टिटास्किङ नोट ४ को लोभलाग्दो फिचर हो भने गेमका लागि आइफोन ६ प्लस राम्रो देखिन्छ ।

क्यामेराः झट्टा हेर्दा नोट ४ मा आइफोनमा भन्दा दोब्बर मेगापिक्सेल क्षमताको क्यामेरा जडित देखिए पनि तस्वीर गुणस्तरमा खासै भिन्नता देखिन्न । यी दुवै फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन फिचर प्रयोग गरिएको छ ।

नोट ४ को क्यामेरा मेगापिक्सेल धेरै देखिए पनि तस्वीर क्वालिटीमा आइफोन ६ पनि कमजोर छैन ।

ब्याट्री लाइफः नोट ४ मा आइफोनभन्दा बढी क्षमताको ब्याट्री प्रयोग भएको छ । अलि ठूलो साइजको स्क्रिन र हाइ रिजोलुसनका कारण स्वभाविकरुपमा नोट ४ लाई धेरै पावर चाहिन्छ । तर, घण्टाको हिसाब गर्दा दुबै फोनको ब्याट्री उस्तैउस्तै लाग्छन् । दुबै फोनमा क्वीक चार्जर सुविधा भए पनि नोट ४ लाई ३० मिनेटमा ४० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने आइफोन केही बढी समय लाग्छ ।

मूल्यः नेपाली बजारमा आइफोन ६ प्लसको १६ जीबी क्षमतालाई ९२ हजार ४ सय, ६४ जीबीलाई १ लाख ५ हजार र १२८ जीबी क्षमताको आइफोनको मूल्य १ लाख १८ हजार पर्छ ।

नोट ४ को मूल्य नेपाली बजारमा ८६ हजार रुपैयाँ पर्छ । यो मूल्य १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित हो ।

-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुस् 

नेपालमा आइफोनको मूल्य ८२ हजारदेखि १ लाख १८ हजारसम्म

नेपालमा आइफोनको आधिकारिक बिक्री सुरु

आइफोन-६ ‘वर्ष ग्याजेट’ बन्न सफल, यस्ता छन् याहुका टपटेन ग्याजेट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment