Comments Add Comment

गीतकार क्षेत्रीलाई दिल्ली लगियो, उपचारका लागि साढे ७ लाख सहयोग

suryakumar-chetri
गीतकार एवं पत्रकार सूर्यकुमार क्षेत्रीलाई थप उपचारका लागि दिल्ली लगिएको छ । मंसिरका अन्तिम साता उनको ब्रेन ट्यूमरको अप्रेशन भएको थियो । चिकित्सकहरुको सल्लाहा बमोजिम उनलाई दिल्ली लगिएको हो ।

भारतको नयाँ दिल्लीस्थित वीएल कपुर अस्पतालमा उनको उपचार हुनेछ । चिकित्सकले ४२ दिनसम्म थेरापी गर्न सिफारिश गरेका छन् । ‘औठी चिनो छ’, ‘बादलुले चन्द्र छेकेको’,’पानी पधेँरो’,’धोका दिनेलाई के भनुँ र खोइ’ लगायतका दर्जनौ गीतका संकलक क्षेत्रीको उपचारका लागि सरकार र विभिन्न संस्थाहरुले सहयोग गरेका छन् । उनको उपचारका लागि खर्च धेरे लाग्ने भएपछि विभिन्न क्षेत्रबाट सहयोग भैरहेको छ ।

बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले उनको उपचारका लागि ५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बिहिबार नै उनको परिवारलाई भेटेर विभिन्न गीतसंगीत सम्बन्धी संस्थाका प्रतिनिधीले रकम हस्तान्तरण गरेका छन् ।

संगीत उत्पादक समाज र संगीत उद्योग संघले संयुक्त रुपमा २ लाख ६० हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तथा कलाकार कल्याणकारी कोष समितीबाट १ लाख ६८ हजार सहयोग उपलब्ध भएको छ ।

संगीतकार संघ नेपालले ४० हजार ४ सय, विन्ध्यवासिनी फाउन्डेसनले २५ हजार, प्रस्तोता समाजले ११ हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघले १ लाख, प्रेस यूनियनले ५० हजार, अन्नपुर्ण पोष्टका पत्रकारबाट २५ हजार, नयाँ पत्रिकाका पत्रकारबाट २८ हजार ५ सय, राससका पत्रकारबाट १५ हजार ५ सय, शिक्षा पत्रकार समुहबाट १० हजार, शिक्षा संजालबाट १२ हजार सहयोग प्राप्त भएको परिवारले जनाएको छ । सानो रकमले उपचार संभव नभएकाले पनि देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment