Comments Add Comment

महिला भलिबलमा नेपालले माल्दिभ्सको सामना गर्ने

३ पुस, काठमाडौं । प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार माल्दिभ्सको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा नेपालले माल्दिभ्सको सामना गर्दै उद्घाटन गर्नेछ ।

नेपालले आठ वर्षपछि पहिलो पटक दक्षिण एसियालीस्तरको प्रतियोगिता खेल्न लागेको हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा सम्पन्न दशौं साग खेलकुदमा नेपाली महिला टोलीले सहभागिता जनाएको थियो भने त्यसअघि सन् १९९९ मा काठमाडौँमा भएको आठौँ सागमा भाग लिएको थियो । दुवै प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो ।

राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक सुदेशकुमार रिमालले भारत र श्रीलङ्का नेपालका प्रमुख प्रतिद्वन्द्वी रहेको बताए । उनले नेपाली टोली शारीरिक र मानसिक रुपमा बलियो भएकाले प्रतियोगितामा रजत पदक जित्ने विश्वास व्यक्त गरेका छन् ।

कप्तान विनिता बुढाथोकीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल चरणमा पुग्ने बताइन् । नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिने सो प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक हजार र ५०० डलर प्राप्त गर्नेछन् । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment