Comments Add Comment

अर्गानिक उत्पादनमा जोड दिन बंगलादेशी राजदूतको सुझाव

Chembar-Of-Commerce
३ पुस, काठमाडाैं । नेपालका लागि बंगलादेशकी राजदूत मासफी विन्टे शाम्सले बंगलादेश सरकारले उपलव्ध गराउँदै आएको सहयोगलाई थप प्रभावकारी बनाउने बताएकी छिन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा राजदूत शाम्सले सो कुरा बताएकी हुन् ।

छलफलका अवसरमा शाम्सले बंगलादेशले नेपाललाई उपलव्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको चर्चा गर्दै बंगलादेश लगायत अन्य मूलुकहरुमा अर्गानिक उत्पादनको माग रहेकोले अर्गानिक उत्पादनमा जोड दिन आग्रह गरिन् ।

नेपालमा लगानीको वातावरण बन्दै गएकोले बंगलादेशका लगानीकर्ताहरु ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा लगानी गर्न इच्छुक रहेको शाम्सको भनाई थियो ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले पछिल्लो समयमा नेपाल शिक्षा तथा स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास हुँदै आएको बताउँदै बंगलादेशले कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आफ्नो पुँजी सीप र अनुभवलाई नेपालमा उपयोग गर्न आग्रह गरे ।

नेपालमा जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योगलगायत सेवा क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउँदै अध्यक्ष श्रेष्ठले बंगलादेशका लगानीकर्ताहरुले यसबाट प्रशस्त फाईदा लिनसक्ने बताए ।

नेपालले सन् २०२२ सम्म विकासशील राष्ट्रमा रुपान्तरण हुने लक्ष्य लिएकोले ठूलो लगानी र प्रविधिको आवश्यकता रहेको श्रेष्ठले राजदूत शाम्सलाई बताए । चेम्वरले विदेशी लगानीकर्ताहरुलाई उद्योग स्थापना तथा कर लगायतका आवश्यक सूचनाहरु उपलव्ध गराई सहयोग गर्न तयार रहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले बंगलादेशसँगको व्यापार घाटा कम गर्न नेपाली निर्यात योग्य बस्तुहरुलाई विभिन्न सुविधा उपलव्ध गराउन आवश्यक पहल गर्न समेत आग्रह गरे ।

छलफलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, सचिव देवेन्द्र भक्त श्रेष्ठ, सहकोषाध्यक्ष राजारत्न तुलाधर एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment