४ पुस, काठमाडौं । नेपालका नेताहरु आफ्नो ‘हेयर स्टायल’प्रति कतिको सचेत होलान् ? काठमाडौंका चर्चित हेयर ड्रेसर लक्ष्मी ठाकुरको नजरमा एमाओवादी अध्यक्ष प्रचण्ड ‘हेयर स्टाईल’ मा सबैभन्दा सचेत नेता हुन् ।
प्रचण्डको अनुहारमा ‘हेयर स्टायल’ सुहाएको बताउने ठाकुर ‘हेयर स्टायल’मा सबैभन्दा झूर नेताका रुपमा अर्थमन्त्री डा. रामशरण महतलाई लिन्छन् ।
कपालमै व्यक्तित्व लुकेको हुन्छ भन्ने ठाकुरलाई अर्थमन्त्री महतको कपाल र दाह्री सबैभन्दा अव्यवस्थित लाग्छ । ठाकुरको बुझाइमा कपाल र दाह्रीले डा. महतलाई फोहोरी देखाएको छ ।
तर, प्रचण्डलाई पनि सधैं एउटै किसिमको ‘हेयर स्टायल’ नबनाउन ठाकुरको सुझाव छ । उनी भन्छन्- ‘प्रचण्डले पनि अब आफ्नो ‘स्टायल’ परिवर्तन गर्नुपर्छ ।’
राजेश हमालको कपाल देखेर दर्शक वाक्क
अभिनेता राजेश हमालको लामो कपालले दर्शकसमेत वाक्क हुने बेला भएजस्तो लागेको छ ठाकुरलाई । उनी भन्छन् ‘अहिले पनि तत्काल कसैले राजेश हमालको स्केच बनायो भने कपालचाहीँ लामै बनाउँछ ।’
लामो कपाल हमाललाई ठिकै देखिए पनि चलेको हिरोले सधैं एउटै गेटअपमा देखिन नहुने ठाकुरको भनाइ छ । उनको भनाइअनुसार दर्शकको चाहना अनुरुप हिरोले आफ्नो गेटअप परिवर्तन गर्नुपर्छ । उनले भने- ‘राजेश हमालले ‘गेटअप’ परिवर्तन गर्न ढिला भैसक्यो ।’
नायक हमालले ‘हेयर स्टायल’ परिवर्तन गर्न चाहेमा आफूले उनको ‘लुक्स’ परिवर्तन गरिदिने उनले अनलाइनखबरसँग बताए ।
हिरोइनको कपाल लामो हुँदैमा राम्रो हुँदैन
नायिका रेखा थापा, केकी अधिकारी लगायतका हिरोइनहरु कपालको मामिलामा सचेत भएजस्तो लाग्छ ठाकुरलाई । तर, जसरी कपालको स्याहार गर्नुपर्ने हो, त्योअनुरुप नभएको ठाकुर बताउँछन् ।
नेपाली समाजमा महिलाको कालो र लामो कपाललाई राम्रो मान्ने चलन छ । तर, कालो र लामो भएकै आधारमा राम्रोको दर्जा दिनहुन्न भन्ने ठाकुर सेलीब्रेटीहरुले समयअनुसार ‘हेयर स्टाइल’ परिवर्तन गर्नुपर्ने बताउँछन् ।
बलिउड कलाकारहरु ‘हेयर स्टाइल’ को मामलामा निकै संवेदनशील हुने गरेको अनुभव गरेका ठाकुरले नेपालीहरु तुलनात्मकरुपमा कमजोर भएको अनुभव गरेका छन् ।
ग्राहकको खुसी पहिलो सन्तुष्टि
कुनै पनि ग्राहकको कपाल मिलाउनुअघि लक्ष्मी आफ्ना ग्राहकको अनुहार हेर्छन् । त्यसपछि तिनको लाइफस्टाइलमा ध्यान दिन्छन् । अनुहार अनुसारको कपाल भए मात्रै व्यक्तित्व झल्किन्छ भन्ने ठाकुर ग्राहकको सन्तुष्टिलाई जहिले पहिलो प्राथमिकतामा राख्छन् ।
कर्पोरेट क्षेत्रमा प्रायः एकैप्रकारको हेयर स्टाइल भएको अनुभव गरेका छन् ठाकुरले । उनको भनाइअनुसार अब कर्पोरेट क्षेत्रका व्यक्तिहरु पनि स्टाइलिस हुनुपर्छ ।
नेपालीहरु चुजी भएकोमा खुशी
कपालले नै मान्छेको व्यक्तित्व निधारण गर्छ भन्ने ठाकुर पछिल्लो समय नेपालीहरु ‘चुजी’ हुँदै गएकोमा खुुसी छन् । उनी भन्छन्-‘कपालले व्यक्तित्व विकासमा सहयोग पुर्याउने भएकाले कपालका विषयमा सचेत हुनुपर्छ, पछिल्लो समय धेरै नेपालीहरु सचेत हुन थालेका छन् ।’
कपाल काटेरै पक्की घर र चिल्लो कार
नेपालमा केही गर्न सकिँदैन र राजनीतिक अस्थिरताले केही गर्न सकिएन भन्दै विदेश जानेहरु धेरै छन् । तर, करिअर खोज्न भन्दै विदेश जाने तयारीमा रहेका तन्नेरीहरुले एकपटक लक्ष्मी हेयर एण्ड ब्युटी स्टोरका लक्ष्मी ठाकुरलाई भेटे पुग्छ ।
ठाकुरको जीवन पढेर जोसुकैले अलिकति भए पनि उद्यमी हुने पाठ सिक्न सक्छन् । र, यही देशमा केही गर्ने भावना जाग्न सक्छ ।
ठाकुर एक सामान्य नागरिक हुन् । जसको काम हो कपाल काट्नु । तर, कपाल काटेकै कमाइले उनले काठमाडौमा तीनतले घर ठड्याएका छन् । उनी चिल्लो कार चढेर हिँड्छन् ।
चौध वर्ष अगाडि काठमाडौ छिरेका ठाकुरले ठमेेल, चण्डोल र महाराजगञ्ज हुँदै अहिले कोटेश्वरमा सुविधासम्पन्न हेयर कटिङ एण्ड ब्युटी स्टुडियो सञ्चालन गरेका छन् ।
काठमाडौंका सैलुन कस्ता ?
काठमाडौमा धेरै सैलुन खुले पनि कतिपयले राम्रो सेवा दिए जस्तो लाग्दैन उनलाई । सैलुन सञ्चालकले सफा लुगा लगाएर बस्नुको साथै सैलुनलाई पनि सफा बनाउनुपर्ने उनको भनाइ छ ।
‘कतिपय सैलुन सञ्चालक मैलो लुगा लगाएर बस्ने गरेका छन् । त्यसरी बस्न हुँदैन’ ठाकुरले अनलाइनखबरसँग भने ।
काठमाडौमा धेरै ब्युटीपार्लर खुले पनि ती पार्लरहरु व्यवसायिक बन्न नसकेको अनुुभव गरेका छन् उनले ।
उनको बुझाइमा काठमाडौंका कतिपय मान्छेहरु कपालकै लागि राम्रो पैसा खर्चिन तयार छन् । तर, ठाउँ भेटिरहेका छैनन् । मान्छेहरुले पैसा खर्च गरेर पनि राम्रो सुविधा नपाएकोमा दुखी भएका ठाकुर आफु हरेकलाई सेवा गर्न तयार रहेको बताउँछन् ।
सीप सिकियो, पढाइ पूरा भएन
एसएलसी सकेर कलेज पढ्नका लागि मुम्बई गएका थिए ठाकुर । कलेज पढ्दै गर्दा केही काम गर्ने सोच आयो । ‘जीवन निर्वाहका लागि केही नयाँ काम सिकौं भन्ने थियो’ केही सिकिराख्दा काम लाग्छ भन्ने सोचेको थिएँ,’ उनले विगत सम्भिmए ।
पहिला कपालसम्बन्धी प्रशिक्षण लिएका उनले ब्युटीसम्बन्धी पनि थुप्रै प्रशिक्षण लिएका छन् । हेयर एण्ड ब्युटी दुबैमा पोख्त ठाकुरले कामकै कारण पढाइ पूरा गर्न पाएनन् ।
कलेज पढ्दा पढ्दै मुम्बईमा काम सिके उनले । उनी हाँस्दै भन्छन् ‘काम सिकेपछि धेरै काम आउन थाल्यो । कामचाहिँ पूरा भयो तर, पढाइ अपुरै रह्यो ।’