Comments Add Comment

चलचित्र निर्माणमा नायिकाहरुको प्रतिस्पर्धा

rekha-namrata-gharana
आफ्नै चलचित्र कम्पनी लामो समयसम्म सुरक्षित रहने बाटो हो । अरुले पत्याएनन् भनेपनि आफै चलचित्र निर्माण गरेर अगाडि बढ्न सकिन्छ । यसैले पनि होला, नायिकाहरुको अवधी एक दशक मात्र हुन्छ भन्ने चर्चा चलचित्र बजारमा चलिरहदा धेरै चर्चित अनुहार आफ्नै कम्पनी खोल्नमा व्यस्त छन् ।
चलचित्र कम्पनी खोलेर सबै सफल भएका छन् भन्ने पनि होइन । तर, सफलता र असफलताको मुल्यांकनलाई एउटा पाटोमा राख्ने हो भने चलेका अनुहारविच चलचित्र निर्माणको अग्रसरतामा प्रतिस्पर्धा छ ।

हालै मात्र नायिका नम्रता श्रेष्ठले आफ्नै चलचित्र कम्पनी खोलिन् । नम्रताले अरुको चलचित्रमा काम गर्दा पनि विभिन्न देशको प्रदर्शन अधिकार माग्ने गरेकी थिइन् । सायद, यसबाट सन्तुष्ट नभएर नम्रता आफ्नो कम्पनी खोल्न अग्रसर भएको हुनसक्छ ।

नम्रताले नयाँ कम्पनी खोल्दै गर्दा भनेकी छिन्-‘अरुको चलचित्रमा काम गर्दा आफूले भनेजस्तो हुँदैन, खोजेको भूमिका पाइदैन ।’ यसको अर्थ नायिकाहरुका लागि आफूले खोजेको भूमिका गर्न आफ्नै कम्पनी खोल्नु जरुरी देखिन्छ । नम्रताले निर्माण गरेको चलचित्र प्रदर्शनमा आइनसकेकाले पनि उनी कती सफल हुन्छिन्, भन्न सकिदैन । तर, ब्यानर बनाउने सूचीमा उनको नाम पनि अगाडि आएको छ ।

चलचित्र निर्माणमा नायिका रेखा थापा अगाडि छिन् । उनको रेखा फिल्मस्ले बनाएका अधिकांश चलचित्र सफल छन् । रेखाले यतिबेला बाहिरी ब्यानरमा काम खासै गरेकी छैनन् । तर, आफ्नै ब्यानरमा बर्षमा एउटा चलचित्र बनाएर उनी यो क्षेत्रमा दबदबा कायम गरिरहेकी छिन् ।
निर्माता छविराज ओझासँग मिलेर बनाएका ‘हिम्मत’देखि ‘हमेशा’सम्म, रेखा फिल्मसका सबै चलचित्र सफल छन् ।

रेखाले अहिले एक्लै बनाइरहेका ‘काली’, ‘हिम्मतवाली’ पनि बक्स अफिसमा सफल छन् । रेखाको यो ब्यानर र उनको करिअर कसरी अगाडि बढ्ला समयले नै बताउनेछ ।
नायिका झरना थापाको ‘एसके थापा प्रोडक्शन’ पनि चलचित्र निर्माणमा अग्रसर छ । नायिका थापाले आफै निर्माता तथा निर्देशक बनेर चलचित्र ‘ए मेरो हजुर २’ बनाउने घोषणा गरिसकेकी छिन् । उनको आफ्नै ब्यानरले पनि उनलाई यो क्षेत्रमा दबदबा कायम गर्न निरन्तरता दिइरहेको छ । उनलाई पति सुनिलकुमार थापाले साथ दिइरहेका छन् ।

नायकहरुको दबदबा लामो समयसम्म रहेतापनि नायिकाहरुको दबदबा केही समयमा नै सकिने विश्लेषण चलचित्र बजारमा गरिन्छ र यो धेरै हदसम्म सही पनि छ । यसैले, पनि आफ्नै ब्यानर हुने नायिकाहरुलाई यो क्षेत्रमा अगाडि बढ्न र लामो समयसम्म रहन सजिलो देखिन्छ ।

नायिका करिश्मा मानन्धर पनि लामो समयपछि चलचित्र निर्माणमा अगाडि आएकी छिन् । नायिकाको रुपमा पर्दामा उनले खासै करिश्मा अमेरिकाबाट फर्किएपछि गर्न सकेकी छैनन् । तर, अब नयाँ चलचित्र निर्माण गरेर करिश्मा फेरि केही समय यो क्षेत्रमा चर्चामा रहने पक्का छ ।

नायिका ऋचा घिमिरेले पनि आफ्नै ब्यानरमा चलचित्र निर्माण गरिन् र आफै खेलिन् । अरु निर्माताले नपत्याएपनि उनको करिअर रोकिएको थिएन । तर, ‘तुलसी’ नामक चलचित्र निर्माण भएपछि ऋचा दम्पत्ती अमेरिका हानिएको, फर्किएका छैनन् । तर, पनि आफ्नै ब्यानर भएकाले ऋचालाई कुनै पनि समय चलचित्र निर्माण गर्न कसैले रोक्ने छैन ।

नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर ब्यानर बनाइन् र चलचित्र ‘बरदान’ निर्माण गरिन् । तर, चलचित्र प्रदर्शनमा आउँदासम्म यो  जोडीको झगडा यसरी पर्‍यो कि, अब उनीहरु मिल्ने अवस्थामा छैनन् । अब, रेजिनाले रेजिना फिल्मस्लाई अगाडि बढाउछिन् या बढाउदिनन्, समयले नै बताउँनेछ । तर, चलचित्र निर्माणको सुरुवातमा उनी असफल भइन् ।

नायिकारुले ब्यानर दर्ता गरेर आफै चलचित्र निर्माण गर्ने क्रम रोकिने देखिदैन । अब, अन्य चल्तीका अनुहार पनि चलचित्र निर्माणमा अगाडि आउने संभावना झनै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment