Comments Add Comment

पचास मिनेट कुरेपछि बामदेव आए, हँसाएर गए

४ पुस, काठमाडौं । संसदको राज्य व्यवस्था समितिका सदस्यहरुलाई झण्डै ५० मिनेट कुराएर आएका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम हँसाएर गएका छन् ।

फाइल फोटो
फाइल फोटो

समितिको बैठक विहान साढे ८ बजे बोलाइएको थियो । तर, गृहमन्त्री गौतम साढे ९ बजे आइपुगे । आफू अर्को बैठकमा व्यस्त रहेको भन्दै उनले आफ्नो सम्बोधन सुरु गरे । सडक दुर्घटना न्यूनिकरणबारे आफ्नो धारणा राख्ने क्रममा गौतमले समितिमा पटक पटक हँसाए ।

राजमार्ग आसपासमा मदिरा बेच्न दिन नहुने भन्दै उनले भने-‘अहिले ५० अर्ब राजश्व मदिराबाट उठ्छ । हामीले कति खाँदा रहेछौं त ? हाम्रो बौद्धिक र शारिरीक अवस्था कस्तो होला ?’

गौतमले यस्तो भन्दा समितिका सदस्यहरु हाँसेका थिए । गौतमले रक्सी खाएर राजमार्ग आसपासमा हिँड्नेलाई समेत समात्नु पर्ने बताएपछि बैठकमा फेरि हाँसोको फोहोरा छुट्यो ।

सडक सुरक्षाका लागि कडा कानून चाहिने भन्दै उनले भने-‘यसका लागि पैसा चाहिँदैन, कानून चाहिन्छ । माननीयहरुले विधेयक पास गरिदिनुस् ।’

गृहमन्त्री गौतमले जनजातिले रक्सी जातले पाएको हो भनेर भन्छन् भने कुनै छुट्टै व्यवस्था गरौला भनेपछि केही सभासदले ‘आजभोलि जनजातिले मात्र खाँदैनन्, सबैले खान्छन्’ भन्ने जवाफ दिएका थिए ।

गृहमन्त्रीले अब मलाई विदा दिनुस् भन्दै आफ्नो भनाइ टुंग्याएर उठ्न खोजे । लगत्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘हो गया छुट्टी …’ भन्दै टिप्पणी गरेपछि बैठकमा फेरि हाँसो छुट्यो ।

गौतम उठेर जाँदै गर्दा एमाओवादी सभासद गिरिराजमणि पोखरेलले भने-‘हामीले ५० मिनेट पर्खियौं यो चिसोमा । आएर कुरा राखेर जानुभयो, अनि किन बैठक गर्ने ?’

उनले गृहमन्त्रीको शैली राजतन्त्रकालीनभन्दा चर्को भएको बताएका छन् ।

कांग्रेस सभासद अमरेशकुमार सिंहले गृहमन्त्री नभएको अवस्थामा बैठक राख्नुको औचित्य नभएको बताए ।

बैठकमा गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र ट्राफिक महाशाखाका अधिकारीहरु उपस्थित थिए । गृहमन्त्री बैठकबाट बाहिरिएपछि छलफल विषयबस्तुमा केन्द्रीत हुन सकेन र सभासदहरु बोल्दै लाखापाखा लागे ।

साढे १० बजेपछि बैठकमा ९/१० जना मात्र सभासद बाँकी रहे । सभापति घर्तीले बैठक स्थगित भएको बताएपछि गृहमन्त्री र प्रहरी प्रमुख अलमल्ल परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment