Comments Add Comment

प्रचण्डले खुट्टा कमाएको ‘पहिचानवादी’को आरोप

Prachanda

३ पुस, काठमाडौं । ‘पहिचान पक्षधर’ २२ दलीय गठबन्धनभित्रका केही जनजाति दलका नेताले गठबन्धनका संयोजक प्रचण्डको नियतमाथि शंका गर्न थालेको छ । जातीय पहिचानको एजेण्डामा प्रचण्डले खुट्टटा कमाउन थालेको उनीहरुको आशंका छ ।

पहिचानसहितको संघीयताका पक्षमा सशक्त आन्दोलन गर्ने भन्दै संविधानसभा भित्र र बाहिरका २२ दलले प्रचण्डको नेतृत्वमा मोर्चा बनाएका थिए । तर, पछिल्ला दिनहरुमा प्रचण्डले पहिचानको पक्षमा दह्रो अडान लिन नसकेको भन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

नेताहरुका अनुसार सार्क सम्मेलनपछि २२ दलीय मोर्चाको बैठक समेत बसेको छैन । मंसिर ५ गते बसेको २२ दलको बैठकले सार्क लगतै पहिचानको पक्षमा सशक्त आन्दोलन गर्ने निर्णय भएको थियो । तर, सार्क लगतै केही समय सहमतिको प्रयास गर्ने भन्दै आन्दोलन सुरु भएन ।

यसमा बाहृय शक्तिको दबावले काम गरेको आशंका भएको मोर्चामा आबद्ध एक दलका अध्यक्षले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कका लागि काठमाडौं आए लगतै सहमतिमा संविधान बनाउनु पर्ने बताएका थिए भने प्रचण्डलाई भेटेर माघ ८ मै संविधान जारी हुनु पर्ने बताएका थिए ।

प्रचण्डले पछिल्लो समय पहिचान विरोधीहरुसँग उठबस बढाएको उनीहरुको अर्को आरोप छ । माओवादीकै केही नेताहरुले समेत प्रचण्डलाई पहिचानको पक्षमा नलाग्न दबाव दिएको उनीहरु बताउँछन् ।

‘उहाँले दिनु भएको अभिव्यक्तिहरुले पनि हामीलाई शसंकीत बनाएको छ’ मोर्चाका एक नेताले भनेका छन् । मोर्चामा असन्तुष्टि बढेको परोक्ष रुपमा स्वीकार गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले भने-‘सार्क शिखर सम्मेलनअघि र पछिको प्रचण्डमा फरक देखिएको छ ।’

जातीय स्वर सानो !

पहिचानसहितको संघीयताका लागि भन्दै जनजातिहरुले पद्मरत्न तुलाधरको नेतृत्वमा मोर्चा बनाए । तर, जनजाति महासंघ नै आन्दोलनमा सहभागी नहुने भएपछि यो मोर्चा निकै कमजोर देखिएको छ ।

प्रचण्ड मोर्चामा आवद्ध मधेसवादी दलहरुले छुट्टै मोर्चा बनाउनु र कांग्रेस-एमालेले लगातार सत्ताको प्रस्ताव गर्नुले पनि प्रचण्ड दबावमा परेका छन् ।

‘जनजाति आन्दोलन सोचे अनुसार उठेन । बरु मधेसीहरुले पनि साथ छोड्ने हो कि भन्ने अवस्था आएपछि प्रचण्डमाथि झन दबाव परेको छ’ एक नेताले भने ।

मोर्चा छाड्ने चेतावनी 

प्रचण्डले पहिचानको मुद्धालाई दह्रोसँग बोक्न नसक्ने हो भने २२ दलीय मोर्चाबाट बाहिरिनु पर्ने आवाज मोर्चामा आवद्ध दलहरुमा उठ्न थालेको छ ।

पहिचानमा आधारित गठवन्धनको सचिवालय बैठकमा नेताहरुले प्रचण्डसँग प्रष्ट कुरा गर्न माग गरेका छन् । ‘हामी आन्तरिक छलफलमा छौं । तर, पहिचानको मुद्धा छाड्दै जाने हो भने हामी अलगिनुपर्छ भन्ने आवाज हाम्रो मोर्चामा उठ्न थालेको छ’ एक नेताले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment