Comments Add Comment

मार्चमा नेपाल आउलान् चिनियाँ राष्ट्रपति ?

XiJinping

४ पुस, काठमाडौं । विश्वको पहिलो आर्थिक महाशक्ति बनिसकेको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङलाई सन् २०१५ को शुरुमै नेपाल भ्रमण गराउन सरकारले कुटनीतिक पहल थालेको छ ।

गत साता मात्रै नेपालको भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागका उपमन्त्री चेन फिनजियाङलाई प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरुले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण योजनाबारे चासो राखेका थिए ।

१० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका चेनले राष्ट्रपति सी नेपाल भ्रमण गर्न इच्छुक रहेको कुटनीतिक संकेत नेपाली नेताहरु समक्ष गरेका छन् ।

चेनसँग द्धिपक्षीय वार्ता गरेका पूर्व परराष्ट्रमन्त्री एबम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो आफूले पनि दिएको बताए ।

ओलीले अनलाइनखबरसँग भने-‘कम्युनिस्ट पार्टीका नेता फर्किए लगत्तै चिनियाँ विदेशमन्त्री आउँदैछन्, यसले भ्रमणको वातावरण बनाउनेछ । मैले पनि राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन निम्तो दिएको छु ।’

परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पूरा गरेर थाइल्याण्डको राजदूतमा नियुक्त भइसकेका सहसचिव खगनाथ अधिकारीले पनि चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि नेपालले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको बताए ।

बिगत १८ वर्षदेखि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन् । सन् १९९६ मा तत्कालिन राष्ट्रपति जियाङ जेमिन तत्कालिन राजा वीरन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सन् २०१५ को मार्चसम्ममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सक्नेछ । पुस ९ देखि हुन लागेको विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणले त्यसको वातावरण बनाउने एमाले अध्यक्ष ओलीले बताए ।

नेताको लविङ

एमाओवादी अध्यक्ष प्रचण्डले पनि चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलसँग राष्ट्रपतिको भ्रमणका लागि आग्रह गरेको स्रोतले जनाएको छ ।

यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला तत्कालिन चीनिया प्रधानमन्त्री बेन जियाबाओ नेपालको एक दिने भ्रमणका लागि सन् २०१२ मा काठमाडौं आएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका शक्तिशाली महासचिव समेत रहेका राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउन सके नेपालमा चिनियाँ सहयोग र लगानी भित्र्याउन सकिने बिश्वासमा छ सरकार ।

चीनले पछिल्लो पटक सशस्त्र प्रहरीको बलम्बुमा बन्न लागेको प्रहरी प्रतिष्ठानलाई सहयोग गरेको छ । विदेशमन्त्रीकै भ्रमणका बेला यसपटक सो प्रतिष्ठानको शिलान्यास हुँदैछ ।

चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगरे पनि पछिल्ला वर्षहरुमा चिनियाँ चासो भने नेपालमा निकै बढेको छ । चीनका बिभिन्न प्रतिनिमण्डलहरुले नेपालको भ्रमण बढाइरहेका छन् ।

यसपटक विदेशमन्त्रीको भ्रमण राष्ट्रपतिको भ्रमणलाई वातावरण बनाउनका लागि हुन लागेको चीनिया दूतावासका एक अधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment